नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा


नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । महासङ्घले काठमाडौंमा मुलुकभरका दुई हजार बढी उद्योगी-व्यवसायीको सहभागितामा अधिवेशन गर्ने भएको हो ।

अधिवेशनले महासङ्घको नयाँ कार्यसमिति चयन गर्ने जनाएको छ । यसअघि महासङ्घको विधानअनुसार २९९ सदस्यीय कार्यसमिति र १७ सदस्यीय पदाधिकारी रहँदै आएकामा अब १५१ सदस्यीय कार्यसमिति र नौ सदस्यीय पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, सङ्गठन, प्रचार विदेश र कोष हेर्नेगरी क्षेत्र तोकेरै चारजना सचिव रहने जनाइएको छ ।

महासङ्घले अधिवेशनका अवसरमा औद्योगिक प्रदर्शनी पनि गर्ने भएको छ । मुलुकभित्र रहेका घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्न औद्योगिक प्रदर्शनी गर्न लागिएको महासङ्घका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीका कारण अहिले उद्योगी-व्यवसायीको मनोबल खस्किँदो अवस्थामा छ, औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो’, उनले भने ।

प्रदर्शनी दुई दिनसम्म चल्नेछ । प्रदर्शनीमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका उद्योगी-व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहने मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । उनका अनुसार मेलामा साना, घरेलुदेखि मझौला र ठूला गरी १०० बढी प्रदर्शनीकक्ष रहनेछन् । जहाँ कर्णालीमा पाइने जिम्बु, यार्सा, सिलाजितदेखि पूर्वको छुर्पी, अलैँचीदेखि चिया कफीसम्म उपलब्ध हुनेछ ।