इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार (१४ फेब्रुअरी) तीन जना बन्धकको नाम सार्वजनिक गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली-रूसी साशा ट्रुपानोभ, इजरायली-अमेरिकी सागुई डेकेल-चेन र इजरायली-अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ ।
प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो । असअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार युद्धविराम र ‘निर्धारित समयतालिकाअनुसार’ अर्को आदानप्रदान गर्ने प्रतिबद्धता दोहोऱ्याउँदै शनिबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारी हमासले गरेको हो ।
हमासका प्रवक्ता अब्देल लतिफ अल-कानौले भनेका छन्, ‘हामी यस (युद्धविराम)लाई कार्यान्वयन गर्न इच्छुक छौँ र यसलाई पूर्ण रूपमा पालना गर्न कब्जामा रहेका बन्धकको सहारा लिन बाध्य छौँ ।’
हमासले शनिबार ‘तीन जना जीवित बन्धक’ लाई रिहा गर्न इजरायलले दबाब दिएको हो । इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले भनेका थिए, ‘यदि हमासले हाम्रा कम्तीमा तीन बन्धकहरूलाई शनिबारअघि फिर्ता गर्ने प्रक्रिया अघि बढाएन भने शनिबार मध्याह्नसम्म युद्धविराम अन्त्य हुनेछ।’
प्रतिक्रिया