नेनाउ प्राधिकरण कर्मचारी युनियनको निर्वाचनमा ‘कुटनीतिक घम्साघम्सी’

नेनाउ प्राधिकरण कर्मचारी युनियनको निर्वाचनमा ‘कुटनीतिक घम्साघम्सी’


नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको निर्वाचनमा ‘कुटनीतिक घम्साघम्सी’ भइरहेको छ । निर्वाचनको अन्तिम दिन बिहीबार (८ फागुन) प्राधिकरणमा त्यस्तै देखिएको सम्बद्ध सुत्रले जनाएको छ ।

नेपालगञ्जमा नियमित हुन लागेको उद्दार तथा अग्नि निवारण अभ्यासको लागि काठमाडौंबाट जान लागेको लोकतान्त्रिक कर्मचारी संघनिकटका दुई जना प्रभावशाली कर्मचारीको बोर्डिङ्ग पास लिइरहेको अवस्थामा रोकिएका छन् । ती दुई कर्मचारीले नेपालगञ्जको निर्वाचन प्रभावित पार्न सक्ने आशंकाले उनीहरुको प्रस्थानमा ‘ब्रेक’ लागेको स्रोतले दाबी गरेको छ ।

नेपालगञ्ज जान लागेको समयमै ‘माथिबाटै’ प्रतिस्पर्धी कर्मचारी संगठनले रोक्न लगाएको आशंका स्रोतले गरेको छ । ‘निषेध पनि चल्न थालेको निर्वाचन रोचक पनि बनिरहेको छ’, काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेका कर्मचारी रोकिएको विषयलाई संकेत गर्दै प्राधिकरण उच्च स्रोतले भन्यो- ‘आज एउटा राम्रै ‘कुटनीतिक घम्साघम्सी’ भयो ।’

उक्त निर्वाचनमा पाँच वटा कर्मचारी संघ सङ्गठनहरु प्रतिस्पर्धामा रहेका छन् । उक्त सङ्घठनहरु मध्य तीन संगठनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलमा आवद्ध कर्मचारीका छाता संगठनहरु चुनावी मैदानमा उत्रिएका छन् । जसमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक कर्मचारी संघ, नेकपा एमालेनिकट कर्मचारी संगठन, माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् । त्यसैगरी, मधेश तराई कर्मचारी युनियन, कर्मचारी एकता मञ्च नामका मधेशकेन्द्रीत दलनिकट कर्मचारीहरु संगठनहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक कर्मचारी संघको नेतृत्व गणेशप्रसाद भुसालले गरिरहेका छन् भने कर्मचारी संगठनको नेतृत्व मीनप्रसाद खनाल र राष्ट्रिय कर्मचारी संगठनको नेतृत्व सुवास कोइरालाले गरेका छन् । त्यसैगरी मधेश तराई कर्मचारी युनियनको नेतृत्व अनिल गुप्ताले र कर्मचारी एकता मञ्चको तर्फबाट रतन दासले नेतृत्व गरिरहेका छन् ।

देशभर रहेका ७ तहमुनिका ६१३ मतदाताले मतदान गर्ने भएका छन् । यसैबीच लुम्लिङटार, लुक्ला र जोमसोम गरी तीन ठाउँमा बिहीबार नै निर्वाचन सम्पन्न भएको छ, जसमा लोकतान्त्रिक कर्मचारी संघ अगाडि रहेको लुम्लिङटारका एक मतदाताले बताए ।

नेपाल सरकारको श्रम तथा रोजगार कार्यालयले निर्वाचन गराउने उक्त निर्वाचन देशभरका सबैजसो मतदाताले निर्वाचनमा मतदान गर्ने विश्वास लिइएको छ । यस निर्वाचनमा कर्मचारी संगठनबीच मात्रै निर्वाचन हुने हुँदा जुन संगठनले जिते पनि सोहि संगठनको प्यानल नै आधिकारिक हुनेछ ।

संस्थागत विकास, पेशागत र कर्मचारीको हकहितका सवालका विषयमा सबै कर्मचारी संगठनले आ-आफ्ना चुनावी एजेण्डालाई अघि सारेपनि चुनावी परिणाम निर्वाचन अघि नै लगभग पक्कापक्की जस्तै रहेको कर्मचारीबृतमा कुराकानी भइरहेको छ । विभिन्न विमानस्थलहरूमा गरिएको मतदातासँगको साक्षात्कारमा कुल मतदाताको ५० प्रतिशत मतदाता लोकतान्त्रिक कर्मचारी संघलाई नै मत दिने बताउँछन् ।

मतादाताहरूले लोकतान्त्रिक कर्मचारी संघकै नेतृत्वमा अदालती प्रक्रियामा गएको विषयलाई किनारा लगाएर आम कर्मचारीलाई बोनस खुवाउन सफल भएको कारण पनि मतदाताहरू सकरात्मक रहेको पाइयो । चुनौतिपूर्ण यो विषयलाई सबै कर्मचारीहरुले यसको नेतृत्व गर्ने लोकतान्त्रिक कर्मचारी संघका तत्कालिन अध्यक्षप्रति आभार व्यक्त गरेका थिए ।

त्यस्तै राष्ट्रिय सभाबाट समेत पास भइसकेको प्राधिकरण टुक्राउने विधेयक रोक्ने कार्य, संस्थागत विकास तथा पेशागत हकहित र कर्मचारीको वृत्तिविकास जस्ता सवालमा व्यवस्थापनसँग कुनै प्रकारका सम्झौता नगरी पटक-पटक जोडदार माग उठाउँदै आएकाले पनि लोकतान्त्रिक कर्मचारी अलिक बढी लोकप्रिय रहेको मतदाताको भनाइ छ ।