अमेरिकाले पचास लाख डलरका दरले १० लाख ‘गोल्ड कार्ड’ भिसा बेच्ने ट्रम्पको घोषणा

अमेरिकाले पचास लाख डलरका दरले १० लाख ‘गोल्ड कार्ड’ भिसा बेच्ने ट्रम्पको घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ (आवासीय अनुमति) ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन् । परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण यस नयाँ भिसाको बिक्रीबाट अमेरिकामा रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने ट्रम्पले जनाएका छन् ।

‘हामी ‘गोल्ड कार्ड’ भिसा बेच्ने तयारी गरिरहेका छौँ । त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर राख्ने तयारी गरिरहेका छौँ’, ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भनेका छन् ।

आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने तर्क गरेका छन् । ‘धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्, उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्ने कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू नै हुनेछन्’, राष्ट्रपति ट्रम्पको जिकिर छ ।

करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरु हुने जानकारी दिँदै ट्रम्पले भनेका छन्, ‘हामी यी कार्डहरूमध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौं । हामीले यो सबै काम अमेरिकी कानुनअनुरूप नै गरेका छौं ।’

उनले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने उल्लेख गर्दै धनी रुसीहरुले पनि आवेदन दिनेसक्ने सम्भावना रहेको औंल्याए । ‘म केही रूसी कुलीन वर्गहरूलाई चिन्दछु जुन धेरै राम्रा मानिस हुन्, त्यसैले यो सम्भव छ’, ट्रम्पको भनाइ छ ।

तीन वर्षअघि मस्कोले युक्रेनमाथि आक्रमण गरेयता थुप्रै रुसी कुलीन वर्गपश्चिमी प्रतिबन्धको चपेटामा परेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताए ।

ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डको बारेमा भने, ‘हामी त्यो पैसा हाम्रो घाटा कम गर्न प्रयोग गर्न सक्छौँँ ।’ लामो व्यावसायिक करियरमा होटल र क्यासिनोको शृङ्खलाबद्ध ब्रान्डिङ गरेका ट्रम्पले नयाँ कार्डको नाम पनि आफ्नो नाममा राख्न सकिने सुझाव उनको छ ।