नयाँ दिल्लीमा भाजपा २७ वर्षपछि सत्तामा

नयाँ दिल्लीमा भाजपा २७ वर्षपछि सत्तामा


भारतीय जनता पार्टी (भाजपा)ले दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ । अरविन्द केजरीवालको आम आदमी पार्टीलाई सत्ताच्युत गरेर भाजपा २७ वर्षपछि सत्तामा फर्किएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालसहित आम आदमी पार्टीका कैयौँ शीर्ष नेताले आफ्नो गढबाटै हार ब्यहोरेका छन्।

भाजपा नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।

भाजपाले दिल्लीमा ७० सिटमध्ये ४८ सिट जितेको छ भने आम आदमी पार्टीले २२ सिट प्राप्त गरेको छ ।

सङ्घीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले एक सिट पनि जित्न सकेन । सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको काङ्ग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ ।

सुशासन’को विजय : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा)को विजयको प्रशंसा गर्दै केन्द्र र राज्यमा भाजपाको ‘सुशासन’को विजय भएको बताएका छन् । दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने उनको उद्घोष छ । ‘यो शानदार र ऐतिहासिक जनादेशको लागि म दिल्लीका मेरा प्रिय दिदीबहिनी र भाइहरूलाई नमन गर्दछु। यी आशिषहरू प्राप्त गर्न पाउँदा हामी नम्र र गौरवान्वित छौं’, प्रधानमन्त्री मोदीले भनेका छन् ।

आपद्वारा हार स्वीकार

दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गरेकी छन् भने आप नेता तथा पूर्व मुख्यमन्त्री केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठकले चुनाव हारेका छन् । आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयको लागि बधाई दिएका छन् ।

एक्जिट पोलले भाजपाको जित हुने देखाएको र पूर्वानुमानअनुसार नै यो नतिजा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।