झापामा द्वन्द्वका कारण हात्ती र मान्छे मर्ने क्रम बढ्दै

झापामा द्वन्द्वका कारण हात्ती र मान्छे मर्ने क्रम बढ्दै


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

‘हात्तीप्रभावित जिल्ला’को पहिचान बनाएको झापामा हरेक वर्ष जंगली हात्ती र मान्छेबीचको द्वन्द्वका कारण ज्यान गुमाउने क्रम बढ्दै गइरहेको छ ।

डिभिजन वन कार्यालय झापाको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै हात्तीको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् । यसरी ज्यान गुमाउनेमा हल्दिवारी-३ का ७२ वर्षीय ओङ्दी गुरुङ, कचनकवल-७ की केलावती राजवंशी र दमक-३ का ४५ वर्षीय मीनबहादुर भण्डारी रहेकाछन् । यी तीनै जनाले कामको सिलसिलामा हात्तीसित आकस्मिक रूपमा भेटघाट हुँदा भाग्ने मौका समेत नपाएर ज्यान गुमाएका हुन् ।

मानव-हात्ती द्वन्द्वका क्रममा झापामा जंगली हात्तीको आक्रमणबाट १४ वर्षमा ७१ जना मानिस र २१ वटा हात्तीको मृत्यु भइसकेको छ । २०६७ सालदेखि २०८१ माघ महिनासम्म झापामा हात्ती आक्रमणमा परेर ७१ जना मानिसले ज्यान गुमाएका हुन् भने यस अवधिमा २१ वटा हात्तीको समेत मृत्यु भएको देखिन्छ । झापामा हात्तीका कारण मृत्यु भएका मानिसमध्ये ८ जना गैरनेपाली रहेका छन् ।

वन्यजन्तु क्षति न्युनीकरण नियमावलीअनुसार मृतक नेपालीका आफन्तले पाउने राहत रकम प्रतिव्यक्ति १० लाख रुपैयाँ प्राप्त गर्ने प्रावधान रहेको छ । सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । तर, अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका-२०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत पाउने व्यवस्था छ । सख्त घाइतेको उपचार सम्पूर्ण ब्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजार रुपैयाँसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुऱ्याएको अवस्थामा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको देखिन्छ । तर, सरकारी राहत रकम समयानुकुल उचित नभएको पीडित परिवारले गुनासो गर्ने गरेका छन् ।

हात्तीका कारण झापामा अन्न बाली, धनसम्पत्तिमा समेत हरेक वर्ष क्षति बढ्दै गएकोे डिभिजन वन कार्यालय झापाको तथ्यांकले देखाउँछ । धनजनको क्षतिपूर्ति वापत २०८० साल देखि २०८१ माघसम्म नेपाल सरकारको वन मन्त्रालयबाट मात्र ३३ जना पीडितलाई ५२ लाख ९९ हजार ९ सय २८ रुपैयाँ वितरण गरिसकेको छ, जसमा ४ जना मृतकको आफन्तलाई प्रतिव्यक्ति १० लाखका दरले ४० लाख, हात्तीको आक्रमणबाट घाइते भएका १० जनालाई एकमुष्ट ११ लाख १८ हजार ६ सय २८, अन्नबाली क्षति बापत १ लाख ७१ हजार ३ सय र पशुधन क्षतिबापत १० हजार रुपैयाँ दिएको डिभिजन वन कार्यालयको विवरणमा उल्लेख छ ।

यसैगरी, वन निर्देशनालयबाट २ जना मृतकलाई २० लाख रुपैयाँ र अन्य क्षतिपूर्ति बापत ३४ जनालाई ७ लाख ८ हजार ५ सय रुपैयाँ राहतवापत प्रदान गरिएको जनाइएको छ । त्यसैगरी, यसै आर्थिक वर्षको ६ महिनामा डिभिजन वन कार्यलय बाट ६९ लाख, ९३ हजार ५ सय ६५ रुपैयाँ राहत वितरण गरेको कार्यलय प्रमुख मेघराज राईको भनाइ छ ।

सो रकम २ जना घाइतेलाई २ लाख ६१ हजार १ सय २० रुपैयाँ, १ सय ४८ जनाको घरगोठ क्षतिको निवेदनका आधारमा २३ लाख रुपैयाँ, १ सय २७ जनाएको भण्डारण अन्नको क्षति वापत ९ लाख ७९ हजार ४५ रुपैया र ३७१ जनाको अन्नबाली क्षतिपूर्ति वापत ३४ लाख ५३ हजार ४ सय रूपैयाँ वितरण गरेको कार्यालयको विवरणले देखाउँछ ।

पीडितलाई क्षतिपूर्तिका लागि राहत रकम वितरण गर्ने गरे पनि हरेक वर्ष हात्तीबाट हुने क्षति घट्न सकेको छैन भने क्षति न्युनीकरणका लागि दीर्घकालीन योजनासमेत आउन सकेको छैन । हात्तीले जंगलमा घाँसदाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा समेत उनीहरूलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको विवरणमा देखिने गरेको छ ।

कार्यलय प्रमुख राईले डिभिजन वन कार्यलय झापाले जिल्लामा हात्तीप्रभावित क्षेत्रमा हात्तीलाई जंगलमै रोक्नका लागि पोखरी निर्माण, खानाका लागि विभिन्न प्रजातिका विरुवा तथा फलफूल लगाउने कार्य गरिरहेको छ भने हात्ती भगाउन र्यापिडरेस्पोन्स टिम ६ वटा लाई तालिम दिइ सहयोग पुऱ्याउने कार्य गरेको बताए । उनका अनुसार २०७५ सालसम्ममा जिल्लामा १० वटा हात्ती रहेकोमा हाल ३० वटाभन्दा बढी संख्यामा रहेको छ ।

हात्तीले बसोवासका लागि उपयोग गरिरहेको वनमध्ये झापामा १५ हजार ८३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । दुई वटा कबुलियत वन (११३ दशमलव ६ हेक्टर), ४३७ वटा निजी वन (४१२ दशमलव ०८ हेक्टर), रतुवामाइ वृक्षरोपण आयोजना (२ हजार ८५३), एग्रो फरेष्ट्री प्रमोसन (९८ दशमलव ६) र स्काउट वन (१५ हेक्टर) रहेको कार्यालयले जनाएको छ ।

हात्ती र मानव बीचको द्वन्द्व रोक्न हात्तीमैत्री वातावण निर्माणका लागि वन तथा वातावरण सम्बद्ध संस्था लागिरहेका भए पनि झापामा पछिल्लो समय हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि प्रभावित क्षेत्रबाट बसाइँ सर्नेको संख्या समेत बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइँ सर्न थालेका हुन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नभएको भन्दै दक्षिणी ग्रामीण झापाली घना बस्ती भएका बजारतिर बसाइँ सर्न थालेका छन् । जंगलनजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइदिने तथा बोटविरुवा र जनवारमाथि आक्रमण गरी क्षति पुऱ्याउन थालेपछि हात्ती नियन्त्रण गर्न स्थानीय जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । यस बाध्यता रोक्न प्रकृति संरक्षण कोषमार्फत प्रभावितलाई राहत दिने गरिएको भए पनि क्षतिको तुलनामा राहत निकै कम रहेको पीडितको गुनासो छ ।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क भने सरकारसित उपलब्ध छैन ।

१५ वटा झापाका स्थानीय तहहरूमध्ये झापा गाउँपालिका र गौरादह नगरपालिका बाहेक १३ वटा पालिकामा हात्ती आक्रमण बढ्दो रूपमा देखिएको छ । जङ्गली बासस्थान र आहारको प्राकृतिक स्रोत मासिँदै गएपछि हात्तीहरू मान्छे रहेको बस्ती र खेतबारीमा पस्न थालेका छन् भने आफ्नो आवास र उत्पादनमाथि खतरा बढ्न थालेपछि मान्छेले पनि हात्तीलाई मार्नेसम्मको गतिविधि गरिरहेको अवस्था छ ।