✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ ३० गते तद्अनुसार सन् २०२५ फरवरी १२ तारिख बुधबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि अश्लेषा नक्षत्र सौभाग्य योग भद्रा करण ०ः३५ पर बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा र सूर्यास्त साँझ १७ः५२ मा हुनेछ । पूर्णिमा व्रत, श्रीस्वस्थानीव्रत समाप्ति, महाप्रयागमा १२वर्षे मकर स्नान मेला समाप्ति ।
आजको राशिफल
मेष – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय भएपनि विगतका समस्या बल्झिन सक्छन् । व्यापार-व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुनसक्छ, धैर्य राख्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ भने सहयोगी भावना जागृत हुने देखिन्छ । रोकिएको काम इष्टमित्रको सहयोगमा पुनः अघि बढ्ने योग छ ।
वृष – आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर प्रतिष्पर्धीहरू किनारा लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ । परिवारिकसुख रहनेछ ।
मिथुन – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य मिल्न कठिन पर्ला । तथापि, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ने देखिन्छ । समुदायको हितमा राम्रै काम गर्न सकिएला । चर्को प्रतिस्पर्धामा पनि विजयी भइनेछ । । सभा-समारोहका बीच सम्मान मिल्ने योग छ ।
कर्कट – शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने समय छ, सजग रहनुहोला । इर्ष्या गर्नेहरूले काममा अवरोध खडा गर्न सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आरोग्यबल बढ्नेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । कर्मबल र आत्मविश्वासमा कमी आउनेछैन । रसरागमा आकर्षण रहनेछ ।
सिंह – नियमित कार्यमा खासै जाँगर नचलेपनि बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ने समय छ । पारिवारिक सुख वृद्धि होला । प्रेमको बन्धन कसिनुका साथै मनोरञ्जनात्मक एवम् रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । सवारीसाधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । अरूको धेरै विश्वास गर्दा धोका मिल्नसक्ने योग छ, आफ्नै सामर्थ्यमा अघि बढ्ने प्रयास सार्थक रहनेछ ।
कन्या – आयबल बढ्ने र सुख वृद्धि हुने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ला । नयाँ काममा हात हाल्ने योजनामा हुनुहन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आफन्तको साथले यात्रामा सफलता मिल्नेछ ।
तुला – बाध्यताका काममा जुट्नुपर्ने समय छ । यात्रागत कार्यमा समस्या आउने देखिन्छ, आजका लागि अनावश्यक भ्रमण कार्य रद्द गर्नु नै हितकर होला । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ । विपरीतलिंगीको माध्यमबाट फाइदा हुने योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । पुरानो सम्झौता भंग हुने सम्भावना छ, तर धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । चुनौतीका बाबजुद कर्मबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने समय छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । यसका बाबजुद समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । शुभता रसामर्थ्य बढेर रोकिएको काम बन्नेछ । आरोग्यता रहनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – आजको दिन प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । दौडधुप वृद्धि हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन पनि सक्छ, ध्यान दिनुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसरजुटे पनि अरूलाई जथाभावी वचन दिने बानीले भने दुःख पाइनेछ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – स्वास्थ्य केही कमजोर रहेपनि पढाइलेखाइमा प्रगति हुने समय छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुने योग छ । तर, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । प्रेमको बन्धन कसिने बेला छ । प्रेमभावका साथै रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्य जीवन सुखद रहला । सन्तानसुख बढ्नेछ । नियमकानूनले साथ दिनाले शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय छ । काम बिग्रने भयले सताएपनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने योग छ, सावधान रहनुहोला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा आंशिक सफलता मिल्नेछ ।
मीन – आज केही चुनौती बढ्न सक्छ । स्वास्थ्यले पूरा साथ नदिँदा नियमित कार्यमै ब्यवधान पैदा हुने सम्भावना छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा उचित हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनसक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग छ । शोख पूरा गर्नमा खर्च बढ्ला । तथापि, आफन्तको साथ मिल्नाले शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ ।
प्रतिक्रिया