दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आगलागीबाट चार जनाको मृत्यु

दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आगलागीबाट चार जनाको मृत्यु


दक्षिण कोरियाको दक्षिणी बन्दरगाह शहर बुसानस्थित एक होटलमा शुक्रबार (२ फागुन)भएको आगलागीमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय दमकल निकायले जनाएअनुसार बन्यान ट्री होटलको निर्माणस्थलमा बिहान ११ः०० बजे (०२०० जिएमटी) अघि आगलागी सुरु भएको थियो ।

राष्ट्रिय दमकल निकायका एक अधिकारीले घटनास्थलमा करिब १० जना कामदार रहेका, तीमध्ये ६ जनाले ‘हृदयाघात’को अनुभव गरेका र चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएका छन् । अन्य चार जना घाइते भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको बताइएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएका छन् ।

यो घटना एयर बुसानको विमानमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको केही हप्तापछि भएको हो । उक्त आगलागीमा १७६ जनाले विमान छोड्नुपरेको थियो र सात जना घाइते भएका थिए ।