ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शान्तिवार्तामा चर्काचर्की परिेपछि युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीले अमेरिकी टेलिभिजन फक्स न्यूजसँग बोल्दै अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने प्रतिक्रिया दिएका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पसँगको सम्बन्धलाई बचाउन सकिन्छ कि भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले ‘पक्कै पनि’ भन्ने जवाफ दिएका हुन् ।

अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपति भन्दा बढी’का लागि रहेको भन्दै जेलेन्स्कीले रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा युक्रेनलाई वासिङ्टनको सहयोगको खाँचो रहेको बताए ।

जेलेन्स्कीले ट्रम्पको मनपर्ने समाचार च्यानल फक्ससँग भने, ‘अमेरिका र ट्रम्पको समर्थनबिना यो यात्रा पक्कै कठिन हुनेछ।’

राष्ट्रपति ट्रम्पले शुक्रबार पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले ‘बढी खेलिरहेको’ र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताएका थिए ।

तपाईं ट्रम्पसँग माफी माग्न चाहनुहुन्छ त भन्ने प्रश्नमा जेलेन्स्कीले अस्वीकार गर्दै फक्स न्यूजसँग भने, ‘हामीले केही नराम्रो गरेका छौँ भन्ने मलाई लाग्दैन । यद्यपि, उहाँ (ट्रम्प)ले पत्रकारहरूको अगाडि विवादको विषयलाई धेरै आदानप्रदान नहोस् भन्ने आफूले चाहेको बताउनुभएको थियो ।’

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीलाई ‘हाम्रो समय खेर फालेकोमा माफी माग्न’ आग्रह गरेका छन् ।