उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन् । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो अभिव्यक्ति दिएका हुन् ।
अर्थमन्त्री पौडेलले भनेका छन्, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।’
ज्ञातव्य छ, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को शुक्रबार (९ फागुन) साँझ फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको हो ।
नेपाल ०८० साउनदेखि नै एफएटीएफको सूक्ष्म निगरानीमा थियो । तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि नेपाललाई सूक्ष्म निगरानीमा राख्दै एफएटीएफले सुधारका लागि एक वर्ष समय दिएको थियो, त्यो समय गत असोजमै सकिएको हो । त्यस अवधिमा अपेक्षित सुधार गर्न नसकेपछि नेपाल ‘ग्रे लिस्ट’मा परेको हो ।
file photo
प्रतिक्रिया