पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि

पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो ।

काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग उडान अनुमति लिइसकेको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको छ । ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ ।

त्यसैगरी, चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन । पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ । सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जिएसए) सोसाइटी इन्टरनेसनल रहेको छ ।

नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्न लागिएको हो । योसँगै नेपालमा चिनिया पर्यटक बढ्ने विश्वास लिइएको छ । हिमालय एयरलाइन्सले हाल काठमाडौँबाट ल्हासा एक सातामा पाँच उडान गरिरहेको छ । पोखराबाट पनि ल्हासामा थप एक उडान गर्न लागेको हो ।

बताइएअनुसार हिमालय एयरलाइन्सको जहाज सोमबार ल्हासाबाट पोखरा आउनेछ र मङ्गलबार पोखराबाट ल्हासा जानेगरी सातामा एक उडान अनुमति मागेको छ । मागअनुरुप भविष्यमा उडान थप्न सकिने क्यानले जनाएको छ । सिचुवान एयरलाइन्सको उडान मिति भने तय भइसकेको छैन ।

पोखराबाट चीनका विभिन्न गन्तव्यमा सिधा उडान हुने भएपछि व्यवसायी उत्साहित भएका छन् । पोखरा पर्यटन परिषद्ले आगामी चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेजसमेत बनाएको जनाएको छ । छेन्दुबाट पनि व्यवसायी आउने र पोखराबाट पर्यटन व्यवसायी गएर छेन्दुमा विजनेस टू बिजनेश (बिटुबी) कार्यक्रम गर्ने तयारी गरिएको जनाइएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको ६ महिनापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।