भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न भारतको आग्रह

भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न भारतको आग्रह


ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले बुधबार (३० माघ) भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।

ऊर्जामन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युत्मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारुपमा सहमति गरेका थिए । उक्त प्रसारण लाइन अगाडि बढाउन यही माघ ९ गते दुई देशबीचको सहसचिवस्तरीय बैठक र माघ २९ गते सचिवस्तरीय बैठक बसेर प्रारुपबारे सहमति भएकोमा भारतीय विद्युत्मन्त्रीलाई उर्जामन्त्री खड्काले धन्यवाद दिए ।

गत वर्षको नोभेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई उनले धन्यवाद दिए । मन्त्री खड्काले नेपालले सुक्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेकाले २४सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरे ।

हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन । ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए ।

ऊर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिएपनि आजको भेटमा फेब्रुअरी अन्तिम साता नेपाल भ्रमण हुनेगरी छलफल भएको जनाइएको छ । भेटमा भारतका विद्युत्मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा संधै भारतको साथ र सहयोग रहेको उल्लेख गर्दै दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताएका थिए । भारतका विद्युत्मन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरे ।

भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए भने भारतका तर्फबाट विद्युतमन्त्री खट्टरसँगै विद्युत् सचिव पङ्कज अग्रवाल र भारतको विद्युत् संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिति रहेको थियो ।

photo: rss