कसले गरिरहेछ व्यवसायीको ‘मोरल डाउन’ ?

कसले गरिरहेछ व्यवसायीको ‘मोरल डाउन’ ?


आफ्नै घरगाउँमा अदुवा रोपेर वर्षमा चार लाख कमाउन सक्ने मानिस पनि वर्षमा तीन लाख कमाउन अरब र मलेसिया किन जाँदैछ ? नेपालमा केही पनि हुँदैन भनेर कसले भ्रम फैलाउँदैछ ? सबै नेता उस्तै ‘चोर’ हुन् भन्ने भाष्य कसले किन फिँजायो ? देशै ‘खाली हुँदैछ’ भन्ने फन्टुस हुइँया कसले किन फैलाउँदैछ ? नेपालमा बैंकहरू डुब्दैछन् भन्ने हल्ला किन आउँछ बजारमा ? यस्ता अनेकौँ फ्रड र फेक न्यूज किन/कसले फैलाइरहेका छन् ? सवाल गम्भीर छन् । वास्तवमा नेपालमा पनि धेरै क्षेत्रमा हजारौँ मानिसले प्रगति/उन्नति गरेका छन् । उच्च मनोवल र व्यापक अर्थको इमानदारीसहित कार्य गरेको खण्डमा धेरै प्रगति गर्न सकिन्छ । केवल विश्वास र हाइ मोरलको खाँचो छ । ‘डाउन’ हुँदै गएको ‘मोरेल’ हाइ गर्न सकेको खण्डमा नेपालमा प्रशस्त सुधार, प्रगति र उन्नत्तिको सम्भावना पनि छ ।

नेपालको व्यवसायिक क्षेत्र र युवा जगतमा यस्ता खाले अनेकौँ भ्रम छरिएका कारण युवाहरू नयाँ लगानी गर्न उत्साहित बन्न सकेनन् । यही कारण मुख्य शहर/बजारका विभिन्न स्थानमा ‘टुलेट’, ‘पसल बिक्रीमा’, ‘भाडामा’ जस्ता ट्याग धेरै देखिएका हुन् । फेक न्यूजको बाढीका कारण लगानी र पेशाका क्षेत्रमा अन्यौलता, विकृति, विसंगति र अविश्वास बढेको हो । नयाँ लगानी गर्ने युवामा गिरेको मनोवल क्रमशः सामाजिक र आर्थिक क्षेत्रमा सर्दै गएको छ । राजनीतिक नेतृत्व, नेता, सरकार, सत्ता र लोकतान्त्रिक गणतन्त्रमा अनेकौँ हल्ला र भ्रम फैलिएका छन् । राजनीतिमा ‘सबै एउटै ड्याङका मूला हुन्’ भन्ने भाष्य समाजमा बेचियो । यसले मानिसले कसैलाई पनि भरोेसा गर्न सकेका छैनन् ।

‘स्वतन्त्र’ नाम जोडेर नयाँ दलको उदय भएपनि त्यस्ता दल तथा दलका नाइके भित्रभित्र फतक्कै कुहिएको फर्सी जस्तो देखियो । ‘फ्रड’ र ‘करप्ट’ मानसिकताका साथ ‘पोलिटिक्स’मा छिट्टै ‘बुम’ गर्ने सोचले आउने धुर्त सोच/प्रवृत्तिका व्यक्तिहरूले नेपाली समाजलाई दूषित तथा भ्रमित पार्दैछन् । ‘नयाँ’को नाममा आएका यस्ता ‘नव केजरीवाल’हरूका सोच, कार्यशैली, गति र क्रिया सबै ‘फ्रड’ तथा ‘फन्टुस’ देखिए । सुरुमा धेरैले विश्वास गरेपनि यस्ताहरूले धमिलो बनाएको राजनीति ‘फिल्टर’ हुन टाइम लाग्ने भयो ! यही कारण राजनीतिक-सामाजिक क्षेत्रमा उत्साहको वातावरण निर्माण हुनुको उल्टो निराशा बढ्यो । जसले गर्दा व्यवसायिक क्षेत्रमा लगानी गर्नेहरूको मोरल डाउन गऱ्यो । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक, प्राविधिक, भौतिक र समग्र विकासमा मनोवल खस्कन पुग्दा शहरबजारमा निराशा, कमजोरी र अविश्वास सर्वत्र बढेको हो ।

रोजगारीका अवसरको खोजीमा विदेशिने युवाको संख्या बढिरहेको छ । ४० लाखभन्दा बढी नेपाली विभिन्न उद्देश्यले देशबाहिर पुगे । विदेशिने क्रम बढिरहेको छ । त्यो स्वभाविक पनि हो । मानिस आफूलाई जहाँ सुरक्षित, सहज र राम्रो भविष्य देख्दछ त्यहाँ जाने कुरा ‘ग्लोबल फेनोमेना’ पनि हो । चीनबाट समेत लाखौँ मानिस अमेरिका र युरोप पुगे । नेपाली विदेश जानु अनौठो होइन । यसले वैदेशिक रोजगारीबाट आउने रेमिटेन्स समेत बढिरहेको छ । सोही कारण बैंकमा लगानीयोग्य पुँजी (नगद) को मौज्दात बढिरहेको हो । बैंकमा थुप्रिएको पुँजीलाई उद्योग, व्यापार र रोजागारी वृृद्धिमा लगानी गर्ने वातारण निर्माण गर्नु आवश्यक छ ।

ताप्लेजुङ्गमा केबुलकार निर्माण गर्न खोज्दा स्थानीयले स्वागत गर्नुपर्नेमा राजनीतिक पूर्वाग्रहप्रेरित भएर केही भँडुवाहरू विरोधमा उत्रिए । यस्ता गतिविधिले मोरल डाउन मात्र गर्ने हुन् । लगानीकर्ता, उद्योगी र व्यवसायीको मनोबल खस्केको कारण ऋण लगानी बढ्न नसक्दा बैंकमा नगद मौज्दात बढिरहेको छ । मोरल डाउन भएको कारण औपचारिक शिक्षा आर्जन गरेका, शहरबजारमा घर भएका र नेपालमा नै आय जार्जन गर्न सक्ने व्यक्ति पनि वैदेशिक रोजगारीमा हानिएका हुन् ।

उद्योग/व्यापारमा लगानी बढाउने होइन भएको लगानी संकुचन र फिर्ता गरी घरजग्गा वा अनुत्पादक क्षेत्रमा ‘डम्प’ गर्ने प्रवृत्ति बढेको छ । शहरबजारमा चालु हालतमा रहेका साना लगानीमा सञ्चालन हुदै आएका पेशा, व्यापार र सेवा विस्तार गर्ने होइन बन्द गर्ने सोच बढ्नु लगानीकर्ताको मोरल डाउन हुनु हो । व्यवसायीको मनोवल यति धेरै खस्केको छ कि शहरका सबैजसो पसल-व्यवसाय ‘बेच्न पाए हुन्थ्यो’ भन्ने मनस्थितिमा पुगेका छन् । ‘लगानी गरे डुब्ने’ भन्ने जस्तो अफवाह भूसको आगो जस्तो गरी फैलाइएको छ । बैँकहरू सरल, सस्तो र सुलभ तरिकाले ऋण लगानी गर्न तयार भएका विभिन्न विज्ञापन देखिन्छ । किन र कसरी यस्तो अवस्था आयो ? हल्ला भएजस्तो नेपालको अवस्था त्यस्तै भइसकेको हो ? आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा आएका यस्ता मनोबल कमजोर पार्ने भ्रमलाई कसरी चिर्न सकिन्छ ? यस्ता अनगिन्ती सवाल अहिले जटिल बन्दैछन् ।

एकातर्फ सार्वजनिक सञ्चारमाध्यमबाट राज्य र प्रणालीलाई चर्का गाली गर्ने र चटके फन्डा गर्नेहरू आफूलाई राजनीति र सामाजिक अगुवा भन्ने देखाउन फ्रड र फेक न्यूज बेच्दैछन्, जसले नागरिक र नयाँ लगानीकर्ता व्यवसायीको उत्साह खस्काउँदैछ । खासगरी आर्थिक क्षेत्रमा मनोबल गिर्नुमा पनि राजनीतिक अस्थीरता, अन्यौलता र विकृति प्रमुख कारक हुन्छ । अर्काेतर्फ आर्थिक क्षेत्रमा अनुशासनहीनता, विकृति र अपचलन बढेकोले बचतकर्तामा अविश्वास बढेको हो । ठूला र उत्कृष्ट भनिएका सहकारी सङ्कटग्रस्त बन्ने, धमाधम बन्द हुने र भाग्ने गरेकाले त्यसको असर बैँक तथा वित्तीय संस्थाहरूमा समेत पर्न थालेको हो ।

सहकारी ठगी र बैंकिङ क्षेत्रका आर्थिक अपचलनमा नयाँ राजनीतिकर्मी भनिएकाहरूको समेत प्रत्यक्ष संलग्नता हुनु, अन्य राजनीतिक दलका नेता, सेना र प्रहरी तथा सरकारी उच्च पदस्थ अधिकारीहरूसहितको नाम जोडिनु र मुछिनुले समग्र आर्थिक क्षेत्रमा मोरल डाउन गरायो । गलत मनसाय भएका फ्रडहरूले तथ्यहीन, भ्रामक र झुट्टा हल्ला फैलाउने अनलाइन मिडिया, युट्युबर, विभिन्न निजी स्वार्थ जोडिएका व्यक्तिहरू सबैले सस्तो लोकप्रियताका लागि ‘सबै बर्बाद भयो’ भने । तिनले ‘फेक कन्टेन्ट’ बेच्दैछन् । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र तहसनहस र ध्वस्त भएको भन्ने हल्ला व्यापक फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्दैछन् । यसले मोरल डाउन मात्र गऱ्यो ।

आर्थिक, सामाजिक र नैतिक संकट बढेको कारण सामान्य नागरिकको मनोबल निरन्तर गिर्दै आएकोले नेपालमा केही पनि हुँदैन, सबै नेता र दल उस्तै हुन्, सबै सहकारी ठग हुन्, सबै बैँकले ऋण लगानी गर्दा तोक्ने ब्याजमा पछि वृद्धि गर्दै ठग्छन्, सबै नेता चोर हुन्, नेपालमा रोजगारी छैन, व्यापार छैन, उद्योग, व्यापार संकटग्रस्त भइसक्यो भन्नेजस्ता भाष्य बजारमा बढी बेचिएकाले भ्रम पैदा भयो । यसैकारण व्यवसायिक वातावरण धमिलो हुँदै ‘मोरल डाउन’ भएको हो ।

साथै, शहर-बजारमा ‘बालेन प्रवृत्ति’लाई फलो गर्नेक्रम नगरपालिका आदिका नाममा बढे/बढाइएकाले पनि व्यवसायमा लगानी गर्न त्रास पैदा हुँदैछ । चौतर्फी चर्काे कर, राजश्व उठाउने सरकारले नागरिक सेवा र सुविधा दिन सकेको छैन । आफूलाई ‘हिरो’ देखाउन नागरिकमाथि अनावश्यक कडाइ गर्ने प्रवृत्तिले लगानीको वातावरण ध्वस्त पाऱ्यो । उता सार्वजनिक सेवातर्फका पासपोर्ट, मालपोत, यातायात र विभिन्न सरकारी सेवामाथि अनकौँ समस्या र प्रश्न खडा भएकोले समेत लगानीकर्ताको मनोबल डाउन भएको हो । यी र यस्ता समस्या र चुनौतीलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्दछ ।