अनलाइन सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार (२९ माघ) सार्वजनिक गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो । पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब रु तीन अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलन गरी जानकारी दिए । उनले शान्तिसुरक्षा, अपराध अनुसन्धान, यातायात व्यवस्थापन र मानव बेचबिखन नियन्त्रणलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर सङ्गठनले काम गरिरहेको बताए ।
परिसरलाई विनियोजित बजेटको ८० प्रतिशतभन्दा बढी साधनस्रोत र जनशक्ति शान्ति सुव्यवस्थाका लागि खर्च भइरहेको र शान्तिसुरक्षा तथा न्यायिक कार्यसम्पादनलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउने प्रयास भइरहेको छ, राज्यले अघि सारेको विकास र खुसी प्राप्त गर्ने अभियानमा शान्ति सुरक्षा नै पहिलो शर्त हो भन्ने मान्यतालाई आत्मसात गरेका छौँ ।’
परिसर मातहत करिब चार हजार जनशक्ति रहेका र सो जनशक्तिले एक हजार एक सयभन्दा बढी विषयमा नागरिकलाई सहयोग पुऱ्याइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया