देश, समय र कामना– सिरु शर्मा

देश, समय र कामना– सिरु शर्मा


बिहानै
एउटा आशाको किरण बोकेर
विस्तारै सूर्य उदाउँछ
वसन्ती हावा
सरर्र.. सरर्र सर्सराउँछ
थोरै ढुक–ढुक गरिदिन्छ मुटुमा
देशको माया
घडीमा समय
एकनास श्वासको प्रवाहमा
बगिरहन्छ नदीझैँ
शान्त आकाश
चराहरूको चिर्बिराहट
क्षितिज टेकेर
जब जान्छ घाम
जब आँउछ जून
वा
जब जान्छ जून
जब आाउँछ घाम
मन
तलाउझैँ शान्त भइरहन्छ
एक मुठ्ठी माटो
च्यापेर मुठ्ठीमा
एक थुङ्गा फूल
छोएर औंलाहरूले
प्रत्येक श्वासफेराइहरूमा
लाग्छ–
प्रत्येक आँखा खोलाइहरूमा
सिङ्गो देश पाइरहुँ
सबै हाँसिरहेका
सबै नाचिरहेका
सबै गाइरहेका
हरक्षण–हरबखत ।