प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो ।
जारी युद्धविराम सम्झौताको पहिलो चरणमा हमासले गाजामा बन्दी रहेका बाँकी ६ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको विज्ञप्तिमार्फत जनाइएको छ ।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको छ ।
हमासका एक वरिष्ठ अधिकारी तथा मुख्य हमास वार्ताकार खलिल अल-हयाले एक टेलिभिजन सम्बोधनमा चार शव बिहीबार हस्तान्तरण गरिने पुष्टि गरे । प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले ६ जना इजरायली बन्धकहरूलाई पनि मुक्त गर्ने उनले बताएका छन् ।
युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको थियो । पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ ।
प्रतिक्रिया