पटेल एफबीआई प्रमुख निर्वाचित

पटेल एफबीआई प्रमुख निर्वाचित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक शत्रुहरूलाई खेद्ने धम्की दिने ट्रम्पका कट्टर विश्वासपात्र काश पटेललाई रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले बिहीबार देशको सर्वोच्च कानुन कार्यान्वयन गर्ने निकाय एफबीआईको निर्देशकमा निर्वाचित गरेको छ।

पटेलको मनोनयनपछि डेमोक्र्याटिक्स पार्टीको चर्को विरोध भएपनि अन्ततः यो विरोध निरर्थक बनेको छ । उनलाई सिनेटले ५१–४९ मतले अनुमोदन गरेको छ ।

दुई रिपब्लिकन सिनेटर सुसन कोलिन्स र लिसा मुर्कोवस्कीबाहेक अन्य दुई रिपब्लिकन सिनेटरबाहेक सिनेटमा मतदान हुँदा दलगत आधारमा मत विभाजन भएको थियो ।

पटेल ३८ हजार सदस्यीय सङ्घीय अनुसन्धान विभागको प्रमुखका रूपमा निर्वाचित भएका हुन् ।

पटेलले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् (क्यापिटोल) मा आक्रमण गर्ने ट्रम्प समर्थक दङ्गाकारीहरूको बचाउ र रिपब्लिकन राष्ट्रपतिको विरोध गर्ने कथित ‘डिप स्टेट’ का सदस्यहरूलाई जरैदेखि उखेलेर फ्याँक्ने आफ्नो प्रतिज्ञाको लागि डेमोक्र्याट्सहरूबाट आलोचना खेप्नुपरेको थियो ।

डेमोक्र्याटिक सिनेटर डिक डर्बिनले सिनेटमा पटेलको मनोनयनको विरोध गर्दै निर्वाचनपूर्व संसदमा भएको बहसमा भने, ‘पटेल खतरनाक र राजनीतिक रूपमा ‘अतिवादी’ सोच राख्नुहुन्छ र उहाँले आफ्ना राजनीतिक शत्रुहरूविरुद्ध प्रतिकार गर्न हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण कानून प्रवर्तन एजेन्सी प्रयोग गर्ने आफ्नो इच्छा बारम्बार व्यक्त गर्नुभएको छ ।’

सिनेटले ट्रम्पको क्याबिनेटका सबै निर्णयलाई अनुमोदन गरेको छ । यसले रिपब्लिकन पार्टीमा ट्रम्पको पकडलाई स्पष्ट पारेको छ। पटेलले एफबिआईको निर्देशक बन्न पाएकोमा आफू गौरवान्वित भएको बताएका छन् । ‘अमेरिकी जनता पारदर्शी, जवाफदेही र न्यायप्रति प्रतिबद्ध एफबीआईको हकदार छन्उ’, नले भने- ‘हाम्रो न्याय प्रणालीको राजनीतिकरणले जनताको विश्वासलाई कमजोर बनाएको थियो तर त्यो आज समाप्त भएको छ ।’

राम्रो प्रहरीलाई थप जिम्मेवारी दिने र एफबीआईप्रतिका विश्वास पुनः निर्माण गर्ने निर्देशकको रूपमा आफ्नो अभियान हुने उल्लेख गर्दै उनले भनेका छन्, ‘अमेरिकीलाई हानि पुऱ्याउन खोज्नेहरुलाई यो चेतावनी मान्नुहोस् । हामी तिमीहरूलाई पृथ्वीको हरेक कुनामा गएर प्रतिकार गर्नेछौँ ।’