✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुन १४ गते तदनुसार फाल्गुन कृष्ण पक्षको त्रयोदशी तिथि ९ः४७ पर चतुर्दशी तिथि तद्अनुसार सन् २०२५ फरवरी २६ तारिख बुधबार श्रवण नक्षत्र परिघ योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ मा भयो र सूर्यास्त साँझ १८ः२ मा हुनेछ । महाशिवरात्रि व्रत ।
आजको राशिफल
मेष – आजको दिन व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ भने आयआर्जनका स्रोत भेटिनेछन् । तथापि, बिनाकारण अनेक चुनौतीको सामना गर्नुपर्ने योग छ । आत्मविश्वास दह्रिलो तुल्याइ अवसरको फाइदा उठाउने प्रयत्न गर्नुहोला । कृषिकर्म र उद्योगधन्दामा लगानी वृद्धि गर्न सकिनेछ, जसले दीगो आम्दानी दिलाउन सक्छ । मित्रजनसँग आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ ।
वृष – व्यवहारिक अनुभवले ज्ञानको दायरा बढ्ने तथा रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्नसक्ने समय छ । कर्मयोगमा अभिवृद्धि भइ व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । पैत्रिक सम्पत्तिमा विवाद आउने सम्भावना छ, विवेकपूर्ण व्यवहार गर्नु उचित हुनेछ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ, तर जित तपाईंकै हुनेछ । धर्मकर्ममा आकर्षण रहला । यात्रापरक काम बन्नेछ ।
मिथुन – प्रियजनसँग भेटघाट र प्रशन्नताको समय छ । तर, महत्वपूर्ण काममा अरुको भर नपर्नु उचित हुनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइनेछ भने विभिन्न उपहार समेत हासिल हुने योग छ । प्रेम सम्बन्धमा एक्लोपनाको अनुभूति हुनसक्छ । विवाद, धनहानी, फजुल लाञ्छना जस्ता समस्या आउन सक्छन् । तथापि, पराक्रममा कमी हुनेछैन । यात्रामा सफलता प्राप्त हुनेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ भने आश मारेको काम बन्नाले उत्साह वृद्धि होला । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्ने योग छ । प्रतिकुलताका बाबजुद परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – रोकिएका काम बन्ने तथा बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुने समय छ । विद्यार्थीहरूका लागि विशेष अनुकूल समय छ । प्रेम र मित्रताको बन्धन कसिलो बन्ने देखिन्छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने योग छ । स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति होला । तथापि, रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । समाजसेवा र परोपकारका कार्यमा मन जाला । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्नेछ । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको सम्भावना छ । आयआर्जनसम्बन्धी कामम मित्रजनको सहयोग प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
तुला – रोकिएका काम सुरु हुनेछन् भने सन्तानपक्षबाट लाभ र सन्तोष मिल्ने समय छ । तर, आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ । काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने सम्भावना छ । झुटा आरोप आइलाग्न सक्छन्, सजग रहनुहोला । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । यात्रागत कार्य सार्थक रहनेछ । प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिन्छ । यशवर्चश्व बढ्नेछ ।
वृश्चिक – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ, तर धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने देखिन्छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । महत्वपूर्ण कार्यमा आफन्तको साथ-सहयोग प्राप्त हुनेछ । समर्थ्य बढ्नेछ । मिठो भोजन प्राप्त होला । स्वास्थ्य सबल रहनेछ । बौ४िक कार्य तथा शिक्षामा राम्रो प्रगति हुने देखिन्छ ।
धनु – प्रतिष्पर्धीले अवरोध गर्न खोजेपनि रोकिएका काम बन्नथाल्ने समय छ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै होला । मित्रजनले साथ दिनेछन्, खासगरी विपरीतलिंगीको सहयोगले काम बन्ने देखिन्छ । पढाइमा अनुकूल समय रहनुका साथै नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार–व्यवसाय विस्तार होला । विश्वासमा पारेर धोका दिनेहरूप्रति सतर्क रहनु हितकर हुनेछ ।
मकर – परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । परिवारिकसुखले उत्साह वृद्धि गर्ला । आफन्तको साथ र पारिवारिक समस्याको समाधान मिल्नेछ । तथापि, व्यवसायिक साझेदारीमा चिसोपन आउन सक्छ, सजग रही कारोबार गर्नु हितकर होला ।
कुम्भ – बुद्धिको उपयोगले काम लिने समय हुनुका साथै प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिएला । आजको दिन नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । स्थायी सम्पत्ति जोड्ने योग छ । तथापि, बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने सम्भावना पनि रहेकोले बुद्धि-विवेकको सही उपयोगको प्रयास गर्नु उचित होला । रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ ।
मीन – रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने दिन छ । भाग्य बलवान् रहला । आध्यात्मिक एवम् व्यवसायमूलक भ्रमणको सम्भावना पनि छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । कर्मबल बढ्नाले आय वृद्धि हुने देखिन्छ । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया