‘विद्युत प्राधिकरणले समन्वय नगर्दा खानेपानीको पाइप फुटेर क्षति’ : मन्त्री यादव

‘विद्युत प्राधिकरणले समन्वय नगर्दा खानेपानीको पाइप फुटेर क्षति’ : मन्त्री यादव


नेपाल विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण काठमाडौंको बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री प्रदीप यादवले आरोप लगाएका छन् । बुधबार दिउँसो विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षका लागि त्यहाँ पुग्नुभएका मन्त्री यादवले सो कुरा बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले भने, ‘विद्युत प्राधिकरणले सधै हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।’

विद्युतका तारहरु अण्डरग्राउण्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा कहाँ कहाँ खानेपानीका पाइप छन् सो विषयमा प्राधिकरणले आफूहरुसँग सल्लाह र समन्वय गर्न आवश्यक रहेको मन्त्री यादवले बताए । उनले भने, ‘विद्युत प्राधिकरणले कहाँ कहाँ खानेपानीका पाइप बिच्छाइएको छ त्यो विषयमा जानकारी लिन आवश्यक छ, हामीलाई सोधे हामी पाइप भएको क्षेत्र देखाउनेछौँ ।’

पानी बन्द हुनासाथ फुटेको पाइपलाइन तत्काल मर्मत गर्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुखलाई निर्देशन दिइसकेको जानकारी दिँदै उनले भने, ‘पानी पूर्ण रुपमा बन्द हुनासाथ फुटेको पाइप यथाशीघ्र मर्मत गरी पानी सूचारु गरिने छ ।’

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का प्रमुख टिकाबहादुर चौधरीले पनि पानी बन्द हुनासाथ फुटेको पाइप मर्मत गरी सेवा सूचारु गरिने जानकारी दिए ।

ज्ञात रहोस्, पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको छ । मन्त्री यादव, मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरीसहित मन्त्रालयको टोली पानी निकास र रोकथामका लागि बबरमहल पुगेको थियो ।