छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आइतबार (१८ फागुन) सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको उल्लेख गर्दै भनेक छन्, ‘आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ ।’
बैठकले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा. राजकुमार शाहको संयोजकत्वमा ‘¥यापिड एक्सन टिम’ गठन गर्ने निर्णय गरेको छ । सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्णाकुमार कुशवाहा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका शिवानी कलवार, नेपाल प्रहरीका, सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि र नेपाल लेयर्स कुखुरापालक सङ्घका प्रतिनिधि रहने गरी टोली गठन गरिएको हो ।
सो टोलीलाई सोमबारबाट अनुगमन सुरु गर्ने र त्यसक्रममा प्राप्त वस्तुस्थितिका आधारमा सम्बन्धित पक्षलाई कारबाही र त्यसको प्रचारप्रसार गर्ने प्रकाशन तथा प्रसारण गर्ने कार्यादेश दिइएको छ ।
symbolic image
प्रतिक्रिया