बोलिभियाको दक्षिणी भागमा रहेको राजमार्गमा दुई यात्रुवाहक बस ठोक्किँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको छ । यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ ।
पोटोसी विभागमा उयुनी शहरनजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, ‘हालसम्म हामीले ३७ मृत्युको पुष्टि गरेका छौँ ।’ अन्य ४१ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
मारिनेमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित ६ जना विदेशी नागरिक थिए । अन्य सात नाबालकको पनि मृत्यु भएको छ । दुर्घटना शनिबार बिहानै एक साँघुरो दुईतर्फी सडकमा भएको थियो ।
यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो शहरतर्फ जाँदै थियो । ओरुरो कार्निभल दशौँ हजार मानिसलाई आकर्षित गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो उत्सवहरू मध्ये एक हो ।
दुईमध्ये एक बसका चालकले मदिरा सेवन गरेको र तीव्र गतिमा विपरीत लेनमा पुगेर आउँदै गरेको सवारीसँग ठोक्किएको जनाइएको छ ।
बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन् । सरकारी तथ्याङ्कअनुसार करिब एक करोड २० लाख जनसङ्ख्या भएको देशमा सडक दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार चार सय जनाको मृत्यु हुने गरेको छ ।
बोलिभियन अब्जरभेटरी अफ सिटिजन सेक्युरिटीका अनुसार दक्षिण अमेरिकी यस देशमा मृत्यु भएका सबै ट्राफिक दुर्घटनाहरूको १०.६ प्रतिशत पोटोसीमा हुने गर्छ ।
प्रहरी प्रतिवेदनअनुसार शनिबारको ठक्करअघि यस वर्ष पोटोसीमा मात्र ६४ व्यक्तिको ट्राफिक दुर्घटनामा मृत्यु भएको थियो ।
दक्षिणी बोलिभियामा यात्रु बस आठ सय मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको दुई हप्ताभन्दा पनि कम समयमा शनिबारको दुर्घटना भएको हो । यो दुर्घटना पोटोसी र ओरुरो शहरबीचको एक साँघुरो दुईतर्फी सडकमा भएको थियो । यहाँ बाटो लगभग आधा माइल गहिरो खोँचको किनारैकिनार लगिएको छ ।
सम्बद्ध अधिकारीहरूले उक्त दुर्घटना सम्भवतः अति गतिका कारण भएको थियो र चालकले बसलाई नियन्त्रण गर्न सकेका थिएनन् ।
जनवरीमा पोटोसीनजिकैको सडकबाट बस पल्टिँदा थप उन्नाइस जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनामा चालकलाई खतरनाक ड्राइभिङका कारण मृत्यु भएको शङ्कामा गिरफ्तार गरिएको थियो ।
प्रतिक्रिया