राजनीतिमा व्याप्त शत्रुजीव : अर्को विद्रोहको बीउ

राजनीतिमा व्याप्त शत्रुजीव : अर्को विद्रोहको बीउ


कुनैपनि क्रान्ति सामाजिक रूपान्तरणको साधन मात्रै हो । साध्यका लागि क्रान्ति उन्नायकको इमानी भूमिकाको खाँचो हुन्छ । क्रान्तिको प्रतिदान केवल सत्ताप्राप्ति होइन । सत्तामा पुगेपछि क्रान्तिकालीन प्रतिबद्धता र जमानबाट तिरोहित भएर सत्तालालची भएको खण्डमा निश्चित रुपमा विचलनको थालनी हुन्छ । त्यसमाथि पनि क्रान्तिका निम्ति बन्ने मोर्चाहरू स्वविचारधारा वा सैद्धान्तिक मौलिकताबाट अलग्गिएर यदि सत्ताप्राप्तिका खातिर सम्झौतामा उत्रन्छन् भने त्यो नेतृत्वको भूल हुन्छ । केही वर्ष यता नेपालका तीन प्रमुख दल त्यसरी नै वैचारिक आदर्श र सिद्धान्तबाट विरत तथा विचलित भएकै कारण तिनको आ-आफ्नो गन्तव्य धागो छिनेको चंगामा परिणत भएको छ ।

राजनीतिक सिद्धान्तलाई सत्ताका खातिर विसर्जन गर्ने र जनमतलाई सतही रूपमा मात्र बुझ्ने गल्तीले यतिबेला नेपाली राजनीतिमा ‘गठबन्धन’ प्रवृत्ति मौलाएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्र आफ्ना राजनीतिक मौलिकताबाट पर पुगिसकेका छन् र तिनको जनाधार कमजोर हुनुको अन्तर्य नै सत्ताको लुछाचुँडीमा तिनले अपनाएको ‘गठबन्धन’को शैली भएको छ । तर, तिनको त्यस्तो घरि-घरि फेरिइरहने सत्तामुखी गठबन्धन देश र जनताका हकमा नभएर सत्ताप्राप्तिको लालचमा केन्द्रित भएका कारण तिनले आ-आफ्नो दलीय मौलिकता र स्वपहिचान गुमाएका छन् ।

केही वर्षयता नेपालको कम्युनिष्ट आन्दोलन दिशाहीन छ; चाहे एमाले होस्, चाहे माओवादी (ती दुवै जो आफूहरूलाई कम्युनिष्ट राजनीतिमा मूलधार भएको दाबी गर्दछन्) । तर, तिनले खासगरी गणतन्त्रोत्तरकाल यता गुमाउँदै आएको जनाधारले ती दल सिद्धान्त र वैचारिक रुपमा स्खलित हुँदै आएको सिद्ध गर्दछ । ‘फरक मत’ राख्ने अन्य कम्युनिष्ट घटकहरूको अवस्था र हैसियत त चिहिलबिहिल छ । एकताका इण्डियन कम्युनिष्ट विचारक प्रो. रणधीर सिंहले नेपाली माओवादीहरूको मूल्याङ्कन गर्दै भनेका थिए- ‘एक यात्रा अघि बढ्दै थियो । तर, बीचैमा बाटो भुल्यो, गन्तव्य पनि बिर्सियो ।’ अर्थात्, नेपालमा कम्युनिष्ट आन्दोलनको मौलिकता रहेन; समाजका समस्याहरूको पहिचान र समाधानमा उनीहरू केन्द्रित रहेनन् । समाजवादी दोसल्ला ओढेका राजनीतिक भनिने दलहरू सत्ता स्वार्थ र अतिशय व्यक्तिगत महत्वाकांक्षाका कारण क्रान्तिको लक्ष्यबाट च्यूत भए, तिनले स्वपहिचान र शाख गुमाए ।

सत्तामा सिंहासनारुढ भएपछि शायद दलका नेतागणमा सैद्धान्तिक आदर्श र नैतिक मूल्य बाउन्ने हुन पुग्दछ । हिजो-अस्तिका क्रान्तिकारीहरू आज चरम सुविधाभोगी हुनु र ‘राज्य भनेकै मैं मात्र हूँ’ भन्ने दम्भ एकाएक पलाउनु काकताली हुन सक्दैन, त्यो नियोजित हो । तिनले आ-आफ्नो योग्यता, क्षमता र दक्षता देश तथा जनताको सर्वाधिक हितमा उपयोग गर्न सकेनन् । राजनीतिक परिवर्तनले दिएको म्याण्डेटलाई व्यक्तिगत महत्वाकांक्षामा अनुवाद गर्नेहरूको बाहुल्य हुन पुग्दा राजनीति फगत परिश्रमै नगरिकन सम्पत्ति लुँड्याउन पाउने आकर्षक व्यवसाय हुन पुगेको छ । र, सत्ता एवम् व्यवसायको कक्टेलले भ्रष्टाचार, तस्करी, माफियागिरी, दलाली प्रभृति गतिवान बन्ने मार्गप्रशस्त भइरहेको छ ।

जब नेतागण सत्ताको झेली-खेलाडी बन्न पुग्दछन्, तब राजनीतिक सिद्धान्त र आदर्श विसर्जन हुन पुग्दछ; भएको त्यही नै छ । यस परिप्रेक्ष्यमा नेपाली राजनीतिका पात्रहरूमा आत्मसमीक्षाको खाँचो टड्कारो देखिएको छ । आत्मसमीक्षा बिना सुधार सम्भव पनि छैन । हिजोका क्रान्तिहरू सामाजिक परिवर्तनको साधन नबनेसम्म राजनीतिप्रतिको वितृष्णा घनीभूत हुँदै नै जान्छ, नेपालमा भइरहेको त्यही छ । जुन देश र आम नागरिकका हकमा घातक त छँदैछ, स्वयम् ‘राजनीति गरिरहेका’हरूका निम्ति पनि प्रकारान्तरले आत्मघाती हुने पक्का छ ।

यसै पनि यो देशमा परिवर्तन ख्यालख्यालमा आएको होइन, जनताको महान बलिदानको प्रतिदान हो- आजको लोकतान्त्रिक गणतन्त्र । राजनीतिक परिवर्तन केवल सत्ता हस्तान्तरणका लागि किमार्थ थिएन र होइन । त्यो त विचार, दृष्टिकोण र समाज रूपान्तरणको यात्राका लागि भएको अगाध जनसमर्पण थियो । तर, केही वर्ष यता दलीय नेतृत्वगणले आजसम्म भएका राजनीतिक परिवर्तनहरूलाई आफ्नो बपौति वा बिर्ता ठान्ने दम्भ गर्दै पार्टीहरूलाई केवल ‘भजनमण्डली’को भीडमा रुपान्तर गरेका छन्, न कि जनताको अभिभावकका रुपमा ।

त्यसो भए अब क्रान्तिको उद्देश्य के हो ? क्रान्तिमा शहादत हुने नागरिकको मूल्य कति हो ? राजनीतिक परिवर्तनको उपलब्धि क-कसका निम्ति हो ? र, क्रान्ति वा विद्रोह सफल तुल्याउने सर्वसाधारण जनताले हासिल गर्ने हक चैं के हो ? अथवा, राजनीतिक यात्राको अन्तिम गन्तव्य के हो ?- यी यक्ष प्रश्नहरू आजपर्यन्त नसुल्झिने अनुत्तरित छन् ! यस्तो परिदृश्यका माझ समयले दिइरहेको सन्देश के मान्न सकिन्छ भने, राजनीतिमा व्याप्त शत्रुजीवहरूका विरुद्ध विद्रोहीहरू पुनः जन्मनेछन् र रक्तबीजसरह आगतका कुनै पनि समयमा इतिहास पुनः दोहोऱ्याउने छन् । यसलाई यसरी पनि अथ्र्याउन सकिन्छ- सम्भवतः जनताले गर्ने आन्दोलन वा विद्रोहको ज्वालामुखी उठ्न अझै पनि बाँकी नै छ ।