शासकीय नियतमा कपट नै मुलुक अधोगतिको कारक

शासकीय नियतमा कपट नै मुलुक अधोगतिको कारक


सरकारले जनताका न्युनतम् आवश्यकताहरू ठम्याउन नसकेको मात्र नभइ नचाहेको पो हो कि भन्ने आशंका जनमानसमा पैदा भएको अवस्था छ । नेपालका कुनैपनि सरकार किन जनताका आधारभूत अपेक्षाहरू पनि पूरा गरिदिन संवेदनशील नभएका हुन् र तिनको राजनीति-गराइ तथा सरकार हँकाइ केका लागि हो- भेउ पाइँदैन । भाषणबाजी त आकाशकै तारा खसालिदिने खालको विकास र समृद्धिको गरिन्छ, तर काम गर्न चैं किन कोही पनि निजाँगर हुने गरेका हुन्- यो सवाल वर्षौं अघिदेखिकै हो ।

जनताले खासै बडेमान अपेक्षा पनि गरेका छैनन् । खानेपानी, खाद्यान्न, कृषिजन्य खाँचो, औषधोपचार, शिक्षा, बाटोघाटो र पुलपुलेसा, विपत्तिमा तत्काल आडभरोसा, सुरक्षा जस्ता प्राथमिक अपेक्षामै अधिकांशतः जनताको ध्यान थुरिएको हुन्छ । तर, सरकार भने पूरा गर्न सकिने त्यस्ता जनअपेक्षालाई समेत सम्बोधन गर्न निरन्तर चुकिरहनुबाट सरकारको काम चैं के हो ? भन्ने प्रश्न जहिल्यैसुकै अजंगको बनिरहेको छ ।

देशका विभिन्न गाउँठाउँका दुःखका कथा लगभग फरक छैनन् । अभाव, भोक, रोग र गरीबीका पीडा समान छन् । निम्नतम आधारभूत आवश्यकता पूर्तिका लागि पनि जुनी बित्ने साझा व्यथा छ– अधिकांश जनताको । नून र अन्नको बाध्यतामा बाँचिरहेका गरीब जनताका निम्ति शिक्षा र स्वास्थ्योपचार त ‘आकाशको फल’ बनिरहेको छ । दलहरूले ‘सामन्ती राज्यव्यवस्था’को जरोकिलो उखेलेपछि देशमा विकासको र जनतामा समुन्नतिको छेलोखेलो हुन्छ भन्ने सपना बाँडेर ‘गणतन्त्र’को जन्मघुटी पिलाए । तर, गणतन्त्र बहालीको पनि १६ वर्ष साढे ८ महिना पुग्नै लाग्दासम्म जनता भने नेताहरूले भन्ने गरेका ‘सामन्तवादको प्रतीक राजा’ फालेपछि झनै बेचैन हालतमा पुगेका छन् । आगत कुनै पनि कोणबाट भरोसाप्रद छैन, अनिर्णित छ । देश र जनताले अब चैं कुन अर्को ‘..तन्त्र’ आएपछि चैन पाउने ?

खाना, नाना र छाना नपाउँदाको सास्तीबाट प्रताडित निसहाय जनता जुनसुकै ‘..तन्त्र’को पैरवी गर्ने सरकारहरू आए पनि निम्नतम आवश्यकता नून, खाद्यान्न, सिटामोल र जीवनजलकै अभावमा छन् । सुत्केरी बेथा र बिरामी हुँदाका बखत स्वास्थ्य चौकीसम्म पुग्न नपाउने जनता छन् । केही साता अघि मात्र बझाङको केदारस्युँ गाउँपालिका-१, डुडिलकी २१ वर्षीया खिना बोहराले सुत्केरी बेथा लाग्दा एउटा स्ट्रेचरको अभावमा स्वास्थ्य चौकीसम्म पुग्न ढिलो हुँदा अकालमा ज्यान गुमाइन् । महिलाहरूले गर्नु पर्ने अचाक्ली शारीरिक श्रमका बाबजुद सामान्य खानपिन पनि हम्मेहम्मे पर्ने दुर्गम वा देहातका महिला वा किशोरीहरूका निम्ति पोषणयुक्त खाद्यान्न त अकल्पनीय रहिरहेकै छ ।

कुपोषणले ग्रस्त बालबालिका छन् । ज्यान जोखिममा पारेर कतिपय गाउँमा खोला तरेर विद्यालय धाउनु पर्ने र पहाडी भेगमा कहीँकतै तुइन भए ज्यानको जोखिम लिएर कष्टसाध्य तवरले खोला वारपार गर्नु पर्ने दैनिकी छ- बालबालिकाहरूको । फाटेका लुगा लाएर घण्टौं पैदल हिँडेर विद्यालय पुग्न विवश हुँदै आएका छन्- बालबालिकाहरू । तर भूइँ तहका जनताका त्यस्ता प्राथमिक समस्याहरू सम्बोधन गर्न पनि सरकारहरूले यत्तिका वर्षसम्म नचाहनुको अन्तर्य के हुन सक्छ ? जबकि राज्यकोषको दोहन गर्दै अनावश्यक भ्यूटावरहरू बनाएर र निजामतीका खरिदारसम्मलाई सरकारी ढुकुटी मासेर मोटरसाइकलको सुविधा दिइरहेका छन्- तीन तले सरकारहरूले !

संघीयताले के-के नै चमत्कारै गर्छ भनेजसरी तीन तले सरकारको अवधारणाअनुरुप शासनको तल्लो तहमा स्थानीय सरकारलाई अधिकार र बजेटरी हिसाबले समेत पहिलेभन्दा निक्कै गुना सबल र सक्षम बनाइएको छ । तर, केही अपवादबाहेक अधिक स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधिहरूले जनअपेक्षित सामान्य कामहरू पनि गर्न सकिरहेका छैनन् । पालिकाका धेरैजसो सरकारहरू आफ्नै सुविधामा रत्तिने र भ्रष्टाचार/कमिशनखोरीमा रल्लिने चर्यामा छन् । महालेखा परीक्षकको प्रतिवेदनले नै पालिकाहरूमा बढ्दो बेरुजुको पर्दाफास गर्दै आएकै छ ।

जनप्रतिनिधिहरूलाई त सुविधाको मामिलामा ‘नवाब’ नै बनाइएको छ, तलब र ५० लाखदेखि करोडौंका गाडीहरू दिएर । अझ माथिल्ला तहका जनप्रतिनिधि भनाउँदाहरू त ‘राजा-महाराजा’कै अवतारमा छन् । यही हो त- संघीयताको मर्म ? निम्छरा जनताको समस्या समाधान गर्ने ललिपप देखाएर भोट हत्याउनु र शासनमा पुगिरहनु मात्रै रंगीबिरंगी झण्डावाल दलका नेताहरूको पेशा हो ? गरीब जनतामा आफ्ना लागि ‘सरकार’ भनिने कुनै र केही ‘तत्व’ अस्तित्वमा छ भन्ने अनुभूति नै छैन । जबकि, तिनै गरीब जनताको नाममा वा बहाना बनाएर अर्बौं ऋण लिंदै आएका सरकारहरूले हालसम्म जनही नेपालीका थाप्लामा ८५ हजार रुपैयाँ ऋण बोकाइदिइसकेका छन् । यसरी आधारभूत आवश्यकता र आधारभूत सुविधासम्म खोजिरहेका जनताका खातिर ‘सरकार कहाँ छ ?’ खोज्नु पर्ने स्थिति बहाल छ ।

अर्थात्, सरकार वा जनप्रतिनिधिहरूको अकर्मण्यताको मजबुन भनेको उनीहरू सोचका अपांग, जनताप्रति बेइमान र दुराग्रही हुन्, नकि उनीहरू सबैजसो सामर्थ्यहीन र अक्षम ! चाहेमा वा असल नियत राखेमा सम्बोधन गर्न नसकिने समस्या रहन्नन्, छैनन् । तर, बेहिसाब राजनीतिक स्वार्थले परिचालित हुने प्यादाहरू जनताका समस्या र आवश्यकतामा बेखबर/लापर्वाह बनेका छन् । आ-आफ्ना दलका नेताका गोटी बन्ने नन्दीभृंगीहरूको स्वार्थ एकापसमा आर्थिक लाभको बाँडफाँडसम्म झांगिएको हुन्छ । जसअन्तर्गत विभिन्न विकासे योजना बनाउने र त्यसबाट कमिशन भागबण्डा लाउन तिनका सारथि बनेका छन्- कर्मचारीहरू । यसले प्रष्ट पार्छ- आम नेपालीको नियति त्यस्तो होइन, बजेट अपुग भएर त हुँदै होइन, बरू यस देशका सबै तहका शासकीय इकाइहरूमा रहेका बेइमानहरूको नियत चैं लगभग ९५ प्रतिशतसम्मै खराब भएर हो- यस मुलुक र मुलुकीको अधोगति ! यसबाट मुक्ति पाउने अब कसरी र कहिले त ? बहस जारी छ ।