भैंसीका अगाडि मुरली !

भैंसीका अगाडि मुरली !


पङ्क्तिकारलाई थाहा छ- यो आलेख लेखेर भैंसीका अगाडि मधुरस्वरले मुरली बजाउने उपक्रम गरिरहेको छु । स्वार्थी, लोभी, आफ्ना कार्यकर्ताले गरेको कुकर्म नदेख्ने, नबोल्ने र नसुन्ने अनि मिलोमतो गरेर राष्ट्रलाई घात गर्ने राजनैतिक नेतृत्वलाई गालीगलौज गर्नुभन्दा भैंसीका अगाडि मुरली बजाए धेरै बेस ! अद्यावधिक अनुसन्धानहरूले दुधालु पशुका आगाडि मुरलीजस्ता बाद्ययन्त्र बजाउँदा दूध धेरै दिन्छन् भनी चर्चा भएको छ । गणतन्त्र वा लोकतन्त्रका नाममा सधैं जनतालाई ‘ब्ल्याकमेलिङ’ गर्ने समूहका अगाडि सुकर्मको मुरली बजाउनुको कुनै तुक छैन । कदाचिद् भैंसीको अगाडि मुरली बजाउँदा केही बुँद दूध बढ्न सक्ला, बालुवा पेल्दा तेल निस्कन सक्ला तर गणतन्त्र, लोकतन्त्रजस्ता मिठा शब्दजालमा जनतालाई झुक्याउन पल्केकाबाट सुशासन र ब्यवस्था निर्माणका लागि पहल होला भनेर आश गर्नु पर्दैन ।

सायद नेपाली जनताले कि भ्रष्टाचारीलाई चिनेर भोट दिएर सत्तामा पुऱ्याउन छोड्नुपऱ्यो होइन भने सुखदुःख, आशा–निराशा, प्रगतिजस्ता शब्दका शहरमा चलेको राजनैतिक आस्थाबाट मुक्त भएर यथास्थितिवादलाई अङ्गीकार गर्दै चियापसलहरूमा राजनैतिक दल, नेता तथा दलीय परिपाटीप्रति अनास्था व्यक्त गर्न छोड्नु पऱ्यो ।

नेतृत्वले आफ्ना भ्रष्ट्राचारी कार्यकर्ताहरूलाई जोगाउँदा-जोगाउँदा लोकतन्त्र, बहुदलीय प्रणालीप्रति नै चरम असन्तुष्टि, घृणा तथा अनास्था बढेको छ, जसले नेपालको आस्तित्वमा नै प्रश्नचिह्न उठ्न सक्छ । भागबण्डामा पल्केको नेतृत्वले प्रजातान्त्रिक संस्कार, उदारतावाद, धर्मनिरपेक्षताको र सर्वोत्तम गणतन्त्रको रोइलो गर्दैमा असन्तुष्टि घट्दैन । यस्तै रह्यो भने गणतन्त्रले आफ्नो चिहान आफै खनिरहेको छ भनेर बुझ्नु अनुचित हुँदैन ।

नेपालमा मिलोमतोको कुनै सीमा छैन । एउटा मोटरसाइकलमा २३७ प्रतिशत ट्याक्स लगाएर नेपाली जनताको पैसा चुस्ने यातायात विभागले समयमा जाबो लाइसेन्स दिन सक्दैन । वास्तवमा सक्ने वा नसक्ने विषयभन्दा माथिल्लो तहको विषय हो । समयमा लाइसेन्स नदिनुको कारण मिलोमतो हो । यदि अब्यवस्थाले मिलोमतोलाई नाफा हुन्छ भने किन व्यस्थापन गर्ने ? वास्तवमा लोकतन्त्रपछि सिंहदरबाार गाउँ-गाउँमा पुगेको मात्र होइन सिंहदरबार र नारायणहिटीसम्म सीमित भ्रष्ट्राचार पनि सँगै गएको हो ।

काम गर्नेले गल्ती गर्छ, काम नै नगर्नेले गल्ती पनि गर्दैन । गणतन्त्रको नेतृत्व एतिबिघ्न निर्लज्ज छ कि नाङ्गा आँखाले देख्ने, बुझ्ने र सुन्नेगरी कार्यकर्ताहरू गन्हाउँदा पनि गल्ती स्वीकार्न सक्दैन । जनतासँग क्षमायाचना गर्न सक्दैन उल्टो प्रश्न गर्नेहरूलाई ‘गणतन्त्रको शत्रु’ भन्दै गणतन्त्रका नाममा आफ्नो र आफ्नाका कुकर्महरूको बचाउ गर्छ । मानसिकता नै खराव भएपछि कसैको केही लाग्दैन । ननिदाएर पनि निदाएको अभिनय गर्नेहरूको उपचार दण्डबाहेक केही हुनै सक्दैन । लोकतन्त्र, गणतन्त्र वा प्रजातन्त्रको रोइलो गर्दै आफ्ना कुकर्म लुकाउने प्रयत्न गर्नेगर्दा देश ‘ग्रे-लिस्ट’मा परेको छ तर गणतन्त्रलाई दुख्दैन !

गणतन्त्र वा लोकतन्त्रको नाममा नेतृत्व एतिबिघ्न निर्लज्ज र संवेदनहीन हुन सक्छ भन्ने तत्थ्य नेपालीहरूले बल्ल थाहा पाउँदैछन् । वास्तविकता के हो भने राजतन्त्रको बिदाइ होस् वा माओवादीको स्वागत; जनताले विकास, सुशासन तथा जीवनस्तर उठाउनका लागि गरेका थिए । गणतन्त्रको नाममा जनतालाई सधैं मूर्ख बनाउने मानसिकता भएकाहरूले ‘विकास भएको, बोल्न पाएको आदि’ भन्दै बचाउ गर्ने नै छन्, तर सक्रिय राजतन्त्र भएको समयको विश्व र अहिलेको नेपाली जनता धेरै बदलिएको छ भन्ने तत्थ्य पनि याद गर्नुपर्छ । आजको मितिमा राजतन्त्रले के दिएको थियो भन्ने प्रश्न भन्दा पनि गणतन्त्रका नाममा जनताले के भोग्नु परिरहेको छ भन्ने तत्थ्य महत्वपूर्ण हो । विश्वको कुनै पनि मान्छे इतिहासमा फर्कन सक्दैन । यदि वर्तमानप्रति असन्तोष भयो भने त्यसैलाई उखेलेर फ्याँक्छ । जतिसुकै गणतन्त्रका नाममा रोइलो गरे पनि ब्ल्याकमेलिङ गरे पनि जोगिने छैन । व्यबहार सुधार, सुधारिएको गणतन्त्र स्वतः स्थायी हुन्छ ।

माइकल मनले लेखेको एउटा किताब छ- ‘डार्क साइत अफ डेमोक्रेसी’ ! नेपाली नेताले यो किताब पढ्न रुचाउने छैनन् । अमेरिकी, एसियाली, अफ्रिकेली मुलुकहरू मध्ये जो-जसले डेमोक्रेसीको युरो-अमेरिकी मोडल अपनाएका छन्, कुनै पनि सफल छैनन् । गरिव राष्ट्रहरूका लागि ‘लोकतान्त्रिक ब्यवस्था’ मानसिक रोग हो जसले राष्ट्ररुपी शरीरलाई सधैं लोकतन्त्र, गणतन्त्र वा प्रजातन्त्रका नाममा बन्धन बनाइरहेको छ । उन्नत लोकतन्त्रको उन्नति केवल सम्भ्रान्त तन्त्रलाई पुग्छ, सर्वसाधारण जनतालाई ‘लोकतन्त्र सबैभन्दा उन्नतम् ब्यवस्था हो’ को उपदेश सुनेर आशावादी बन्नुको विकल्प दिँदैन । नेपाली, श्रीलंका, पाकिस्तान, भारत, थुप्रै अफ्रिकेलो मुलुकहरू लोकतन्त्रको उन्नत समाजको सपना देखाउने बाहेक झिङ्गो मार्दैन । नेपालीले विदेश हेर्नु पर्दैन, नेपाल बुझे पुग्छ ।

अधिकार र स्वतन्त्रता मानवीय स्वभाव हो तर राष्ट्रका रूपमा नियमनको विकल्प हुँदैन । अधिकारका नाममा कित्ताकाट गर्ने, स्वतन्त्रताका नाममा आफ्नो छिमेकीविरुद्ध घृणा व्यक्त गर्ने, सधैं इतिहासलाई गालीगलौज गरेर आफ्नो घृणित सत्ता जोगाउने र सत्तामा पुगेपछि जनताको भलो होइन ‘साहु’हरूको खुसीलाई महत्व दिने (युरो-अमेरिकी साहु) डेमोक्रेटिक चरित्र लुकेको छैन । नेपालको हकमा भने त्यसभन्दा पनि विचित्र छ- एकल राजनीति ! एकल राज्य आदिमा विश्वास गर्ने साम्यवादीहरूले नै लोकतन्त्रको कुरा गर्छन्, चुनाव लडेर ‘सबैभन्दा भन्दा उन्नत लोकतान्त्रिक पद्धतिको पक्षमा वकालत’ गर्छन् । राजनीति गर्नेले तर्क गर्छन् तर कम्युनिस्टले लोकतन्त्रका पक्षमा गर्ने जुनसुकै तर्क कुतर्क नै हुन् । नेपालमा उन्नति, विकास, स्वतन्त्रता, धर्मनिरपेक्षताका नाममा कुतर्क भएका छन् ।

सिंहदरबार गाउँ-गाउँ पुऱ्याउने बाचा गरेर आएका चुनावी नेतृत्वहरूले राजकीय शक्तिको केन्द्र सिंहदरबारलाई गाउँ-गाउँ पुऱ्याएको अर्धसत्यका सधैं नारायणहिटी र सिंहदरबारभित्रको गन्हाएको भ्रष्टाचारलाई पनि गाउँ-गाउँमा विस्तारित गर्न सफल भएका छन् । सायद, सबैभन्दा गणतन्त्र, लोकतन्त्र वा प्रजातन्त्र गाउँ-गाउँमा पुगेको सिंहदरबारमा आएको छ जहाँ खुलेआम (पार्टीका नाममा) जे-जस्तो भ्रष्टाचार गरेपनि क्षम्य छ । तलका सिंहदरबारमा खुलेआम भ्रष्टाचार र माथिल्लो तहको सिंहदरबारमा नीतिगत भ्रष्टाचार गतिलै मौलाएको छ । जनताहरू कहिले राजतन्त्र, कहिले लोकतन्त्र र कहिले प्रजातन्त्रको माखेसाङ्ग्लोमा फँसेका छन् ।