पचास प्रतिशतले घट्यो धादिङमा घर-जग्गा कारोबार

पचास प्रतिशतले घट्यो धादिङमा घर-जग्गा कारोबार


  • विकास रौनियार, गजुरी (धादिङ)

आर्थिक गतिविधिमा आएको शिथिलतासंगै देशैभर घरजग्गा कारोबारमा मन्दी छाइरहेको बेला संघीय राजधानीसंगै जोडिएको जिल्ला धादिङमा पनि त्यसको प्रभाव परेको छ । धादिङमा विगत चार/पाँच वर्षअघिको तुलनामा घर-जग्गा कारोवारमा ५० प्रतिशतले ह्रास आएको छ भने राजश्व संकलन पनि सोही दरमा कम भएको छ ।

तीन/चार वर्षअघिसम्म भिडभाड हुने जिल्ला मालपोत कार्यालयमा यतिबेला कमैमात्र सेवाग्राही घरजग्गा सम्बन्धी कामले पुग्ने गरेका छन् । विगतमा भन्दा मालपोत कार्यालयमा सेवा सुविधा थप भएको छ तर सेवाग्राही नै नआएपछि उपलब्ध सेवा सुविधा पनि अर्थहीन बन्न पुगेको छ । घरजग्गाको कारोबारमा आएको कमीले राज्यले उठाउने राजश्वमा पनि असर पुगेको छ । कारोबारमा पचास प्रतिशतले कमी आएको मालपोत कार्यालयका प्रमुख खेमराज खत्री बताउँछन् ।

धादिङ घरजग्गा कारोवारमा आएको कमीले राजश्व संकलनमा मात्रै नभएर वरपरको व्यापार व्यवसायमा पनि असर पुगेको छ । खासगरी घरजग्गा कारोवारसंग प्रत्यक्ष सम्बन्ध भएका लेखापढी व्यवसायी बढी मर्कामा परेका छन् । आर्थिक मन्दीसंगै राज्यको गलत नीति र बढी कर लगाएका कारण घरजग्गा कारोवारमा कमी आएका लेखापढी व्यवसायी नवराज सिलवालको भनाइ छ ।

घर-जग्गा कारोवारका लागि मालपोत कार्यालय पुग्ने सेवाग्राहीहरू भने यतिबेला उपलब्ध सेवासुविधा र कर्मचारीको व्यवहारप्रति सन्तोष प्रकट गर्छन् । धादिङ घरजग्गा कारोवार हुनेमध्येमै पर्दथ्यो । खासगरी सदरमुकाम धादिङबेशीका साथै पृथ्वी राजमार्ग क्षेत्रवरपर बढीमात्रामा घर जग्गा किनबेच हुने गरेको थियो । यी क्षेत्रहरुमा समेत घर जग्गा कारोवार घटेको बताइएको छ । जग्गाको उच्च मूल्य हुनु, व्यापार व्यवसायमा आएको कमीसंगै राजश्व समेत घटेको छ । आव ०७८/७९ मा ४५ करोड र आव ८०/८१ २६ करोड आव ८१/८२ को पुस मसान्त सम्म ११ करोड ६४ लाख राजश्व संकलन भएको छ । घरजग्गाको कारोबारमा मन्दी आउँदा अर्थतन्त्र निराशातर्फ उन्मुख भएको अनुभूति गरिएको छ ।