अमेरिकामा उपराष्ट्रपति खासै चर्चामा आउँदैनन् तर अहिलेका उपराष्ट्रपति जेडी भान्स स-साना कुरा निकालेर वातावरण धमिल्याउने खालका परेछन् । वार्ताको क्रममा उनले ‘हामीलाई धन्यवाद भन्नु पर्दैन ? ट्रम्पलाई धन्यवाद भन्नु पर्दैन ?’ भनेर धेरै पटक भने । धन्यवाद या आभार भन्ने कुरा अरुले प्रकट गर्ने हो, आफूले माग्ने होइन ।
✍ बबिता बस्नेत
मानिसलाई प्रायः तनाव आफूवरिपरि भएका घटनाका कारण हुनेगर्छ । ब्यक्तिगत, ब्यवसायिक जीवनभन्दा माथि उठेर सोच्नेहरूका लागि देशले भोगेको अप्ठ्यारो परिस्थितिले दुःखी बनाउन सक्छ, जुन हामीमध्ये धेरैलाई भइरहेकै छ । तर जिन्दगीमा पहिलापल्ट सन् २०२५, मार्च महिनाको पहिलो साता विश्व-राजनीतिमा भएको, देखिएको दृष्यले मन र मष्तिष्कलाई साह्रै गाह्रो बनायो । त्यो दृष्य थियो- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको विवाद ।
खासमा दुई देशका राष्ट्रपतिहरू भेट्दा हुनुपर्ने चाहिँ संवाद थियो, तर संवाद या वार्ता भन्न नमिल्ने गरी त्यो वादविवादमा परिणत भयो । र, त्यहाँ जे–जस्ता शब्दहरू प्रयोग गरिए, त्यो हेर्दा धेरै वर्षअघि जमानामा एउटा धनी मानिसले गाउँघरमा ऋण लिन गएको गरिबलाई ‘तँसँग के छ र ठुलो कुरा गर्छस्…?’ को शैलीमा हप्काउँदै, ‘ए गुर्माने कालो बना बना…’ भन्ने संवाद भएको टेलिश्रृङ्खला हेरेझैँ महसूस भयो । पर्सिन ठिक्क पारेको बलीको बोको झैँ निरीह राष्ट्रपति जेलेन्सीको मुहार अगाडि आएर राति राम्ररी निन्द्रा नै आएन । घरि-घरि बिउझिँदा पनि धनी देशको धनी राष्ट्रपतिले प्रयोग गरेका शब्दहरू… उनका अगाडि हो.. हो मिलाउँदै विभिन्न ओहदा ओगटेर उसको देशको बहुमूल्य खनिजका लागि ल्याप्चे लाउने कालो बनाउन ठिक्क परेका गुर्मानेहरू… ओहो संसार कतिसम्म निर्दयी छ… ! धनी र गरिबबीचको दादागिरी र खाडल कति धेरै छ… ! विश्व इतिहासमै कुनै एउटा देशका राष्ट्रप्रमुखले अर्को देशका राष्ट्रप्रमुखप्रति पत्रकार सम्मेलनमै गरिएको पहिलो अपमानित दृष्य…! यो लेखमार्फत सोध्न मन छ, तपाईंहरूलाई पनि यस्तै अनुभूति भयो कि ?
कतिपय घटनामा धेरै भावनात्मक नभइ मष्तिष्कले विषयबस्तुलाई हेर्नुपर्ने हुन्छ, तर यो घटनाले विश्वका धेरै मानिसलाई मन र मष्तिष्क दुवैलाई असर र प्रभाव पाऱ्यो, पारिरहेको छ ।
रुस र युक्रेन युद्धको तेश्रो वर्ष पुगेपछि युरोपिन युनियनले युक्रेनको भौगोलिक अखण्डतालाई समर्थन गर्न संयुक्त राष्ट्रसंघमा पेस गरेको रिजोलुसनमा छिमेकी मुलुकहरू चीन र भारत मौन बस्दा नेपाल पनि मौन बसेको भए हुन्थ्यो होला नि जस्तो लागेको थियो । साना देशहरूमाथि गरिने ज्यादतीका विरुद्ध नेपाल उभिनु ठिक थियो, तथापि कतिपय अवस्थामा मौन बस्दा पनि हुन्छ भन्ने लागेको हो । तर, ह्वाइट हाउसमा जेलेन्स्कीलाई गरेको ब्यवहार देख्दा पक्षमा मतदान गरेर नेपालले ‘कस्तो सही निर्णय गरेछ..’ जस्तो लाग्यो । उक्त रिजोलुसनमा अमेरिकाले रुसलाई मतदान गर्दा विगत तीन वर्षदेखि नेपालस्थित अमेरिकी दुतावासमा टाँगिएको ‘हामी युक्रेनको पक्षमा छौं’ ब्यानरको पनि याद आयो । अमेरिकी अधिकारीहरूलाई पनि अवश्य नै अप्ठ्यारो महसूस भयो नै होला । कतिपय घटनामा धेरै भावनात्मक नभइ मष्तिष्कले विषयबस्तुलाई हेर्नुपर्ने हुन्छ, तर यो घटनाले विश्वका धेरै मानिसलाई मन र मष्तिष्क दुवैलाई असर र प्रभाव पाऱ्यो, पारिरहेको छ ।
यही २०२५ को फ्रेब्रुअरीमा अमेरिकाले संयुक्त राष्ट्रसंघमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेश गरेको थियो । प्रस्तावमा लेखिएका शब्दहरूमा संशोधन गर्नुपर्छ भनेर फ्रान्सेली राष्ट्रपति इमानुयल र बेलायतका प्रधानमन्त्री कियर स्टर्मरले गरेको प्रस्ताव भिटो प्रयोग गरेर असफल बनाइयो । जसका कारण बेलायत र फ्रान्सले त्यसमा मतदान गरेनन् । सुरक्षा परिषदमा अहिले चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका स्थायी सदस्य छन् भने अल्जेरिया, डेनमार्क, ग्रिस, गुयाना, पाकिस्तान, पानामा, कोरिया, सिरालियोन, स्लोभेनिया र सोमालिया सदस्य छन् । सुरक्षा परिषदमा १५ सदस्य रहने प्रावधान छ । नेपाल सन् १९६९ र १९८८ गरी दुई पल्ट सुरक्षा परिषदको सदस्य रहेको थियो । यो गर्वलाग्दो समय नेपालले फेरि कहिले प्राप्त गर्ने हो यसै भन्न सक्ने अवस्था छैन ।
त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्री दुवैलाई ह्वाइट हाउसमा अलग–अलग भेट गरे । युद्धलाई शान्तितर्फ लाने प्रयास गरेको भनेर दुवैले ट्रम्पको तारिफ गरे । फ्रान्सका राष्ट्रपति इमानुयलले पटक-पटक शरीरमा धाप मारे भने बेलायतका प्रधानमन्त्री स्टर्मरले राजा चार्ल्सले दिएको भ्रमणको निम्तो थमाए । आफ्नै अगाडि निम्तो खोलेर पढ्न पनि भने । युक्रेन युद्धवरिपरि रहेर रिजोलुसनहरू पेश भएको, मतदान भएको सन्दर्भमा अमेरिकाले मतदान नगरेपनि जेलेन्सिकी र ट्रम्प भेटघाट नहुने कुरै थिएन । त्यसमा पनि अमेरिकालाई युक्रेनबाट बहुमूल्य खनिज लिनु थियो, जसका लागि सम्झौता तयार थियो । अमेरिकामा उपराष्ट्रपति खासै चर्चामा आउँदैनन् तर अहिलेका उपराष्ट्रपति जेडी भान्स स-साना कुरा निकालेर वातावरण धमिल्याउने खालका परेछन् । वार्ताको क्रममा उनले ‘हामीलाई धन्यवाद भन्नु पर्दैन ? ट्रम्पलाई धन्यवाद भन्नु पर्दैन ?’ भनेर धेरै पटक भने । धन्यवाद या आभार भन्ने कुरा अरुले प्रकट गर्ने हो, आफूले माग्ने होइन ।
यस्तै, ट्रम्पले प्रयोग गरेका शब्दहरू काँडाझैँ घोच्ने र हतोत्साही तुल्याउने खालका थिए- ‘तिम्रो कुनै दम छैन, तिमी खराब स्थानमा छौ, कार्ड खेल्दैछौ, तिमीलाई केही पनि थाहा छैन, त्यस्तो भन्ने तिम्रो औकात छैन…’ आदि…आदि । अनि, अमेरिकामा पनि त्यस्ता पत्रकार हुँदारहेछन् ! पत्रकारको प्रश्न- ‘तिमीले सुट, टाई किन नलगाएको ?’ पोशाक, खाना लगायतका कुरामा ब्यक्तिगत स्वतन्त्रताको विगुल फुक्ने देश अमेरिका युद्धबाट थलिएको राष्ट्रका राष्ट्र प्रमुखलाई उनले लगाएको पोशाकमाथि प्रश्न उठाइरहेको थियो । जेलिन्स्कीको पोशाकमा प्रश्न उठाउने पत्रकारले अमेरिकाको क्याविनेटमा औपचारिक पोशाक लगाएर उपस्थित भएका अधिकारीहरूबीच एलन मस्कचाहिँ किन अनौपचारिक पोशाकमा सहभागी भएका ? भनेर प्रश्न गरेको सुनिएको छैन ।
युरोप त्यसमा पनि बेलायत औपचारिक पोशकमा बढी सचेत मानिन्छ भन्ने छ, तर त्यहाँका राजालाई भेट्न जाँदा जेलेन्स्कीले सुट लाएनन्, कसैले प्रश्न गरेन ।
ओहो… एउटा देशका राष्ट्रपतिले अर्को देशको राष्ट्रपतिलाई आफ्नो निवासमा बोलाएर यतिसम्म ह्युमिलेट गर्न सक्छन् ? यसलाई अब बाँकी विश्वले कसरी लिन्छ ? अमेरिकन नागरिक स्वयमले कसरी लेलान् ? मनमा प्रश्नमाथि प्रश्न उठेर उकुसमुकुस बनाइरहेको बेला जेलेन्स्कीलाई बेलायतले दिएको सम्मानले संसारमा उज्याला पाटाहरू पनि छन् भन्ने महसूस गराएको छ । युरोप त्यसमा पनि बेलायत औपचारिक पोशकमा बढी सचेत मानिन्छ भन्ने छ, तर त्याहाँका राजालाई भेट्न जाँदा जेलेन्स्कीले सुट लाएनन्, कसैले प्रश्न गरेन । प्रधानमन्त्री, राजा सबैले न्यायो स्वागत गरेर हामी अप्ठ्यारो अवस्थामा तिमीसँग छौँ भन्ने सन्देश दिए । अहिले पूरै युरोप युक्रेनको पक्षमा उभिएको छ । अफ्रिकन मुलुकका कतिपय राष्ट्रपतिहरूले खुलेरै ट्रम्पको ब्यवहारको निन्दा गरेका छन् । साना देशहरू त यस प्रकारका दादागिरीविरुद्ध एक हुनुपर्छ नै, करिव–करिव विश्व नै एक हुने अवस्था सिर्जना भएको छ ।
जेलेन्स्की प्रकरणपछि अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एलन मस्कको एउटा फोटो विश्वब्यापी भाइरल भइरहेको छ, जहाँ प्रधानमन्त्री मोदी सूचना तथा प्रविधि मन्त्री, अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नरसहित बैठकमा छन् । उता एलन भने आफ्ना स-साना छोराछोरी, पत्नी र बच्चा हेर्ने सहयोगीका साथ छन् । यता प्रधानमन्त्री मोदीको प्रतिनिधि मण्डल डायरी, कलमसहित केही लेख्न तम्तयार छ, उता न डायरी, न कलम, न कुनै औपचारिक पोशाक, बच्चाबच्चीका साथ मस्क बिन्दास छन् । विश्वको बौद्धिक जमातले यसलाई उदाउँदो शक्तिराष्ट्र भारतका प्रधानमन्त्रीमाथि गरिएको मजाक हो भनिरहेका छन् ।
प्रतिक्रिया