बा र म

बा र म


लोग्नेमान्छे रुँदैनन् भन्थिन् आमाले… हो रहेछ
हाम्रा बाको आँशु कहिल्यै देखिनँ
किन देखिनँ कुन्नि हाम्रा बाका आँशु
जीवनभर देख्दै देखिनँ।

गोबर र गहुँतले
फुटेका हातहरु एकटकले हेर्नुहुन्थ्यो
केही नबोली टोलाउनुहुन्थ्यो
क्षितिजतिर हेरेर हाम्रा बाले
निःशब्द कसैलाई बोलाएझैँ लाग्थ्यो
तर बाका आँशु देखिनँ
अहँ बाका आँशु देख्दैदेखिनँ ।

निधार खुम्चाएर दह्रो गति हात झट्कार्नुहुन्थ्यो
र, आँशु आउने मुहानलाई नै थुन्नुहुन्थ्यो क्यारे
आँशुसँगै दुःख नझरोस् भनेर होला
घुरी रहनुहुन्थ्यो दुःख जन्मेको बाटो
हामीले हेर्दा केही नभएझैँ मुस्कुराउनुहुन्थ्यो
दबाउनुहुन्थ्यो सुस्केरा आँत भित्रभित्रै
अरुहरुसङ्ग फिस्स मुस्कुराउनुहुन्थ्यो
तर हाम्रा बा रुनुभएन
अहँ हाम्रा बा कहिल्यै रुनुभएन ।

पीडाको पहाड गर्धनमा बोकेर
आगोको रातो भुङ्ग्रोमा ऐया नभनी
आफैले आफूलाई सम्झाउँदै हिँड्नुहुन्थ्यो
कदम-कदममा गोठ घरको चियो गर्दै
वेदनाको बुझ्न नसकिने झरनाको ठोकाइमा
अचेत बनेको मान्छेले जस्तै
पिएको सुस्केरा फ्याँक्नुहुन्थ्यो मुखबाट
भित्रभित्रै गुन्गुनाउनुहुन्थ्यो
तर आँशु देखिनँ ती आँखामा
अहँ हाम्रा बाका आँशु झर्दै झरेनन् ।

छोराछोरी हुर्कंदै छन् भर्खर
मनभित्र आशा अलिकति संगेकोले होला
त्यसैले त पिउनुहुन्थ्यो बाले सब दुःख
हारेजस्तो तन सिथिल, मन मलिन हुन्थ्यो
तर कसैसँग पीडा पोख्नुभएन
कसैलाई गुहारेको पत्तै पाइनँ मैले
एकदिन उज्यालो छिर्छ आँगनमा भन्दै
आशाको बत्तीले मनको दियो उज्यालो पार्नुहुन्थ्यो होला
बुझ्यौ हाम्रा बाले आँशु झार्नुभएन
अहँ हाम्रा बा कहिल्यै रुनुभएन।

हाम्रा बाको आँशु बाफ बनेर आउँथ्यो कि ?
कसैले कतै नदेख्ने गरि फुस्स उँड्थ्यो कि ?
बा रोएको देख्दैदेखिनँ
बुझ्नुभो हाम्रा बा रुनुभएन, कहिल्यै आँशु झार्नुभएन ।

बाका चिसा आँखालाई ख्याल गरेको थिएँ मैले
एक पटक आँगनको डिलमा बसेर
बा रुनु भाको हो र भनेर सोधेको थिएँ मैले
किन रुनु.. मोस् पसेर हो – बाको उत्तर थियो ।

जाने बेला पुलुक्क मेरो मुखमा हेर्नुभयो
मेरा दुख तँलाई नसरुन् भनेर
आफ्नो आशा ममाथि खन्याए झैँ
परेली बन्द गरेर बिदा लिनुभयो
फेरि पनि इसाराले वेदनालाई दबाउनुभयो
बाले आँशु झार्नुभएन
अहँ हाम्रा बा रुनुभएन।

आज बा नभएको धेरै भयो
उहाँ दुःखैमा परमधाम हुनुभयो
उहाँको आशा प्रवाशमा छ
तर आशा एकतमास बाजस्तै छ
भिजाएर सुकाउने बेलामा
नदेखाएर लुकाउने कलामा
उ पनि बा जस्तै माहिर छ।