‘युवाहरूले प्रेमका नाममा चकलेट किन्छन्, गुलाब किन्छन्, रेस्टुरेन्टमा महँगो बिल तिर्छन्, अनि बल्ल गएर प्रेम प्राप्त गर्छन् । यो व्यापार होइन त ?’
✍ उमेश रेग्मी
प्रेम दिवस ! अर्थात् भ्यालेन्टाइन डे ! यही दिन हो, जब एक्लाहरू आफ्नो ‘सिंगल’ अवस्था सम्झेर आँसु झार्छन्, ‘कमिटेडहरू आफैंलाई सबैभन्दा ठुलो प्रेम-विशेषज्ञ सम्झेर फेसबुकलगायतका सामाजिक संजालहरूमा स्टाटसको हुरीबतास लगाइदिन्छन्, अनि ‘ब्रेकअप’ भएकाहरू ‘यो त व्यापारीहरूको षड्यन्त्र हो’ भन्दै गफ छाँट्छन् । अर्थात्, यो दिनलाई फरक-फरक ढंगले हेर्ने फरक-फरक दृष्टिकोण भएकाहरू यत्रतत्र छरिएका भेटिन्छन्, कोही प्रेमको परिभाषा बयान गर्दै त कोही प्रेम भनेको वाहियात हो भन्दै ।
आखिर भ्यालेन्टाइन भनेको को हो त ? – यो भने धेरै ठूलो प्रश्न हो ! भ्यालेन्टाइन हुनु भनेको केटी वा केटा हुनु मात्र हो ? कि, मनपर्ने खाना, थकाई लागेर सुत्दाको निद्रा, वा आफूलाई मनपर्ने मोबाइल अथवा गाडी पनि भ्यालेन्टाइन हुन सक्छ ? के हामीले डेटिङ्ग भनेर पिज्जा अर्डर गरेर माया लाउन मिल्छ ? यदि मिल्छ भने मलाई मेरो भ्यालेन्टाइन ‘मोःमो’ झैँ लाग्छ ! मिठो, अनि जति खाए पनि खाउँ-खाउँ लागिरहने ! विभिन्न रुप अनि फ्लेवरमा आफूलाई प्रस्तुत गर्ने मोःमो.. मेरो गज्जबको भ्यालेन्टाइन हुने कुरा भन्न पाउँदा पनि कस्तो गदगद भइरहेको छु म ।
प्रेमको परिभाषा – वास्तविकता भर्सेज कल्पना
प्रेम के हो भन्ने कुरा हाम्रो समाजमा बुझ्ने दृष्टिकोण पनि दुई थरिका छन् । वास्तविकता भर्सेज कल्पनाको रुप दिन मिल्छ यो दृष्टिकोणलाई । एकथरि प्रेम फिल्मको जस्तै हुन्छ जहाँ हिरोइनलाई जति दुःख दिँदा पनि अन्तिममा माफी मिल्छ । आफ्नो प्रेमिका बचाउन हिरो सैयौँ गुण्डाहरूसँग एक्लै लड्छ तर उसलाई केही हुँदैन । उ प्रेमको लागि आफ्नो ज्यान दिन तयार भएको देखाइन्छ । तर वास्तविकता भनेको अर्कै हुन्छ, जहाँ प्रेमीले भोक लाग्यो भन्यो भने उसकी प्रेमिकाले भन्छे, ‘आफ्नो हात छँदैछ नि, केही बनाउनु अनि खानु । मलाई के कराइरहेको ?’ अनि एक्लै भुत्भुताउन थाल्छे- ‘खाली करकर गर्न मात्र आउँछ । आफ्नो यहाँ पार्लर जान ढिलो भइसक्यो, उसलाई भने भोक लाग्यो रे ! मलाई केको टाउकोदुखाइ, आफै बनाउँछ, खान्छ ।’ वास्तविक प्रेम यही हो !
प्रेम दिवस – व्यापारीहरूको षड्यन्त्र ?
कसैले भन्छन्- भ्यालेन्टाइन डे मनाउनु भनेको पश्चिमाहरूको नक्कल हो, व्यापारीहरूको षड्यन्त्र हो । यसदिन माया गर्ने भनेर गुलाब किन्ने, चकलेट दिने, टेडी बियर किन्दिने अनि भ्यालेन्टाइन डे सकिन्छ, फेरि झगडा गर्न सुरु गर्ने ! वास्तविक प्रेम यस्तो हुन्छ ? यदि प्रेम दिवस साँच्चै महत्त्वपूर्ण भए नेपाल सरकारले ‘भ्यालेन्टाइन डे’मा बिदा दिनुपर्ने होइन र ? दशैंमा जस्तै भ्यालेन्टाइन बोनस दिनुपर्ने होइन र ? यो त खाली विदेशबाट आयात गरिएको गुलाब किनेर व्यापारीलाई अझै धनी बनाउने षड्यन्त्र हो । यसमा सरकार सम्हालेर बसेकालाई कति कमिसन आउँछ कुन्नि तर व्यापारीहरूलाई भने चकलेट र गुलाबको नाफा गन्न भ्याइ-नभ्याइ हुन्छ । उता मायालुहरू गुलाब खोज्दै हिँड्दाको सास्ती । मार्केटमा गुलाब नपाएर राताम्मे भएर हिँडेका मायालु जोडीहरूको व्यापारीप्रतिको रोष पनि उत्तिकै चाखलाग्दो कुरा हो ।
रेस्टुरेन्टमा लाग्ने भिड, अर्को हेर्नलायकको दृश्य बनेको हुन्छ यो दिन । यहाँ पनि व्यापारीकै जित । मायालु जोडीहरू एक–अर्काप्रति माया दर्शाउन अनेक दाउ खोज्छन्, गुलाब किन्नेदेखि रेस्टुरेन्ट पुग्नेसम्मको यात्रामा जोडका तोडको दौड देखिन्छ । कोही प्रेमीलाई खुशी बनाउन खोज्छन् त कोही आफ्नो कर्तुत लुकाउन खोज्छन् । दुवै अवस्थामा पैसाको बाढी लाग्छ । भनिन्छ, साँचो प्रेमले पैसा माग्दैन । तर, रेस्टुरेन्टको बिल को तिर्छ त ? गुलाब को किन्छ त ? अनि भ्यालेन्टाइन गिफ्ट को दिन्छ त ? युवाहरूले प्रेमका नाममा चकलेट किन्छन्, गुलाब किन्छन्, रेस्टुरेन्टमा महँगो बिल तिर्छन्, अनि बल्ल गएर प्रेम प्राप्त गर्छन् । यो व्यापार होइन त ? यदि प्रेम व्यापार होइन भने किन ‘डिनर डेट’ भन्दा ‘लन्च डेट’ सस्तो पर्छ त रेस्टुरेन्टमा ? आखिर जित गराउनु नै छ त प्रेमको गर्नु नि ! तर होइन… यहाँ व्यापारीकै जित हुन्छ अनि कमिसन जान्छ सरकार सम्हालेर बसेकालाई ।
अब एकैछिन कुरा गरौँ ‘सिंगल’हरूको ! अर्थात्, ती महान् आत्माहरू जसले प्रेमलाई टाढै राखेर जीवन बिताइरहेका छन् । न यिनीहरूको कुनै भ्यालेन्टाइन छ न त यिनीहरू कुनै भ्यालेन्टाइन डे मनाउने कुरामा नै विश्वास राख्छन् । त्यसोभए यिनीहरूको भ्यालेन्टाइन डे कसरी बित्छ त ?
■ फेसबुकमा बिहानैदेखि भ्यालेन्टाइनका रमाइला स्टाटस हेर्दै अनि मनमनै कुढिँदै ।
■ टिकटकमा अनेकौँ भ्यालेन्टाइनका रोमान्टिक डान्स हेरेर अनि भित्रभित्रै जलेर ।
■ साथीहरूको बोलावटमा व्यस्त छु भन्ने नाटक रच्दै उनीहरूसित टाढा रहेर ।
■ एक्लै रक्सीको बोतल हातमा लिएर ‘मेरो पनि भ्यालेन्टाइन भइदिएको भए..’ भन्ने कल्पना बुन्दै आकाशको तारा गनेर ।
सिंगल हुनु भनेको नराम्रो त पक्कै होइन ! सिंगलहरूलाई कसैको म्यासेज हेर्ने टेन्सन हुँदैन, प्रेमिकाको बर्थडे बिर्सेको भन्दै झगडा गर्नु पर्दैन, राति २ बजे ‘तिमी निदायौ ?’ भनेर म्यासेज पठाउनुपर्ने झन्झट हुँदैन । अनि भ्यालेन्टाइन डे मा व्यापारीहरूलाई धनी बनाउने शुरमा दौडधुप पनि गर्नु पर्दैन । अर्थात्, स्वतन्त्र जीवन ! सुखी जीवन !
प्रेम दिवसको समस्या – उपहार !
यदि केटीलाई उपहार दिइएन भने, ‘तिमीले मलाई वास्ता गर्दैनौ’ भन्ने आरोप लाग्छ । यदि दिइयो भने, ‘जावो गुलाबको फुल मात्रै ?’ भनेर झर्किन्छन् ।
केटाहरूले उपहार दिनु पनि पर्छ, अनि प्रेमिकाको रिस पनि सहनुपर्छ ! यो अन्याय होइन र ?
अनि केटीहरूले के दिन्छन् ? एउटा टेडी बियर ! त्यो पनि १०० रुपैयाँको ! अनि भन्छन्, ‘यो हाम्रो माया हो’ । यदि यस्तै हो भने, केटाले पनि १०० रुपैयाँको गुलाब दिएर ‘यो हाम्रो माया हो’ भन्न नपाइने त ?
भ्यालेन्टाइन डे बितिसकेपछि आउने अर्को महत्त्वपूर्ण कार्यक्रम- ब्रेकअप ! प्रेम दिवसमा गिफ्ट दिएपछि, यदि मन परेन भने, एक हप्ता बित्न नपाउँदै ‘हामीबीच कुरा मिल्दैन’ भन्ने विचारले जरा गाड्न थाल्छ । त्यसपछि सुरु हुन थाल्छ सोसियल मेडियाहरूमा ‘ब्रेकअप स्टाटस’ पोस्ट गर्ने होडबाजी । अनि ‘सिंगल’ लाइफ सुरु हुन्छ । पुनः ‘माया गर्ने कोही छैन’ भन्दै साथीहरूसँग गुनासो गर्ने दिन सुरु हुन्छ । हिजोसम्म अंगालोमा हिँड्नेहरू आज सिंगल जस्तो राम्रो र विन्दास लाइफ अरु कुनै नहुने हल्ला गर्दै समय बिताउन थाल्छन् ।
अन्त्यमा, भ्यालेन्टाइन डे मनाउनु ठीक हो कि बेठीक ?
■ प्रेम गर्न चाहनेहरूका लागि यो महत्त्वपूर्ण दिन हो ।
■ प्रेम भोगिसकेकाहरूका लागि ‘यो सबै ढोंग हो’ भन्ने दिन हो ।
■ सिंगलहरूका लागि ‘यत्तिको पीडा कहिल्यै नआओस्’ भन्ने दिन हो ।
■ व्यापारीहरूका लागि धेरै पैसा कमाउने दिन हो ।
■ सरकार सम्हालेर बसेकालाई कमिसन जुटाउने दिन हो ।
अब भ्यालेन्टाइन डे मनाउने वा नमनाउने, यो तपाईंहरूकै जिम्मा । मचाहिँ लागेँ ‘डिनर डेट’तिर आफ्नो भ्यालेन्टाइनसँग । सस्तो ‘लन्च डेट’ त उनलाई पनि किन मन पर्थ्यो र !
प्रतिक्रिया