सिरहा जिल्लाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्व गृहराज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नेतृत्वमा अन्य राजनीतिकर्मीहरू पीडितको परिवारसँग भेटेका छन् ।
दलित समुदायमाथि दिनानुदिन हिंसा बढिरहेकोप्रति पूर्वगृह राज्यमन्त्री अन्सारीले जिल्लाको सिडिओ एसपी र कसैसँग दबाब र प्रलोभनमा नपर्न पीडित परिवार र समुदायलाई आग्रह गरे । उनले भने, ‘हामी चार दल र नागरिक समाज स्थलगत निरीक्षण गरी गाउँका मान्छे र पीडित परिवारका सदस्यहरुसँग सत्य र तथ्य बुझ्दा घटनाका प्रवृत्ति हेर्दा सामूहिक बलात्कार भएको देखिन्छ, घटनालाई लुकाउन र दोषीहरुले सजायबाट जोगिनका लागि हत्या गरेको जस्तो देखिन्छ । रिंकुको साथमा जे अन्याय भएको छ, बलात्कार भएको छ त्यसको दोषीलाई कानूनको दायरामा ल्याउन र कडाभन्दा कडा सजाय दिलाउन सम्बन्धित निकाय प्रहरीले कुनै कसर बाँकी राखे हामी सडकमा आन्दोलन गर्न बाध्य हुन्छौं ।’
गृह मन्त्रालयका निकायलाई नजिकबाट नै हेर्ने मौका पाएकाले प्रहरीले यथाशक्य ढिलोचाँडो पनि अभियुक्तहरूलाई प्रहरीले कानूनको दायरामा ल्याउन सफल हुने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाल मानवअधिकार आयोगको २०८० को प्रतिवेदन अनुसार, दलित समुदाय विरुद्धको हिंसा पछिल्लो ३ वर्षमा ४० प्रतिशतले बढेको देखिन्छ । यस्तो अवस्थामा, संविधानले गरिएको जातीय भेदभाव विरुद्धको कानूनको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको छ ।
पीडित परिवारलाई भेट्न मधेश प्रदेश सरकारको पूर्वगृह संचार तथा कानूनमन्त्री तथा मधेश प्रदेश सभा सदस्य विमला अन्सारीले जुन घटना रिंकुको साथमा भयो त्यो आफूले महसूस गरिरहेको जनाएकी छन् । ‘यी कुराहरूको पीडा आफ महिला भएकोले बुझ्नमात्रै नभइ महसुस पनि गर्न सकिरहेको छु । किनकि मेरी पनि छोरी छन् ।’
कुनै पनि जातिको भएपनि छोरी त छोरी हो नि.. भन्दै उनले यो कुरा आफूले प्रदेशको सदनमा राख्ने जिकिर गरिन् । अब संघर्ष त्यहीँबाट गर्ने उद्घोषका साथ पीडित परिवारलाई ढुक्क हुन उनले आश्वासन समेत दिइन् ।
केही दिनअगाडि सर्लाहीको सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे भएपछि पदीय दुरुपयोग गरि बहालबाला गृह मन्त्रीको निर्देशनमा नै प्रहरी महनिरीक्षकले डिएसपी र प्रहरी हवल्दार नै खटाएर पक्राउ गर्नेसम्मको हैसियत राख्ने प्रहरीले अहिलेसम्म रिंकुको घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म सिरहा प्रहरीले पक्राउ गर्न नसक्नुलाई प्रहरीको जिम्मेवारी माथी प्रश्नचिन्ह खडा भएको बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवानले आक्रोश व्यक्त गरे ।

उनले मंगलबार पीडित परिवारलाई भेट्न गएको बेला राति परेपछि पनि इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी विष्णुप्रसाद सोतीलाई प्रत्यक्ष भेटेर नै यो घटनालाई गम्भीर रूपमा हेर्न आग्रह गरेका थिए । साथै उनले यस्ता घटनाहरू हुनु भनेको सम्पूर्ण दलित समुदाय माथिको हिंसा रहेको बताएका थिए । समयमा नै पीडितले न्याय नपाए सडकदेखि सदनसम्म अवरुद्ध हुने उल्लेख गरेका छन् ।
बहुजन एकता पार्टी नेपालको अध्यक्ष हरिनन्दन अम्बेडकर, प्रकाश मेहरा केन्द्रिय सह महासचिव, नेपाल जनजागृती पार्टीको अध्यक्ष धुर्वलाल प्रसाद सहनी निषाद र महासचिव भुजेन्द्र पसाद सहनी नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले सबैले एकमुष्ट पीडित परिवारको साथमा आफुहरू जति बेला पनि कुनै ठाउँमा उभिन तयार रहेको बताए ।
घटना घटिसकेपछी दलित अभियन्ता राम सुफल सदाले घटनाको कुनै संचारमाध्यममा नआएपछि आफ्नो फेसबूकमा पत्रकारहरूलाई आग्रह गरेपछि मात्रै घटना स्थानीयदेखि राष्ट्रिय स्तरको संचारमाध्यममार्फत बाहिरिएको उनको भनाइ थियो । प्रहरी र राजनीतिकर्मीमाथि आक्रोश पोख्दै उनले लेखेका छन्, ‘चुनावको बेला भोट माग्न भोटरको खेत खलियान, माइत र ससुरालीसम्म पुग्ने नेताहरुको राजनीतिक पार्टीहरुले रिन्कु सदायको मृत्यु प्रकरणमा छानबिनको लागि माग नगर्नुलाइ के भन्ने ? अहिलेसम्म रिन्कु सदाय मृत्यु प्रकरणमा एक जनालाई पनि सोधपुछको लागि इलाका प्रहरी कार्यालय लहानले बोलाउन सकेको छैन । ‘घटनाका दोषीहरू फरार रहेका छन् भने यता उल्टै भगवतीपुर मुसहरी टोल पुरुषविहीन बनेका छन् । गवाही दिने डरले पुरुषहरू आफैं भागेका रहेछन् । यो समुदायले न्याय कसरी पाउला ?’
यसरी भएको थियो घटना
आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन्, तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् । ६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको जानकारी दिएकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुइँघर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभासमेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमारले बताए । तर, रकमको लेनदेन भएको विषय भने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरिरहेका छन् । उनले बलात्कारको घटना दबाउन भन्दै रकमको बार्गेनिङ भएको पुष्टि गरेका हुन् ।
प्रतिक्रिया