दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार (२५ फेब्रुअरी) शुरु भएको छ ।
न्यायाधीशहरूले उनलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।
युनले गरेको ‘नागरिक शासन’को अल्पकालीन निलम्बन (मार्शल ल लगाउने निर्णय)ले दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा फसाएको थियो र डिसेम्बरमा संसदले उहाँविरूद्ध महाभियोग लगाउँदै पदबाट हटाउने निर्णय गरेको थियो ।
विद्रोहको आरोपमा गत महिना पक्राउ परेदेखि नै ६४ वर्षीय निलम्बित राष्ट्रपति युन जेलमा छन्, यसका लागि उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय समेत हुन सक्छ । उनको मुद्दा गत सातादेखि सुरु भएको थियो ।
सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मङ्गलबारको अदालती सत्र उहाँको सुनुवाईको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाईको आधारमा आठ जना न्यायाधीशले उहाँको भाग्यको अन्तिम फैसला गर्नेछन् ।
एएफपीले जनाएअनुसार स्थानीय समयानुसार अपराह्न २ः०० बजे युनको अनुपस्थितिमा नै मुद्दाको सुनुवाइ सुरु भएको थियो । सुनुवाइका लागि सत्तारुढ दल पिपुल्स पावर पार्टीका केही सांसद भने उपस्थित थिए ।
सन् २०२४ मा अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्ध संयुक्त राज्य अमेरिकाको फैसलालाई नजिर बनाउँदै युनको प्रतिरक्षा टोलीले अपदस्थ राष्ट्रपतिलाई ‘आफ्नो मूल संवैधानिक अधिकार प्रयोग गरेको’ ले दण्डित गर्न नमिल्ने तर्क गरेको थियो।
युनका वकिल ली डोङ चानले उक्त फैसलालाई महाभियोगको प्रक्रियाका सन्दर्भमा विचार गर्नुपर्ने बताएका थिए । मङ्गलबार युनका वकीलहरूले निलम्बित राष्ट्रपति युनको प्रतिरक्षामा अन्तिम तर्क प्रस्तुत गर्ने अपेक्षा गरिएको छ भने संसदका प्रतिनिधिहरूलाई उहाँलाई हटाउनका लागि मुद्दा प्रस्तुत गर्न समय दिइएको छ।
अदालत बाहिर यूनसमर्थक प्रदर्शनकारीले ‘महाभियोग हटाउनुहोस्’ भन्दै नाराबाजी गरेका थिए ।
केहीले चिनियाँ कम्युनिस्ट पार्टी र उत्तर कोरियाको निन्दा गर्ने साइनबोर्ड राखेका थिए । युनका केही समर्थकले चीन र उत्तर कोरियामाथि बिना प्रमाण दक्षिण कोरियाली चुनावमा विपक्षीको फाइदाका लागि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
सन् २०२० को चुनावमा जो बाइडेनसँग पराजित हुँदा अमेरिकी राष्ट्रपति ट्रम्पले मतदातालाई धाँधली गरेको झुटो दाबी गरेको प्रतिविम्बित गर्दै अन्यले ‘स्टप द स्टिल’ लेखिएको साइनबोर्ड बोकेका थिए । युनको भाग्यबारे आउने फैसला मार्चको मध्यतिर आउने अपेक्षा गरिएको छ ।
यसअघि महाभियोग लगाइएका राष्ट्रपतिहरू पार्क ग्युन हे र रोह मू ह्युनले आफ्नो भाग्यको फैसलाका लागि सुनुवाई सकिएको क्रमशः ११ र १४ दिन पर्खनुपरेको थियो ।
यदि युनलाई पदबाट हटाइयो भने ६० दिनभित्र देशमा नयाँ राष्ट्रपतीय निर्वाचन हुनुपर्नेछ ।
प्रतिक्रिया