भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन् ।
गत वर्ष मे महिनामा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन् । लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनीत भएका हुन् । अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा सारुले मेयर नियुक्त भई पदभार ग्रहण गर्नेछन् ।
बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाको तर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भने, ‘औपचारिक रूपमा मेयरको शपथ मे महिनामा हुन्छ । खुसीको क्षण हो बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पुऱ्याउने अवसर मिलेको छ ।’ काउन्सिल इतिहासमा उनी पहिलो गोर्खा मेयर बन्न लागेका हुन् । सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन् ।
मेयर हुने पक्का भएपछि उनले भनेका छन्, ‘नेपाली भएर पनि बेलायतमा राजपरिवारको तर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु ।’
झण्डै तीन दशक ब्रिटिश आर्मीमा सेवा गरेका सारुमगर हाल ब्रिटिश गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत हुन् । सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त भएका व्यक्ति हुन् ।
बेलायतमा सन् २०१७ देखि ‘सारू इम्ब्रोइडरी’ नामक व्यवसाय चलाइरहेका सारूको जन्म पाल्पामा भएको हो ।
photo: rss
प्रतिक्रिया