हराएको पाँच महिनामा फेलापऱ्यो निशा लामाको कङ्काल

हराएको पाँच महिनामा फेलापऱ्यो निशा लामाको कङ्काल


काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा-११ को ३८ वर्षीया निशा लामा हराएको करिब पाँच महिनापछि उनको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले धुलिखेल नपा-६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धानसमेत थालेको छ । लामा गत असोज १५ गतेदेखि हराएकी थिइन् ।

सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान राइफल लामाले प्रहरीमा खोजविनका लागि निवेदन दिएका थिए । निशाको कङ्काल बुधबार (१४ फागुन) दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा फेलापरेको थियो ।

निशाको कङ्कालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कङ्काल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गरेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।

कुँवरका अनुसार निशाका श्रीमान् लामाले रन्जितकारविरुद्ध जाहेरी दर्ता गरेका र जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ । रञ्जितकारले भने निशाले आफूलाई ‘जबर्जस्तीकरणीको अभियोग’ मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशील अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ । निशाका दुई छोरा र एक छोरी छन् ।

सुक्खा पहिरोले एक जनाको मृत्यु

सुक्खा पहिरो जाँदा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा आज (१५ फागुन) एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आइ भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, भुम्लु गाउँपालिका–१ सापिङमा ३५ वर्षीय श्रीकृष्ण गिरी मृत फेला परेका छन् । घरदेखि अन्दाजी डेढ किलोमिटर पश्चिमतर्फ आङ्गे खोल्सास्थित भीरबाट करिब ३५ मिटर तल मृत भेटिएको प्रहरीले जनाएको छ । गिरीको टाउको र शरिरमा चोटपटक देखिएकाले घटनाको अनुसन्धान भइरहेको प्रहरी निरिक्षक कुँवरले बताए ।

symbolic image