हालको सरकार बनेयताकै सात महिनामा मात्र चार लाख बयासी हजार नेपालीले वैदेशिक श्रम-स्वीकृति लिएका छन् । यही सात महिना ‘स्वदेशमै रोजगारी जुटाइदिन सरकार तदारुक बनेका सयौं… सम्भवतः हजारौं भत्तादार भाषण सत्ताका मुखिया-डफ्फेदार र आशे-पासे-कराँसेहरूबाट प्रक्षेपित भएको सबैले सुनेकै हुनपर्छ ।
✍ नकुल काजी
मौलिक ऐतिहासिक अस्तित्वको जिजीविषा नै धर्खराइरहेको चिन्ताले देश गल्दै गएको छ । शासकीय भनाइ र गराइका नित्य वैभिन्न्यहरूले नागरिक जीवनलाई अभिभावकीय संवेदनाको अभावमा संकटको चरम बिन्दुलक्षित गन्तव्यतिर गलहत्याइरहेको छ । राजधानीका सामाजिक अगुवाहरूका संगठित भाष्य जस्तै ‘नेतातन्त्र’ र ‘भ्रष्टाचारतन्त्र’-को बढ्दो प्रकोप अब धानिनसक्नु बन्दै गएको छ ।
सर्वसाधारणले देशको यो आक्रान्त अवस्थालाई शब्दमा उतार्न जान्दैनन्; तर अनुभूतिको भापमा पिल्सिन परिरहेको पीडा, आ-आफ्ना हैसियत बमोजिम, एक-आपसमा धमाधम व्यक्त गर्न थालेका छन् । देशको शासक-शिविर बिचौलिया, माफिया, कालाधन्धे आदि अवाञ्छित तत्वहरू परोक्ष अतिक्रमणवाहक विदेशीहरूको संगतमा छ । सोही बमोजिम शासन-संयन्त्र पनि सामन्तयुगीन ढाँचा र ढर्रामा मगनमस्त छ । नागरिक कित्ताका अत्यधिक बहुसंख्यक नेपालीमा प्रकीर्ण अव्यक्त रोदन-क्रन्दनहरूको कतै सुनुवाइ छैन ।
‘हिमालचुली’ र ‘कुखुराको सुली’-लाई अनुप्रासमा मिलाएर एउटै दर्जामा दर्ज गरिने जस्ता भनाइ र गराइ गिजोल्ने र आफ्नो अभीष्ट हासिल गर्ने ध्याउन्नमा सीमित छन्- ‘राज्य’-संरचनाका तल्ला-उपल्ला सकल पक्षकाहरू, अहोरात्र ! देशका निरीह, विपन्न र स्वभावैले निर्बलिया नागरिकको दुरावस्थालाई धितो राखेर दाताहरूबाट हातलागी गरिएका भिक्षामाथि पनि शासक-समाजको मिलिभगते लूट चल्दै आएको रहेछ भन्ने एकपछि अर्काे सुन्नु पर्ने दुर्दिन पनि आरम्भ भएको छ । अपारदर्शिता जस्तो ‘लोकतन्त्र’-को प्रमुख विपक्षी चरित्रले ‘राजनीति’-को परम्परागत श्लील परिभाषालाई नै सरेआम ‘लाजनीति’-को दुर्दशामा घँचेटिरहेको आभास नै अन्ततः देशमा सुलभ दृश्य-परिदृश्यकृत नियति बनिरहेका छन् ।
कल्पनासाध्य-वर्णनासाध्य घटना-परिघटनाहरूले यो देशलाई, यो अभिशप्त वर्तमानमा, थिल्थिल्याइरहेको छ । शासनका ठूला-साना सबै कित्ता-कान्लामा सत्ताशक्तिको थिचोमिचो बढेकाबढ्यै छन् । आन्तरिक र वैदेशिक ऋणभार हरेक (एक) नेपालीको थाप्लोमाथि ९० हजार रुपैयाँ पुगेको छ । आशलाग्दा र योग्य नागरिक देशका प्रति वितृष्ण बनेर उचित र वाञ्छित जीवन निर्वहन हेतु विदेशिएका छन्- जसमध्ये कतिपय बन्द बाकसमा फर्किरहेछन् ।
हालको सरकार बनेयताकै सात महिनामा मात्र चार लाख बयासी हजार नेपालीले वैदेशिक श्रम-स्वीकृति लिएका छन् । यही सात महिना ‘स्वदेशमै रोजगारी जुटाइदिन सरकार तदारुक बनेका सयौं… सम्भवतः हजारौं भत्तादार भाषण सत्ताका मुखिया-डफ्फेदार र आशे-पासे-कराँसेहरूबाट प्रक्षेपित भएको सबैले सुनेकै हुनपर्छ । देशमा रहेका युवाहरू ‘नागरिक’-को गन्तीभन्दा भिन्न-भिन्न दलका हुकुमी नेताका भजनमण्डलीमा विभक्त गराई एक-अर्कासँग पौंठेजोरी खेल्न लगाइएका छन् । विद्यालयदेखि विश्वविद्यालयसम्म दलीय ‘स्वार्थको राजनीति’का तालिमकेन्द्र बनाइएका छन् ।
कृषिप्रधान देशले खाद्यान्न र तिहुन-तरकारीमै परनिर्भरता बढाउँदै जान बाध्य हुन परिरहेको छ । नेपाली किसानले देशको माटोमा उब्जाएका मौसमी सागसब्जीले बजार नपाएर सालिन्ने बिल्लीबाठ हुँदै आएको छ र बिचौलियाहरू चाहिँ इण्डियन घुसपैठियाहरूले इण्डियाबाट छिराएका विषमय सागसब्जीलाई, मनलाग्दी मूल्य निर्धारण गरेर, बजार भर्न स्वतन्त्र हुने गरेका छन् । उखु उत्पादक किसान र दुग्ध किसानहरू सरकार मातहतका औद्योगिक संस्थानहरूकै कर्कश दलनमा निःसहाय फँसिरहेका छन् । ‘अनुगमन’ भनेको भत्ता र कमिशन डकार्ने प्रयोजनका लागि मात्र हुने गरेको छ ।
एकातिर अनेकका नवाबी भ्यू-टावर र ऐय्यासी सभाभवन निर्माणमा अर्बाैं खर्च फुकिँदैछ भने अर्कातिर वनजन्तुको प्रकोप धान्न नसकेर जीवन निर्वाहका लागि आछाम आदि जिल्लाबासीहरू अधिक अधिकांश घरमा ताला झुण्डाएर रोजगारीको खोजीमा इण्डियालगायत विदेशी भूमितिर भौंतारिनु पर्ने बाध्यतामा छन् ।
गणतन्त्रोत्तर अटुट रूपमा भइरहेका अनेक विडम्बनापूर्ण घटनाहरूले देश र देशबासीमाथि निर्ममतापूर्वक घुँडा धसिरहेका छन्, जसको फेहरिस्त उतार्न सरल सम्भव छैन । तापनि अहिले नागरिक समाज तातेको कराही बन्ने क्रममा छन्, जसमा को वा को-को ‘झ्वाइँ’ हुने हुन् – यो चाहिँ घनघोर प्रतीक्षाको पनि प्राथमिकतामा छ ।
त्यसैगरी, ‘नियमनकारी’ भनिने सरकारी कमिशनखोरहरूलाई रिझाएर काभ्रेको पनौती, बेथानचोक र नमोबुद्ध जस्ता बाढी-पहिरोले चरम प्रभावित क्षेत्रमा पुनः मापदण्डविपरीत खानी चल्न दिइएकाले ती बस्तीहरू जोखिममा रातोदिन छट्पटाइरहेका छन् । तर, सरकारी कारवाहीका लागि भन्दै, त्यहाँ पनि, अनुगमनका पटके नाटक मञ्चनलाई दुहुनो गाई बनाउने दुष्कर्म दोहोरिइ-तेहरिइरहेको छ । भूकम्पले जर्जर जाजरकोट र पश्चिम रुकुमका आँशु पुछ्ने ‘आश्वासन’ प्रकारान्तरले वीरबलले बाँसे लिङ्गोको टुप्पोमा हाँडी झुण्ड्याएर खिचडी पकाएको दन्त्यकथामा पुनरावृत्त भइरहेको अवस्थामा छ ।
तानाशाही दलनले ठेगान लगाउन सकिन्छ र आफ्नो उदर्रम्भी अपेक्षा यसरी नै पूरा गर्न सकिन्छ भन्ने सत्तारुढ अहंकारी नायकहरू आफ्ना तालिमप्राप्त तालीबाजहरू भेला गर्दै दैनन्दिन वकवेदान्ते भाषण डुक्रिँदै हिँड्नुलाई नै लोकतान्त्रिक उत्तरदायित्व ठानेर आफैंले आफूहरूका निम्ति ठेकेको भत्ता-सुविधा गुमुर्क्याएर कृतकृत्य भइरहेका छन् । उनीहरू हिजो-अस्ति ‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीको मुखै हेर्दिनँ’ मार्काको भूलभूलैयामा आमजनलाई पार्दै ‘देशले समृद्धिको बाटो अख्तियार गरिसकेको, सुशासन शुरु भइसकेको’ इत्यादि ध्वाँस पिटिरहेका छन् । यस्ता अनगिन्ती घटना र सन्दर्भहरूले हाल नेपालमा कुन किसिमको (कु)शासन बहाल छ भन्ने त लुकेकै केही छैन !
आफै लिँडे तर्क साधेर निहुँ खोज्ने अनि राज्यशक्ति सरेआम उपयोग (दुरुपयोग ?) गरी विजयी घोषित हुने मिचाहा चारित्रिक स्वभावमा पन्पिएको देखाउने सरकारी दम्भी कारवाहीको अर्काे ताजा नमूना ताप्लेजुङको पाथीभरा केबलकार (मुक्कुम्लुङ केबलकार) प्रकरणमा प्रदर्शन भई नै रहेको छ । यसै निहुँमा त्यहाँ कदाचित ऐतिहासिक परम्पराका अनुयायी जातीय रैथाने समुदाय विरुद्ध सरकारी दङ्गा मौलाउँदाको भयावह नतिजाको जिम्मेवार दंगा भड्काउन उद्यत स्वयम् सरकार नै हुने छ !
आफ्नो स्वत्व, जातीय स्वाभिमान एवम् पहिचानको रक्षार्थ उभिने विद्रोह त्यति कमजोर अवश्य हुँदैन, जति राजतन्त्र अवरोपण गर्न सजिलो भएको थियो – जसमा विदेशी स्वार्थ समूह एकपछि अर्काे ‘पृष्ठशक्ति बनेर’ हाजिर थियो । ‘भदौमा आँखा फुटेका डिँगाले सधैं हरियो देख्छ’ भन्ने उखानलाई सही ठानी यस सन्दर्भसँग आँखा चिम्लेर अघि बढ्ने क्रुरता/मूर्खता भयो भने, स्वाभिमानी समुदायले पनि ज्याद्रो बन्नै परेको अवस्था सरकारका हकमा ‘आफ्नै घुँडामा बञ्चरो’-मा अनुदित नहुन सक्तैन ।
अहिले राजा ज्ञानेन्द्र वीरविक्रम शाहले एउटा सरल बोधगम्य भिडिओ-सन्देश प्रसार गर्दा राज्यको स्रोत-साधन दोहनमा पल्केकादेखि अन्तर्राष्ट्रिय सहयोग समेत हाम्-झ्वाम् पारेर ढाडिने कुकर्मीहरूमा तहल्का मच्चिएको देखिँदो छ । जुन उनीहरूका कमी-कमजोरी र स्वार्थबाट निस्पादित हीनताबोधबाट उत्सर्जित अवस्थाको नाङ्गो दृश्य हो । देशमा फेरि राजतन्त्रको पुनर्स्थापना हुन्छ-हुँदैन भन्ने निश्चित नहुँदै यतिविघ्न छट्पटाहट किन त ?
एक/दुई भगौडा खतुकी गिरफ्तार हुनासाथ आफू र आफ्ना अनुहार त्यस्तै दुर्गतिले चाउरिने सम्भावना देखेर रातारात कालकाँधे व्यापारीको घरमा खुसुक्क गठबन्धन गरेर सरकार बदल्ने जाली-लाछीहरू आज अङ्कुशहीन शक्तिको आडमा उफ्रीपाफ्री गर्दैछन् । अर्थात्, अहिले पूर्वराजाको एउटा अलि ‘कडा’ वक्तव्यपछि उनीहरू आ-आफ्ना टाउका सत्ताशक्तिको ‘हेल्मेट’-ले ढाकेर अझै पनि देश र देशबासी ढाँट्ने र अल्मल्याउने गोरखधन्दा गरिरहेकै छन् ! उनीहरू यो देशमा राजतन्त्र पुनरागमनको दच्कोले होइन, राज्यशक्तिको उन्मादले लठ्ठिएको समय-सालमा आफूहरूले गरेका नाजायज उपद्रवहरूको तीनपुस्ते खुल्ने त्रासले हतासिएका हुन् !
अर्थात्, गणतन्त्रोत्तर अटुट रूपमा भइरहेका यस्तैयस्ता अनेक विडम्बनापूर्ण घटनाहरूले देश र देशबासीमाथि निर्ममतापूर्वक घुँडा धसिरहेका छन्, जसको फेहरिस्त उतार्न सरल सम्भव छैन । तापनि अहिले नागरिक समाज तातेको कराही बन्ने क्रममा छन्, जसमा को वा को-को ‘झ्वाइँ’ हुने हुन् – यो चाहिँ घनघोर प्रतीक्षाको पनि प्राथमिकतामा छ ।… बस्, आजलाई यत्ति !
प्रतिक्रिया