लेबनानमा शान्तिसेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ

लेबनानमा शान्तिसेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ


लेबनानी अधिकारीहरूले शनिबार (१५ फेब्रुअरी) संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डरसहित दुई शान्ति सेना घाइते भएका थिए ।

संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् भने लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको त्यहाँका आन्तरिक मन्त्री अहमद अल-हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठकपछि पत्रकारहरूलाई बताएका छन् ।

‘यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ’- उनको भनाइ छ ।

उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल घाइते भएका छन् । साथै, लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल)ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ । युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए ।

प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरेका छन् । लेबनानका लागि संयुक्त राष्ट्र सङ्घका विशेष संयोजक जेनिन हेनिस-प्लास्चार्ट र युनिफिल कमाण्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा उनले दोषीहरूलाई पक्राउ गर्ने वाचा गरे ।