महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको दर्शन/अवलोकन गरेका छन् ।
पशुपतिनाथ मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे प्रधानमन्त्री ओलीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी पनि लिएका छन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए ।
प्रधानमन्त्रीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए ।
हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रशन्नता व्यक्त गरेका बताइएको छ ।
महाशिवरात्रिको अवसरमा बुधबार (१४ फागुन) पशुपतिमा भव्य मेला तथा पूजाअर्चना हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।
photo: rss
प्रतिक्रिया