भारत उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार (२८ फेब्रुअरी) ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेकोमा शुक्रबार साँझसम्ममा ३२ जनाको उद्धार गरिएपनि पच्चीस जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेको समय एक्कासी हिमपहिरो आउँदा उल्लिखित संख्यामा मजदूरहरु हिउँभित्र फसेका जानकारी दिएका हुन् ।
बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको उल्लेख गर्दै भनेका छन्, ‘तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ ।’
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको जानकारी दिँदै आईटीबीपी, बीआरओ र अन्य उद्धार टोलीहरूद्वारा राहत र उद्धार कार्यहरू भइरहेको बताएका छन् ।
प्रतिक्रिया