अमेरिका र रुसका उच्च स्तरीय कूटनीतिज्ञहरू साउदी अरबमा भेला भइ बिग्रेका सम्बन्धहरू पुनःस्थापित गर्ने र युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको सुरुआत गर्ने वार्तामा सरिक भएका छन् । साउदी राजधानीको दिरियाह दरबारमा मङ्गलबार बिहान (१८ फेब्रुअरी) अमेरिका र रुसी कूटनीतिज्ञहरूबीच बैठक सुरु भएको रियादका पत्रकारहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दुई देशबीचको पहिलो उच्चस्तरीय बैठकबाट कुनै ठोस परिणाम निस्किने सम्भावनालाई दुवै पक्षले कम आँकेपनि वार्ता भइरहेको तथ्यले क्रेमलिनप्रति संयुक्त राज्य अमेरिकाको हालैको पहलपछि युक्रेन र युरोपमा चिन्ता उत्पन्न गरेको एजेन्सीहरुले जनाएका छन् ।
ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्भावित शिखर सम्मेलनको तयारी पनि वार्ताको कार्यसूचीमा पर्ने अपेक्षा गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रियादमा भएका छलफलहरूमा किएभलाई निमन्त्रणा नगरिएको बताएका छन् । युक्रेनी समाचार एजेन्सीहरूका अनुसार जेलेन्स्कीले रियादमा भएको वार्ताको बारेमा किएभलाई ‘केही थाहा थिएन’ र यसले ‘हामीबिना हाम्रो बारेमा कुनै निर्णय वा सम्झौतालाई मान्यता दिन सक्दैनौँ’ भनेका छन् ।
युरोपेली नेताहरू ट्रम्प प्रशासनको नाटकीय मोडलाई कसरी प्रतिक्रिया दिने भन्ने आपत्कालीन छलफलका लागि सोमबार पेरिसमा भेला भएका थिए ।
ट्रम्पले युक्रेनमा तीन वर्ष लामो सङ्घर्षको द्रुत समाधानका लागि दबाब दिइरहेका छन् भने रुसले उनको पहललाई छुट प्राप्त गर्ने अवसरका रूपमा हेरिरहेको छ ।
बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले युक्रेनमा ‘शान्तितर्फका प्रयासहरू’ लाई स्वागत गर्दै ‘एकै समयमा, हामी सबै पक्ष र सरोकारवालाहरूले वार्तामा भाग लिनसक्ने आशा गर्दछौँ’ भनेका छन् ।
साउदी अरबमामा बैठक हुनुअघि रुसले पुटिन र ट्रम्प ‘असामान्य सम्बन्ध’ बाट अगाडि बढ्न चाहेको र युरोपेलीहरूलाई कुनै पनि वार्ताको टेबलमा बस्न ठाउँ नभएको बताएको थियो ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र पुटिनका वरिष्ठ सहयोगी युरी उसाकोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका दूत स्टिभ विटकोफसँग भेटवार्ता गर्ने बताइएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई वार्ता ‘मुख्य रूपमा रुस–अमेरिकी सम्बन्धहरूको सम्पूर्ण संरचना पुनःस्थापना गर्नमा समर्पित’ हुने साथै ‘युक्रेनी समाधानका सम्भावित वार्ताहरू र दुई राष्ट्रपतिबीच बैठक आयोजना गर्ने’ बारे छलफल हुने बताएका छन् ।
वर्षौंदेखि युरोपमा नाटोको उपस्थिति फिर्ता लिन खोजिरहेको मस्कोले युक्रेनको सम्भावित युद्धविराम मात्र नभइ व्यापक सुरक्षा मुद्दाहरूमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न चाहेको स्पष्ट पारेको छ ।
सन् २०२२ फेब्रुअरीमा आक्रमण गर्नुअघि पुटिनले सैन्य गठबन्धनलाई पूर्वका धेरै सदस्य देशहरूबाट आफ्ना सैनिक, उपकरण र आधारहरू हटाउन माग गरिरहेका थिए । ती मुलुक शीत युद्धको समयमा मस्कोको प्रभाव क्षेत्रमा थिए ।
कुनै पनि वार्ताले युक्रेन युद्ध रोक्ने सम्झौतामा पुग्ने सम्भावना अस्पष्ट छ । रुस र अमेरिका दुवैले यो बैठकलाई सम्भावित रूपमा लामो प्रक्रियाको सुरुआतको रूपमा हेरेका छन् ।
युक्रेन र रुस दुवैले क्षेत्रीय छुटहरू अस्वीकार गरेका छन् र पुटिनले गत वर्ष किएभलाई अझै बढी क्षेत्रबाट आफ्ना सैनिकहरू फिर्ता लिन माग गरेका थिए ।
afp
प्रतिक्रिया