- कृष्णनगर प्रतिनिधि
कपिलवस्तुको कृष्णनगरबाट चरेससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले १४ किलो ७ सय ७४ ग्राम लागु औषध चरेससहित उनीहरुलाई पक्राउ गरेको हो ।
कृष्णनगर नगरपालिका–२ यात्रुगेट स्थित शंकास्पद रुपमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थाका प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट चरेससहित दुई महिला र एक पुरुष पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको थवाङ गाउँपालिका–५ का ४८ वर्षीया प्रेमसरी रोका, रुकुमको भुमे गाउँपालिका-२ का ३६ वर्षीया सरिता पुन मगर र रोल्पाकै उवा साविक गाविस हाल कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-९ का ६६ वर्षीय सुकलाल घर्ती मगर रहेका छन् ।
सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरेर पोका-पोका बनाइ बाहिरबाट सेतो कोरा कपडाले छोपी कम्मरमा बाँधेर लुकाइराखेको अवस्थामा प्रेमसरी रोकाको साथबाट ५ किलो ९ सय ६८ ग्राम, सरिता पुन मगरको साथबाट ५ किलो ६ सय ६८ ग्राम र सुकलाल घर्ती मगरको साथबाट ३ किलो १ सय २८ ग्राम चरेससहित मोबाइल ३ थान बरामद भएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक जना कारोबारी र बाँकी दुई जना भरिया रहेको खुल्न आएको छ।
प्रहरीले पक्राउ परेकाहरूलाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया