क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प


क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले बताएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प कम गहिराइमा गएको थियो । उपलब्ध सबै तथ्याङ्कका आधारमा… यस भूकम्पबाट सुनामीको खतरा टरेको छ र थप कुनै खतरा छैन”, अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ ।

यसअघि सुनामी चेतावनी प्रणालीले क्युबाका केही तटीय क्षेत्रमा करिब १० फिट (तीन मिटर) सम्मका छालहरू आउन सक्ने र होन्डुरस र क्यामन आइल्यान्डमा तीन फिटसम्मका छालहरू आउन सक्ने बताएको थियो ।

क्यामन आइल्यान्ड सरकारले आफ्नो वेबसाइटमा सन्देश दिँदै तटीय क्षेत्रका बासिन्दाहरूलाई आन्तरिक भागतर्फ सर्न चेतावनी दिएको थियो ।

प्रारम्भिक सुनामी खतरा चेतावनीमा एक दर्जनभन्दा बढी देश समावेश थिए । भूकम्प गएको करिब तीन घन्टापछि अमेरिकी अधिकारीहरूले ३० सेन्टिमिटरसम्मको ‘सामान्य समुद्री सतह उतारचढाव’ हुनसक्ने चेतावनी दिएका थिए तर कुनै गम्भीर खतरा टरिसकेको जनाएका छन् ।

मेक्सिकोको पूर्वी तटमा रहेको इस्ला मुजेरेसमा सुनामी मापन गेजले भूकम्पपछि अधिकतम चार सेन्टिमिटर (०.१ फिट)को उचाइ भएको लहर मापन गरेको अमेरिकी सुनामी चेतावनी केन्द्रले जनाएको छ ।