नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु


भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड हुँदा महिला, बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । घटनास्थलमै पन्ध्र जना र उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको जनाइएको छ ।

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा शनिबार राति भारतीय समयअनुसार ९ः१५ बजे उक्त घटना भएको हो ।

यात्रुको अत्यधिक भीड रहेको र रेल चढ्न तँछाडमछाड गरेको अवस्थाले उक्त दुःखद घटना निम्त्याएको बताइएको छ ।

मृतकको शव निकालिएको छ भने घाइतेहरुलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।