लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।
उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।
‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले उत्पादन रोकिएको होइन’, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भनेका छन्, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।’
प्रशासन प्रमुख आचार्यका अनुसार अहिले उत्पादन ठप्प भएपनि नियमित खर्च जस्ताको त्यस्तै रहेको छ भने तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थको समस्या छ । उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चापदार्थ कोइलाको आवश्यक पर्ने जानकारी दिँदै उनले भनेका छन्, ‘कोइलाको पुरानो भुक्तानी भइ नसकेकाले तत्काल कोइला आउने सम्भावना छैन । आर्थिक समस्याका कारण कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भुक्तानी पनि गर्न सकिएको छैन ।’
विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।
‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ’, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डल भन्छन्, ‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौँ, त्यसमा मेकेनिकहरु लगिरहनुभएको छ, धेरै काम सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।’
एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।
प्रतिक्रिया