निसान र होन्डाबीचको मर्जर वार्ता रद्द, शेयर मूल्यमा वृद्धि

निसान र होन्डाबीचको मर्जर वार्ता रद्द, शेयर मूल्यमा वृद्धि


निसान र होन्डाबीच चल्दै आएको मर्जरसम्बन्धी वार्ता रद्द गरिएको छ । बिहीबार (१३ फेब्रुअरी) बजार बन्द भएपछि ती कम्पनीहरूले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन् । विश्वको तेस्रो सबैभन्दा ठूलो अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकुलन गर्ने बताएको छ ।

बिहीबार निसानको शेयर ८.१७ प्रतिशतले बढेर ४४९ येन र होन्डाको शेयर ४.४६ प्रतिशतले बढेर एक हजार ४९८ येन पुगेको थियो ।

निसानले आफ्नो लागत संरचनालाई अनुकूलन गर्ने र आर्थिक वर्ष २०२६ मा कूल ४०० अर्ब येन (२.६ अर्ब अमेरिकी डलर) ले स्थिर र परिवर्तनशील लागत घटाउने योजना बनाएको जनाएको छ ।

निसानले करिब नौ हजार रोजगारी कटौतीको विस्तृत विवरण दिँदै भनेको छ, ‘सञ्चालनलाई व्यवस्थित गर्ने, नयाँ कर्मचारी भर्ना कटौती लागू गरेर र स्वैच्छिक पृथकिकरण कार्यक्रमहरूलाई गति दिएर विश्वव्यापी अप्रत्यक्ष दुई हजार ५०० कर्मचारी घटाउनेछ ।’

निसानले बाँकी अनावश्यक जनशक्ति कटौतीका लागि आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा तीन वटा प्लान्ट बन्द गर्नेछ । थाइल्याण्ड र संयुक्त राज्य अमेरिकामा निर्माणस्थलहरू बन्द गर्दा आर्थिक वर्ष २०२५ मा पाँच हजार ३०० रोजगारी कटौती हुनेछ र अर्को वर्ष एक हजार २०० रोजगारी कटौती हुनेछ।

निसानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी उन्नत प्रतिस्पर्धी उत्पादनहरूको माध्यमबाट शीर्ष-लाइन वृद्धिलाई अघि बढाउँदै अधिक कुशल लागत संरचना प्राप्त गर्न समर्पित छौँ ।’

निसानले शीर्ष व्यवस्थापन पदहरूमा पनि २० प्रतिशतले कटौती गर्ने जनाएको छ ।