भक्तपुरमा दलको दादागिरी : चुपचाप सहनुपर्ने जनताको मजबुरी !

भक्तपुरमा दलको दादागिरी : चुपचाप सहनुपर्ने जनताको मजबुरी !


जनताले तिरेको करबाट अर्बौं रुपैयाँ खर्चेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा सूर्यविनायक नगरपालिकाको भव्य प्रशासनिक भवन निर्माण गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते नगरपालिकाको भवनको उद्घाटन गरे । नगरपालिका पुरानो भवनबाट नयाँ भवनमा सरेको छ ।

दुईटा सडकबाट नगरपालिका पुग्न सकिन्छ । सिर्जनानगर र सल्लाघारी । जनप्रतिनिधि र कर्मचारी यही बाटो हुँदै कार्यालय आउँछन् । प्रधानमन्त्री ओली भवन उद्घाटन गर्न आउने अघिल्लो दिन ठूलो खर्च गरेर सिर्जनानगर र सल्लाघारी चोकमा गेट बनाइएको थियो । गेटमा प्रधानमन्त्री ओली र मेयर वासुदेव थापाको तस्बिर थियो ।

सडक पनि चकाचक बनाइएको थियो । नत्र अन्य बेला त यो सडकमा हिँड्नै सकिन्न । जताततै फोहोर फालिएको हुन्छ । सडकभर पसल थापिएको हुन्छ । सर्वसाधारणलाई हिँड्न पनि सास्ती छ । रोचक कुरा के भने, जनप्रतिनिधि र कर्मचारी दिनहुँ ओहोरदोहोर गर्ने सडकका पसल दर्ता छैनन् । एकाधले गरेका छन्, अधिकांश यत्तिकै चलेका छन् । विभागको अगाडिबाट नगरपालिकाका कर्मचारीले दही, दूध किनेर लैजान्छन् । नगरपालिका भवनकै सामुन्ने रहेका पसलहरुको दर्ता नहुनु रोचक र विडम्बनापूर्ण पनि छ । सडक विभाग, भक्तपुरको कार्यालय अगाडि पनि थुप्रै पसल छन् । तर, ती पसलको दर्ता छैन ।

दर्ताबिना आँखैअघिल्तिर चलिरहेका पसलको अनुगमन गर्ने जाँगर सम्बन्धित कर्मचारीमा पटक्कै देखिँदैन, आश्चर्यपूर्ण छ । नगरपालिकाका कर्मचारी घाम तापेरै दिन कटाउँछन् । नगर प्रहरीहरुलाई यता र उता हल्लिँदै ठिक्क छ । जनप्रतिनिधि कहाँनेर सरकारी जग्गा छ ? कसको कार्यक्रममा अतिथि बन्न पाइन्छ ? भन्नेमै केन्द्रित छन् ।

पुरानो नगरपालिका बसेको घर छेउछाउ ठूल्ठूला महल बनेका छन् । त्यो जमिन जम्मै सरकारी जग्गा भएको स्थानीय बुढापाका बताउँछन् । स्थानीयले त्यसो भनिरहँदा नगरपालिका कानमा तेल हालेर बसेको छ । स्थानीयले भनेको वास्तै गर्दैन । हुन त त्यहाँ जागिर खाएका अधिकांश नगरप्रहरी सत्तासीन एमाले दलको कृपाले भर्ती भएका हुन् । बालकोटकी एक महिला नगरप्रहरी भन्थिन्, ‘मलाई बाले जागिर लाइदिनुभएको !’ पहुँच र पावरबाट आएपछि ‘जागिर’ खाने हो… काम त गर्नु पर्दैन !

केही दिनअघि सिर्जनानगरतर्फ आउने सडकमा भएको फलफूल पसलबाट फलफूल आफ्नो स्कुटरमा हाल्दै गरेकी उनले सडकमा हिँड्ने सबैले सुन्नेगरी भनिन्, ‘५ बजेपछि मात्र चोकमा सामान लिएर जाओ है ! त्योभन्दा अगाडि गएर राख्दा सामान खोस्यो भने म जिम्मेवार हुँदिनँ ।’

नगरप्रहरीहरु पार्टीविशेषप्रति आस्था राख्छन् । मेयर र उपमेयर दुवै एमालेकै भइहाले । कर्मचारी पनि एमालेका ‘कार्यकर्ता’ हुन् । अहिले देशको प्रधानमन्त्री र अर्थमन्त्री एमालेकै छन् । उनीहरु जतिबेला पनि राजश्व नउठेको गुनासो गरिरहेका हुन्छन् । तर, स्थानीय पालिकाका जनप्रतिनिधिहरुलाई राजश्व उठाउन चासो छैन । बिना दर्ता पसल सञ्चालन गर्न दिएका छन् । अनि कसरी राजश्व उठ्छ ? आफ्नो पार्टीको भएर प्रधानमन्त्री ओलीले मनलाग्दी गर्न छुट दिएका हुन कि ? नत्र त सूर्यविनायक नगरपालिका जतिको ‘निकम्मा’ जनप्रतिनिधि सायदै कुनै स्थानीय तहमा होलान् ।

आफ्नै पार्टीको जनप्रतिनिधि भएकाले प्रधानमन्त्री ओली पनि उद्घाटन गर्न आइहाले । मेयर र उपमेयर मात्र होइन, वडाध्यक्षहरु पनि त्यस्तै छन् । ५ नम्बर वडाका वडाध्यक्ष राजकुमार जोशीले सुशील भैरवथानको जग्गा मिचेर मन्दिरभन्दा ठूलो घर ठड्याएका छन् । मेयर र वडाध्यक्ष दुवै जग्गा दलाली धन्दामा छन् भन्ने स्थानीयको भनाइ छ । यिनीहरुलाई सरकारी जग्गा कहाँ छ ? कसरी दर्ता गर्नुपर्छ ? सबै थाहा छ । तर, यसमा जनताकै गल्ती छ । को –कस्तो छ भन्ने विचार नगरी निर्वाचित गरेर कुर्सीमा पुऱ्याइदिएका त जनताले नै हो ।

अहिलेको परिवेशमा गुण्डा, भूमाफिया, दलाल, भ्रष्टाचारीले मात्र राजनीति गर्न सक्छ । भक्तपुर देशभरको सबैभन्दा सानो जिल्ला हो । सानो भएपनि यहाँ सरकारी, गुठीको जग्गा टन्नै थिए । दुर्भाग्यबश, राजनीतिक दल भनाउँदाहरुले जम्मै दर्ता गरेर खाइहाले । एमाले, कांग्रेस, मजदूर किसान पार्टीलगायतले मिलेर सरकारी जग्गा, गुठी, मठमन्दिरको जग्गा मिलेमतोमा सखाप पारे । खेतीयोग्य जमिन पनि प्लानिङ गरेर, खण्डीकरण गरेर सिध्याए । जसका कारण यहाँका पुर्खाहरु जम्मै विस्थापित भए । अहिले बसोबास गरिरहेका प्रायः बाहिरी जिल्लाका हुन् ।

जग्गा किने, घर बनाए । यहाँका मान्छेले जग्गा बेचे, हिँडे । यहाँका पूर्वसांसद महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भक्तपुरको विकास हेर्न आउन आह्वान गरेका थिए । तर, उनले त्यहाँ उल्टो बोले । विकास होइन, सरकारी सम्पत्तिको सत्यानाश हेर्नचाहिँ आऊ भन्नुपर्ने थियो ।

नलिञ्चोकको बाँसघारीमा सयौं रोपनी खेतीयोग्य जमिन प्लानिङ गरेर टुक्राटुक्रा बनाएर राखिएको छ । त्यहाँको जग्गा प्लानिङमा बस्नेत र मेयर थापाको लगानी रहेको सर्वसाधारण बताउँछन् । मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल सदनमा जनताको कुरा उठाएको ढोंग रच्छन् । गज्जबको कुरा के भने, भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा सरकारी, गुठीको जग्गा दर्ता गर्ने नेमकिपाको कार्यकर्ता हुन् । हाल उनी तीनकुनेको जग्गा ताकेर बसेका छन् । त्यहाँ ख्वप कलेज बनाउनुपर्ने उनको माग छ । तीनकुनेको अधिकांश सरकारी जग्गा व्यक्तिको नाममा गइसकेको छ । अब केही बाँकी भएकोमा पनि सांसदहरुलाई आपत्ति छ । कसरी सिध्याउँ भनेर लागिपरेका छन् ।

यसरी राज्यलाई राजश्व छल्ने, खेतीयोग्य जमिन मास्ने, सरकारी सम्पत्ति व्यक्तिको नाममा दर्ता गर्नेहरु जनप्रतिनिधि भएर बसेका छन् । काभ्रे र सूर्यविनायकको सिमामा महादेवको ठूलो मूर्ति छ । नगरपालिकाले त्यहाँ झोलुङ्गे पुल बनायो । महादेवको दर्शन गर्न त्यहाँ वर्षेनि लाखौं भक्तजन आउने गर्दछन् । नगरपालिकाले पुल तरेको २० रुपैयाँ तोकेको थियो । एक नागरिकले त्यसको विरोध गरे । आफ्नै देशको भूभागभित्र जनताले तिरेको करबाट बनेको पुल तर्न पैसा लिएको विषयमा विरोध गर्नेलाई प्रहरी प्रशासन लगाएर पक्राउ गर्न लगाइयो । त्यसो त यहाँ देशै बेचेर खानेहरु पनि छन् । सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजानेहरु पदमा बसेका छन् । तिनलाई कारबाही हुनुपर्छ कि पर्दैन ?

काठमाडौंसँग जोडिएको जिल्ला भक्तपुर देशभरको सबैभन्दा फोहोर जिल्ला हो भन्दा हुन्छ । कुनै समय प्राचीनस्थलको रुपमा परिचित जिल्लालाई हेर्नै नहुने बनाइयो । यसमा राजनीतिक दलकै हात छ । त्यस्ता पार्टीको विरोधमा बोल्न पनि पाइँदैन । यहाँ १ नम्बर क्षेत्रमा नेमकिपाको विरोध गर्न पाइँदैन, गरेमा नागरिकताको सिफारिस नै दिँदैनन् । २ नम्बर क्षेत्रमा एमालेको विरोध गरेमा धारा, पानी नै दिँदैनन् । यस्तो दादागिरी छ । के यो पञ्चायतकाल हो ? त्यतिबेला पनि यस्तो दादागिरी थिएन । नेमकिपा र एमालेको दादागिरी यहाँका जनताले तोड्न सकेनन् । यो दुर्भाग्य हो ।