राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीचको भेटघाट ‘तिक्त’ : चर्को बहसपछि अमेरिकी राष्ट्रपतिले भने- ‘युक्रेनले युद्ध जित्न सक्दैन !’

राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीचको भेटघाट ‘तिक्त’ : चर्को बहसपछि अमेरिकी राष्ट्रपतिले भने- ‘युक्रेनले युद्ध जित्न सक्दैन !’


विश्वभरबाट चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच वाशिङ्टन डीसीमा भएको भेटवार्ता चर्को बहसमा परिणत भइ तनावपूर्ण बनेको छ । वार्ताका क्रममा तनाव बढेपछि जेलेन्स्कीलाई प्रश्न गर्दै ट्रम्पले ‘तपाईंको मनोवृत्ति आवश्यक सम्झौता गर्ने प्रकृतिको देखिएन, यस्तो रवैयाले युक्रेनले रूससँग युद्ध जित्न सक्दैन’ भन्दै चेतावनी दिएका अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीलाई ‘अपमानजनक’ व्यक्तिको रूपमा औंल्याएका छन् ।

यसअघि, जेलेन्स्कीले ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनसँगको शान्ति वार्तामा ‘कुनै सम्झौता’ हुन नहुने बताएका थिए । जेलेन्स्कीको धारणा बुझेपछि राष्ट्रपति ट्रम्पले ‘यदि मैले आफूलाई रूस र युक्रेनको बीचमा राखिनँ भने तपाईं (जेलेन्स्की)ले कहिल्यै सम्झौता गर्नुहुनेछैन’ भन्ने चेतावनीयुक्त अभिव्यक्ति दिनुपरेको बताइएको छ ।

‘तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ भने अर्को पक्ष (रुस)लाई पनि मन पर्ने त केही छैन । तपाईं मलाई कडा बनाउन चाहनुहुन्छ, र म संसारको अरू कोही पनि भन्दा कडा हुन सक्छु । तर, तपाईंले त्यसरी त सम्झौता गर्न सक्नुहुन्न’, राष्ट्रपति ट्रम्पको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

ट्रम्प–जेलेन्स्की भेटघाटको क्रममा तनाव तब सुरु भयो जब जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति भान्सलाई सोधे कि उनी कस्तो प्रकारको कूटनीतिको बारेमा कुरा गर्दैछन् ? जवाफमा, भान्सले भने, ‘म त्यस्तो कूटनीतिको बारेमा कुरा गर्दैछु जसले तपाईंको देशमा भइरहेको विनाशलाई रोक्न सक्छ ।’

जेलेन्स्कीको अशिष्ट शैलीको रवैयाबाट रुष्ट बन्न पुगेका भान्सले ‘के तपाईंले बैठकको क्रममा एक पटक पनि धन्यवाद भन्नुभयो ?’ भन्ने सवालसमेत गरेका थिए । यसको जवाफमा जेलेन्स्कीले ‘मैले धेरै पटक धन्यवाद भनेको छु’ भन्ने जवाफ दिएका थिए ।

यसक्रममा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई सम्झाउने गरी पनि भने, ‘युक्रेन ठूलो समस्यामा छ । तपाईं यसलाई जित्न सक्नुहुन्न । तर यदि तपाईं हाम्रो साथमा हुनुहुन्छ भने तपाईंलाई समस्याबाट बाहिर निस्कने मौका छ ।’

वार्ताका क्रममा ट्रम्पले अगाडि भने, ‘हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौं । हामीले तपाईंलाई सैन्य उपकरणहरू दिएका छौँ । यदि हामीले सैन्य सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामै समाप्त हुने थियो ।’

‘तपाईंको मनसाय युद्धविराम गर्ने देखिएन’ भनी राष्ट्रपति ट्रम्पले औंल्याएपछि जवाफमा जेलेन्स्कीले ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।