अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । भेटवार्तापछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले एकअर्काको प्रशंसा गरेका छन् ।
ट्रम्पसँगको बहुप्रतिक्षित भेटमा प्रधानमन्त्री मोदीले दुई देशबीचको व्यापारमा खुला छलफलको प्रस्ताव राखेका छन् र अवैध रूपमा अमेरिका प्रवेश गरेका भारतीयहरूलाई फिर्ता लैजाने बारेमा कुरा गरेका छन् ।
पत्रकारलाई दिएको बयानमा दुवै नेताले तेल-ग्यास, रक्षा, भन्सार, प्रविधि र व्यापारका विभिन्न पक्षहरूमा आफूहरुले छलफल गरेको बताएका छन् ।
प्रधानमन्त्री मोदीसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भारतले व्यापार घाटा कम गर्न अमेरिकाबाट एफ-३५ लडाकु विमानहरूसहित तेल, ग्यास र सैन्य हार्डवेयर खरिद गर्ने बताए । तर दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा एफ-३५ विमान खरिदको कुनै उल्लेख गरिएको छैन । मोदी र ट्रम्पको पत्रकार सम्मेलनपछि भारतीय विदेशसचिव विक्रम मिश्रीले पनि अहिलेको अवस्थामा एफ-३५ खरिद गर्ने प्रस्ताव मात्र रहेको बताएका छन् । यो खरिदको लागि कुनै औपचारिक प्रक्रिया सुरु गरिएको छैन ।

राष्ट्रपति ट्रम्पले यो पनि स्पष्ट पारे कि अमेरिकाले भारतलाई ‘पारस्परिक शुल्क’बाट बचाउने छैन । हालै, ट्रम्प आफैंले पारस्परिक ट्यारिफको अर्थ-व्याख्या गरेका छन् । उनले भनेका थिए कि अन्य देशहरूले अमेरिकामा जुनसुकै कर लगाए पनि अमेरिकाले अब उनीहरूमाथि पनि त्यही कर लगाउनेछ, न बढी न कम ।
यसबाहेक, एउटा महत्त्वपूर्ण घोषणा गर्दै डोनाल्ड ट्रम्पले मुम्बई आक्रमणको मुद्दाका अभियुक्त तहब्बुर राणालाई भारत सुपुर्दगी गरिने जानकारी दिए । अमेरिकी जेलमा रहेका राणालाई भारत ल्याउन लामो समयदेखि प्रयास भइरहेको थियो ।
सन् २००८ को मुम्बई आतंकवादी हमलामा संलग्न रहेको व्यक्तिलाई अमेरिकाबाट भारत सुपुर्दगी गर्न दिएकोमा मोदीले ट्रम्पलाई धन्यवाद दिए । उनले गैरकानूनी रूपमा अमेरिकामा रहेका कुनै पनि भारतीय नागरिकलाई फिर्ता लिने वाचा पनि गरे ।
दुई देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर बनाउने लक्ष्य राखेको प्रधानमन्त्री मोदीले बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सबाट अमेरिका पुगेका र शुक्रबार बिहान ह्वाइट हाउसमा उनले ट्रम्पलाई भेटेका हुन् ।
प्रतिक्रिया