सुजाताका ज्वाइँलाई कारण देखाउ आदेश जारी

सुजाताका ज्वाइँलाई कारण देखाउ आदेश जारी


लन्डन । नेपाल टेलिकमको कल बाइपास, राहदानीको दुरुपयोग र नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसङ्घीय मिसनको सामान खरिदमा घोटाला गरेकोलगायतका अभियोग लगाइ सर्वोच्च अदालतमा परेको दायर रिटमा पराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरी माथि सुनुवाइ गर्दै न्यायाधीश उप्रेतीको एकल इजालसले विपक्षीहरु प्रधान मन्त्री, उपप्रधान मन्त्री, गृह मन्त्री र प्रहरी महानिरीक्षकलगायतलाई १५ दिनभित्र लेखी पठाउन आज आदेश जारी गरेको छ।

रुबेल चौधरी भ्रष्टाचार र गैरकानुनी क्रियाकलापमा संलग्न भई राष्ट्रलाई क्षति पुर्‍याएको अभियोग लगाउँदै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकारसाथ सुनुवाइ गर्ने भएको हो। आज न्यायाधीश भरत उप्रेतीको इजालसले रिटलाई अग्राधिकारमा राख्दै विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो।

पूर्व युवराज पारस शाहले आफूमाथि चितवनको टाइगर टप्स होटलमा गोली चलाएको आरोप लगाएपछि रुबेल एकाएक चर्चामा आएका थिए। त्यसलगत्तै भ्रष्टाचार र गैरकानुनी क्रियाकलापमा उनको संलग्नताबारे पनि खुलासा भएका थिए।

सिन्धुपाल्चोक घर भएका दइन्द्रबहादुर ठकुरीले रुबेलविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। – मेस