जेलेन्स्कीद्वारा युक्रेनको ‘सुरक्षा सुनिश्चितता’को माग

जेलेन्स्कीद्वारा युक्रेनको ‘सुरक्षा सुनिश्चितता’को माग


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताएका छन् । मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका हुन् ।

जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा तीन वर्षे युक्रेन युद्धलाई समाप्त गर्ने वासिङ्टनको प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्ने युक्रेनी प्रयासलाई प्रस्तुत गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी नेता भ्लादिमिर पुटिनसँग युद्धविराम वार्ता सुरु गर्न चाँडै नै भेट्ने घोषणा गरेपछि यसले युक्रेनका लागि अमेरिकी समर्थनको यथास्थितिलाई लिएर अमेरिकाका मित्रराष्ट्रहरूलाई स्तब्ध पारेको छ।

म्युनिखमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युद्धको अन्त्य हुनुअघि ह्वाइट हाउससँग ‘थप कुरा’ गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, ‘हामी शान्ति चाहन्छौं तर हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिएको छ ।’

जेलेन्स्कीको चिन्ता अमेरिकी सञ्चारमाध्यम एनबीसीसँगको अन्तर्वार्ताको पूर्वावलोकनमा पनि प्रदर्शित भएको थियो, जसमा भनिएको थियो, ‘संयुक्त राज्य अमेरिकाको समर्थन बिना युक्रेनको स्वतन्त्र अस्तित्वका साथ बाँच्नको लागि निकै कम मौका हुनेछ।’

यसबीच भान्सले जेलेन्स्कीसँग ‘राम्रो कुराकानी’ भएको बताएका छन् र युद्धको अन्त्य गर्ने अमेरिकी ट्रम्प प्रशासनको लक्ष्यलाई स्वीकार गरेका छन् । ‘हामी पूर्वी युरोप दुई वर्षपछि द्वन्द्वमा फस्ने खालको शान्ति नभई स्थायी तथा दिगो शान्ति हासिल गर्न चाहन्छौं’, भान्सको भनाइ छ ।