‘स्टन्टबाज’ नेपाली ‘केजरीवाल’हरूको अब यस्तो दूर्दशा !

‘स्टन्टबाज’ नेपाली ‘केजरीवाल’हरूको अब यस्तो दूर्दशा !


लोकतन्त्रमा बोल्न पाइन्छ । बोल्ने, लेख्ने र आफ्ना राजनीतिक दर्शन र आस्थाका आधारमा संगठित हुनको लागि लोकतन्त्र चाहियो । तथापि आफ्नो राजनीतिक अधिकारको प्रयोगको सीमाचाहिँ असीमित हुँदैन । जस्तो; टुँडिखेलमा हिँड्न, खेल्न, दौडन र घुम्न पाइन्छ, तर छेउमा लगाइएको सेनाको बार नाघेर अर्काे चौरमा पनि दौडिए सेनाले चेतावनी दिएर नियन्त्रणमा लिन सक्छ । अटेरी गरे गोली पनि हान्छ । लोकतन्त्रमा अधिकारको प्रयोग गर्दा यस्तो खाले सीमा हुने कुरा भुल्नु हुँदैन । आफ्नो घर-कोठामा त्यति चिच्याउन र कराउन पाइन्छ, जति मात्रामा अर्काे छिमेकी वा कोठामा बस्नेलाई असर पर्दैन । यो लोकतन्त्रको आधारभूत मान्यता हो ।

नेपालमा अहिले राजनीतिक स्वतन्त्रताको दुरुपयोग गर्ने र आफूलाई मन नपरेको जो-कसैलाई जस्तोसुकै प्रकृतिको गम्भीर आरोप/आक्षेप लगाउने ‘केजरीवाले संस्कृति’ बढ्दै गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त भएका राजनीतिक स्वतन्त्रतालाई गलत अर्थमा बुझ्दा यस्ता कुसंस्कार बढ्यो । प्रत्येकले अधिकारैअधिकारको बारेमा चर्का कुरा गर्ने ! आफ्ना आधारभूत दायित्व भने पूरा नगर्ने प्रवृत्ति बढ्दै गएका छन् ।

उदारवादी लोकतन्त्र अपनाएका युरोपका देशहरूका शासन-प्रणाली हेर्ने हो भने अधिकारका साथै प्रत्येकले आफ्ना दायित्व पूरा गर्नेगरेको देखिन्छ । समाजवादी चीनको शासन प्रणाली मूलरूपमा दायित्व (ड्युटी)मा बढी निर्भर रहेको छ । नेपालमा चाहिँ स्वतन्त्रताको उपयोग गर्ने नाममा उग्र स्वतन्त्रता र अराजकता बढ्यो/बढ्दैछ । त्यस्तो अराजकता, फन्टुस तर्क, गैरराजनीतिक हर्कत, फ्रड र ‘हिरोवाद’ एवम् ‘चिफ पपुल्यारिटी’को भूलभूलैया क्षणिक हुनेरहेछ भन्ने कुरा भारतको दिल्लीमा भएको ‘स्टन्टबाज’ केजरीवालको करारी हारले बतायो ।

कूप्रचार, अनावश्यक हल्ला, झुट्टा प्रचार र अफवाह फैलाएर निहीत स्वार्थ सिद्ध गर्ने फ्रड तत्वको हार हुन्छ…हुन्छ । मुलुकको संविधान, विधि, राजनीतिक र कानुनी-नीतिनिर्माता सबै ‘चोर’ र ‘निकम्मा’ हुन् भन्नेजस्तो गरी कूप्रचार गर्दै व्यक्तिगत स्वार्थ सिद्ध गर्न राजनीतिक मञ्चमा आएका फन्टुसे प्रवृत्तिले जनतालाई धोकामात्र दियो । अनेक अपराध गर्ने, भ्रष्टाचार र लुट मच्चाउनेहरू उल्टै राजनीतिक स्वार्थपूर्ति गर्ने र पानीमाथिको ओभानो भएर ‘सच्चा या चोखो’ देखाउने फ्रड चरित्र नेपाली राजनीतिमा पनि प्रवेश गऱ्यो । तिनै फन्टुस व्यक्ति ‘नेता’ बन्न त्यस्ता कतिपय दुषित मनसाय भएकाहरूद्वारा अराजक, अशिष्ट र गैरकानुनी आक्षेप लगाउने प्रवृत्ति बढ्दै गएको छ । यस्ता प्रवृत्तिलाई नागरिक समाज, राज्य र नेपाली नागरिकले ठाउँको ठाउँ निरुत्साहित गर्नुपर्ने अवस्था देखियो । नेपाली राजनीतिमा ‘केजरीवाल प्रवृत्ति’ प्रचण्डले ‘जनयुद्ध’का नाममा भित्र्याएका हुन् । त्यसको नक्कल गर्दै मधेसी समूह, रास्वपा नामको समूह र अन्य केहीले अहिले पनि नेपाली राजनीतिलाई दुषित पार्दैछन् ।

प्रजातन्त्रमा जनताका निर्वाचित प्रतिनिधिले शासन गर्ने भएकोले त्यो विधिलाई जनताको शासन हो भन्ने गरिएको छ । लोकतान्त्रिक विश्वमा शासन सञ्चालनको यो विधि प्रचलित र लोकप्रिय हुँदाहुँदै पनि यसका अनेकौँ दोष र दुर्गुण सँगसँगै आएका छन् । लोकतन्त्रमा राजनीतिक, वैचारिक, सैद्धान्तिक र सामाजिक आन्दोलनको इतिहास तथा जनताको संगठित समर्थन भएका दलहरूलाई प्रजातन्त्रका खम्बा मानिन्छ । त्यस्ता दलहरूमार्फत जनताका राजनीतिक, सामाजिक र सार्वजनिक मुद्दा, सरोकार तथा हितमा आवाज उठाइन्छन् । यद्यपि नेपाली राजनीतिमा ‘झ्यालबाट छिर्न खोजेका’ ‘किर्ना र जुगा’ प्रवृत्तिका ‘स्टन्टबाज केजरीवाल’रूपी कुपात्रहरूले राजनीतिक मूल्य, मान्यता र आदर्श चकनाचुर पारे/पार्दैछन् ।

राजनीतिक स्वार्थ नमिल्ने वित्तिकै जस्तोसुकै फौजदारी प्रकृतिका आपराधिक आरोप लगाउने प्रवृत्तिलाई राजनीतिमा जाने अस्त्र बनाइयो । नेतालाई सजिलै लगाइने आरोप ‘चोर’, ‘अपराधी’ र ‘ठग’ जस्ता शब्द बढी बोलिए । राज्यलाई ‘तहसनहन पारिदिने’, ‘गणतन्त्र र संविधान ध्वस्त गरिदिने’, ‘बालुवाटारमा आलो लगाइदिने’, ‘सिंहदरबारमा आलो लगाइदिने’, ‘प्रधानमन्त्रीको हत्या गरिदिने’ जस्ता अराजक, गैरकानुनी तथा अनैतिक-अमर्यादित आरोप/आक्षेप फन्टुसहरूले बोले । दिल्लीमा ठूला दलहरूलाई ‘चोर’ भनेर सत्तामा आएका केजरीवाल भ्रष्टाचारमा डुबे । सुशासन नारामा मात्र रह्यो । समस्या जस्ताको तस्तै भयो । यही कारण हालैको निर्वाचनबाट स्टन्टबाज र फन्टुस हर्कतवाला केजरीवाल पत्तासाफ भए ।

‘पानी नपार्ने मेघ’ जस्ता यस्ता स्टन्टबाजीले लोकतान्त्रिक राज्यप्रणाली, राजनीतिक नेतृत्व तथा सिङ्गो संवैधानिक-राजनीतिक विधिलाई धमिलो बनाउने रहेछ । राजनीतिमा छिर्न खोजेका नेपाली ‘केजरीवाल’हरूले आधुनिक, पढेका र नवयुवा भनिएका ठूलो जमातलाई भड्काइरहेका छन् । यही कारण नवयुवा राजनीति, राजनीतिक प्रणाली, देश, राजनीतिक नेतृत्व र शासन-सत्ता सञ्चालन गर्ने सरकारप्रति अनुत्तरदायी र बेमतलवी बन्दैछन् । देश, राजनीतिक-संवैधानिक प्रणाली र राजनीतिक नेतृत्वको सम्मान नगर्ने प्रवृत्ति बढेको छ । नेता, राज्यप्रणाली र सरकारी पदाधिकारीलाई जे पनि गाली गर्न पाइने अर्थमा लोकतन्त्रलाई बुझिँदैछ/सोचिँदैछ, जुन गलत हो ।

मानिस, व्यक्ति र समाजलाई अग्रगति दिने र दिशानिर्देश गर्ने भनेको राजनीतिक नेतृत्व, सरकार तथा नागरिक समाजका अगुवा आदिले हो । घर-परिवार, स्कुल-कलेज मानिसको पहिलो पाठशाला हुन् । त्यहीँबाट मानिसले नैतिकता, असल आचरण र संस्कार सिक्दछ । व्यक्ति र समाजबाट राजनीतिक नेतृत्वको निर्माण र विकास हुन्छ । राजनीतिक नेतृत्वमा रहेका नेता आफै भ्रष्ट, अनैतिक, मूल्यहीन, अविश्वासी र पतीत भइदिए भने त्यसको दुष्प्रभाव समाजमा पर्ने हुन्छ । राजनीतिक नेतृत्व र सरकारमा बसेका व्यक्तिले नै अन्यलाई तथानाम फौजदारी अपराधजन्य प्रकृतिका आक्षेप र आरोप लगाउँदछन् भने त्यहाँ त्यसको कुप्रभाव समाजमा प्रत्यक्ष पर्दछ । त्यस्ता प्रवृत्तिले समाजमा ‘नफरत’को मनोविज्ञान भर्ने काम गर्दछ । जसले देश र राजनीतिक एवम् सार्वजनिक विषय तथा मुद्दाप्रति मानिसहरूलाई सकारात्मक उर्जा दिन सक्दैन । नेपाली राजनीतिमा भित्रँदै गरेको ‘केजरीवाल प्रवृत्ति’को कारण समाजमा नकारात्मकता यति वृद्धि हुँदैछ कि मानिसहरू ‘सबै चोर हुन्’ भन्ने मनोविज्ञान बनाउन थालेका छन् । उद्देश्यहीन, दिशाहीन, लक्ष्यहीन र दृष्टिकोणविहीन नकारात्मक ‘ननपोलिटिक’ आक्रोश वा आगोले सबैको नास गर्ने बाहेक केही गर्दैन । अतिवाद र नकारात्मकता जहिल्यै घातक हुन्छ ।

पाकिस्तानमा सबैलाई ‘चोर’ भन्ने पूर्वप्रधानमन्त्री इमरान खान अहिले भ्रष्टाचार मामलामा जेलमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति, आदेश र व्यवहारले भूराजनीतिमा नेगेटिभिटी र आक्रोश पैदा गर्दैछ । युक्रेनका राष्ट्रपति झिलिनोस्कीका उग्रराष्ट्रवादी कार्यशैली र अभिव्यक्तिले उनलाई मात्र नभइ मुलुक नै ध्वस्त पाऱ्यो । निजी स्वार्थपूर्तिका लागि ओकिलिने नकारात्मक आगोद्वारा अन्य व्यक्ति, संस्था, प्रणाली र निकायलाई झोस्न खोज्ने नकारात्मक ज्वाला प्रत्येकको प्रगतिको बाधक ‘केजरीवाल प्रवृत्ति’ हो । आफ्नो स्वार्थ बाहेक सबैलाई नकार्ने प्रवृत्ति समाजमा ह्वात्तै बढेको ‘केजरीवाल प्रवृत्ति’ले नेपाली राजनीति पनि धमिलो पार्दैछ । त्यस्तो प्रवृत्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै ‘स्टन्ट’को मात्र कार्य गर्दछ । खास प्रभावकारी कार्यचाहिँ केही पनि गर्न सक्दैन ।

सञ्चारमाध्यमको दुरुपयोग गर्दै गलत, भ्रामक र झुट्टा भ्रम फैलाउँदै आफू हिरो हुने प्रवृत्तिले समाज, देश र सबैलाई नोक्सानी मात्र गर्ने रहेछ भन्ने कुरा केजरीवालको पतनबाट प्रस्ट हुन्छ । नेपाली राजनीतिमा त्यही ‘फ्रडवाला केजरीवाल प्रवृत्ति’ राजनीतिको टुप्पोबाट पलाएकाहरूको आयु अब सकियो/सकिनु पर्दछ । चौरासीको निर्वाचनमा पनि त्यस्ता फ्रड, फन्टुस र स्टन्टवाजे प्रवृत्तिलाई समर्थन गर्ने हो भने तिनले लोकतन्त्र, प्रणाली र मुलुकको आर्थिक, सामाजिक र सबै व्यवस्था ध्वस्त गर्न सक्दछन् । जसरी दिल्लीमा भयो । दिल्लीको निर्वाचनबाट नेपालमा ‘गोबर भएका ठाउँबाट पलाएका गन्धे झार’ जस्ता ‘फन्टुसे ननपोलिटिकल फ्रड’हरू नेपाली समाज र राजनीतिमा बढारिने प्रस्ट देखिन्छ । ‘फ्रड, फन्टुस र स्टन्टवाज’लाई अब कुनै पनि स्थान दिनु हुन्न । यिनीहरू राजनीतिमा पलाएका ‘ऐंजेरु’ हुन् ।