✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुन १३ गते तदनुसार फाल्गुन कृष्ण पक्षको द्वादशी तिथि १०ः३२ पर त्रयोदशी तिथि सन् २०२५ फरवरी २५ तारिख मंगलबार उत्तराषाढ़ा नक्षत्र व्यतिपात योग ०ः५ पर वरियान योग गर करण आनन्दादिमा मानस योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३४ मा भयो र सूर्यास्त साँझ १८ः३ मा हुनेछ । प्रदोषव्रत, त्रिपुष्कर १०ः३२ बजेसम्म ।
आजको राशिफल
मेष – उद्योग–व्यापारका कर्ममा सामान्य फाइदा मिले पनि आजको दिन मन खासै शान्त नरहन सक्छ । चिन्ता बढ्ने तथा धनमाल पनि हराउन सक्ने योग रहेकोले सजगताको दरकार छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा ध्यान दिनुहोला । कसैको अस्वभाविक प्रलोभनमा नपर्नु हितकर हुनेछ । अनावश्यक खर्च कटौतीका लागि प्रयत्न गर्नु उचित हुनेछ । मित्रजनसँग मिलाप हुनसक्छ ।
वृष – खर्च बढ्ने, लेनदेनमा विवाद हुनसक्ने समय हुनाले अत्यन्त सोचविचार गरेर व्यवहार गर्नुहोला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने दिन छ । नियमित कर्म एवम् जागिरमा भने उत्साहजनक समाचारले हर्ष बढाउला । आफन्त मिलनले सुख दिनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजनको आनन्द मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नाले मन उल्लसित रहला ।
मिथुन – दिन सुखदायी रहने देखिन्छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । व्यापारमा सफलता हातपर्ने र लाभदायी यात्रा गर्ने अवसर पनि मिल्ने देखिन्छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । आजको दिन खर्च भने केही वृद्धि हुनसक्छ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित हुनेछ । बौद्धिकता र रचनात्मकता वृद्धि भइ समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – यात्रागत कार्यमा सफलता मिल्ने, मान पुरस्कार प्राप्त हुनेछ तथा शत्रुपक्ष परास्त हुने समय छ । अधुरा काम बन्नाले मन सन्तुष्ट रहला । नोकरी तथा राजनीतिमा विशेष सफलता मिल्ने योग छ । गुरुजनको विशेष सहयोग जुट्नुका साथै धार्मिक अनुष्ठान तथा मंगलमय काम सम्पादन हुन सक्छन् । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने देखिन्छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । परिवारिक सुख र प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – नियमित काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुने समय छ । तर, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, गोपनीयतामा ध्यान दिइ आफ्नै विवेकले अघि बढ्ने प्रयत्न गर्नुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेकोले सजगताको विशेष दरकार छ । आजको दिन वादविवादको सामना नगर्नु नै हितकर हुनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित कर्म एवम् व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने समय छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर जुर्ने देखिन्छ । तथापि, आज आगो तथा मेसिनरी सामग्रीबाट जोगिनका लागि विशेष सजगता अपनाउनु हितकर होला । साथीसंगीको सहयोग मिल्नेछ भने प्रेमभाव वृद्धि होला । विपरीतलिंगीको सहयोगले कार्यगति बढ्ने योग छ ।
तुला – सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ भने धन आर्जनको दृष्टिले राम्रो समय छ । सामाजिक कार्यमा ब्यस्तता बढेपनि मान–सम्मान मिल्ने देखिन्छ । आरोग्यबल वृद्धि होला । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – नयाँ कामका स्रोत फेला पर्ने तथा एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । अप्रत्याशित लाभ हुने देखिन्छ । पढाइलेखाइमा प्रगति हुुका साथै नयाँ ज्ञान सिक्ने मौका जुर्ला । विशेष योजनाहरू बन्नसक्छन् । खर्च नियन्त्रणका लागि सजग रहनु उचित हुनेछ । आफन्तजनको साथ–सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । आरोग्यता रहनेछ ।
धनु – पीडा दिनेहरु सक्रिय रहने, अनावश्यक झमेलाले पछ्याउन सक्ने समय रहेकोले नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । गरिआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । महत्वपूर्ण योजना अघि बढाउने सोचमा हुनुहुन्छ भने केही समय थाती राख्नु उचित हुनेछ । मानप्राप्ति र मिठो भोजनमा रमाउने योग छ । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा मन आकर्षित रहनेछ ।
मकर – प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ नै हुने देखिन्छ । नियमित कर्मप्रतिको लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोगले दायित्व निर्वाहमा बल दिनेछ ।
कुम्भ – मेहनतले प्रतिस्पर्धाको दौड जिताउनसक्ने समय छ । सोचेभन्दा बढी नै लाभ हुने देखिन्छ । भौतिक साधन जुट्नेछन् भने निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । व्यापारमा पनि फाइदै हुने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।
मीन – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनत गर्दा विशेष सफलता प्राप्त होला । कर्मबल बढ्नेछ । नियमित कार्यमा पनि प्रशस्तै मन जाला । सुखद यात्राका साथै धनार्जनको योग छ । दाम्पत्यजीवन सुखद रहला । आफन्तको साथ मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता हासिल होला ।
प्रतिक्रिया