विदेशको लगानीमा स्वदेशविरूद्ध क्रियाशील रहनेहरूको वास्तविक अनुहार उदाङ्ग बनाइदिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन गुन हामी नेपालीलाई लगाउनुभयो त्यसनिम्ति सबै नेपालीले उहाँका प्रति कृतज्ञता जाहेर गर्नु वान्छनीय हुनेछ । उहाँलाई कोटिकोटी धन्यवाद !
✍ देवप्रकाश त्रिपाठी
ईश्वर या प्रकृतिले सिङ्गो सृष्टिको ब्यवस्थापन गरिरहेको भएपनि मानिसको ब्यवस्थापन एउटा जटिल प्रक्रिया मानिन्छ । पृथ्वीमा देश अर्थात् राज्य अर्थात् राष्ट्रहरूको उत्पत्ति र विकाशका कारणहरूको खोजी गरियो भने त्यो मानव ब्यवस्थापनका लागि भएको भन्ने बुझिन्छ । यदि सबै मानिस विवेकशील र सभ्य हुन्थे भने राज्य र कानूनको आवश्यकता नपर्न सक्थ्यो, अनि सबै मानिस जङ्गली चरित्रका र अशिष्ट हुन्थे भने राज्य र कानूनको उत्पत्ति पनि सम्भव थिएन । राज्य र कानूनको आवश्यकता केवल मानिसको कल्याणका लागि भएको र कल्याणको सोच विवेकशील एवम् सभ्य मानिसमा मात्र निहित रहने भएकोले राज्यको उत्पत्ति र विकाशको मुख्य कारण विवेकशील मानिसको रचनात्मक सोचको परिणाम मान्न सकिन्छ । अर्कोतर्फ जङ्गली, असभ्य र अशिष्ट मानिस अस्तित्वमा हुने थिएनन् भने संसारमा युद्ध, आतङ्क, हिंसा र अन्याय जस्ता कुराहरू मानिसले सामना गर्नुपर्ने थिएन । त्यसैले नकारात्मक (बामपन्थी) अर्थमा राज्यको उत्पत्ति कसैको शासक बन्ने इच्छाको परिणामका रूपमा भएको पनि भन्न सकिएला ।
राज्य उत्पत्ति र विकाशको कारण सकारात्मक या नकारात्मक जे भएपनि आधुनिक विश्वमा राज्य एउटा लोककल्याणकारी निर्णायक साधन हो, निश्चित मनोविज्ञान, भाषा, धर्म, साझा सभ्यता, सस्कृति, इतिहास र भौगोलिक अवस्थितिले राज्यको आकार र अवस्था निर्धारण गर्दछ । हरेक राज्य आफ्नो सीमा भित्रका प्रकृति, वनस्पति, जीवजन्तु, पन्छी, नदी-तलाउ र मानिसको कल्याणमा सीमित तथा केन्द्रीत रहेको अवस्थामा विश्वमै अशान्ति, युद्ध, हिंसा र अस्थिरताले स्थान पाउने छैन । तर आफूलाई प्रथमिकतामा राख्ने र केवल आफ्नै स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राख्ने प्राकृतिक स्वभावले मानिसलाई स्थिर र शान्त रहन दिइरहेको छैन । संसारका सबै देशहरू परस्पर विश्वास र समझदारीमा रहेर काम गर्थे भने, या सबै मानिसबाट जङ्गली सोच र संस्कार उन्मुलन भइसकेको हुन्थ्यो भने हिंसा र युद्धको अस्तित्व संसारमा रहने थिएन भन्न सकिन्छ ।
पृथ्वीमा मानिसले देशहरूको आवश्यकता महसूस गरिदासम्म देश रहन्छ, रहनुपर्छ । आफ्ना विशेष स्वार्थका कारण कसैले कसैमाथि दागा धर्ने या शिकारी दृष्टि लगाउने जस्ता व्यवहार प्रस्तुत नगर्ने हो भने कसैले पनि रक्षाको शीर्षकमा अथाह धनराशि खर्च गर्नुपर्ने थिएन ।
ट्रम्पले नेपालमा धर्मनिरपेक्षता र सङ्घीयता लाद्न कैयन मिलियन डलर सहयोग हुने गरेको रहस्य पनि खोलिदिनुभएको छ । नेपालका नेताहरूले ‘महान् जनयुद्ध’को महान उपलब्धि भन्दै प्रचार गर्ने गरेको सङ्घीयता र धर्मनिरपेक्षता डलरको लगानीबाट भित्र्याइएको एजेण्डा प्रमाणित गरिदिएर राष्ट्रपति ट्रम्पले सबै नेपालीलाई गुन लगाइदिनुभएको छ ।
करिव दुई शय देशहरूमध्ये युक्रेन त्यस्तो देश हो जुन युरोपमा भएर पनि पश्चिम एशियाका मुलुक झैँ निरन्तर तनाव, दबाब र युद्धको झमेला ब्यहोरिरहेछ ! सोभियत सङ्घमा गाभिने समय पनि युक्रेनका निम्ति सामान्य र स्वभाविक थिएन र सङ्घमा सामेल भएपछि पनि यसले निरन्तर तनाव र दबाबको सामना गर्नुपऱ्यो । स्थानीय संस्कृति, सभ्यता, स्वगौरव र भाषाका कारण उनीहरू बेग्लै आत्मसम्मानका साथ बाँचिरहेका थिए । युक्रेनीलाई तह लगाउन स्तालिन र निकिता ख्रुस्चोभले विशेष तिकडम रच्नु परेको थियो । रसियाको प्रभाव, दबाब र रसियाली भाषालाई युक्रेनीहरू स्वीकार गर्न अस्वीकार गरिरहेका थिए । अर्कोतिर मस्कोमाथि प्रहार गर्न अर्थात् दबाब बनाइराख्न पश्चिम युरोप र नेटो मुलुकहरू युक्रेनमा ज्यादा ध्यान दिने गर्दथे । सोभियत सङ्घको एउटा राज्यमा रुपान्तरित भैसकेपछि पनि युक्रेनलाई संयुक्त राष्ट्र सङ्घको बेग्लै सदस्यका रूपमा राखिरहने पश्चिमी मुलुकको इच्छा र योजना पनि युक्रेनको दुःखको अर्को कारण बनेको थियो । देश प्राकृतिक तथा अन्य श्रोत साधनले सम्पन्न हुनु, कृषियोग्य जमिन हुनु र रणनीतिक महत्वको लोकेसनमा पर्नु नै उक्त मुलुकको दुःखको मुख्य कारण बनेको बुझिन्छ । त्यस्तो संवेदनशील मुलुकको रक्षा दूरदर्शी, परिपक्व र सन्तुलित ब्यवहारको नेतृत्वबाट मात्र सम्भव हुनसक्छ ।
सोभियत सङ्घको विघटनपश्चात् त्यहाँ मस्कोप्रतिको दमित असन्तुष्टि चरमरूपले प्रकट हुनु स्वभाविक भएपनि त्यही झोकमा युक्रेनलाई नेटोमा सामेल गर्ने घोषणा हुनु आक्रोशको परिणाम थियो । मस्को आफ्नो नाकैमुनि नेटोको सदस्य राष्ट्रलाई स्वीकार गर्न कदापि चाहँदैनथ्यो, उ आफ्नो रक्षाका निम्ति पनि युक्रेनको भूमिभित्र दृष्टि केन्द्रीत गर्न बाध्य थियो । युक्रेनका नेताहरूले रसियालीको मनोविज्ञान र बाध्यतालाई आत्मसात गरेर नै नेटोको सदस्य बन्ने मुद्दा जीवित हुँदाहुँदै पनि सदस्य बनिहाल्ने तत्परता युक्रेनका नेताहरूले लिएका थिएनन् । सन् २०१० मा राष्ट्रपति बनेका भिक्टर यनुकेविचले युक्रेनको नेतृत्व सम्हालेपछि उनले तटस्थतामा मात्र युक्रेनको भविष्य सूरक्षित हुने घोषणाका साथ संसद्बाट समेत युक्रेन तटस्थ रहने निर्णय गराएका थिए । उनको विचार नेटो मुलुक र रसिया दुवैसँग आर्थिक विकाशका मुद्दाहरूमा साझेदारी गर्ने तर दुवैको सैन्य गठबन्धनमा सामेलचाहिँ नहुने भन्ने थियो ।
सन् २००८ मा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन नेटोको सदस्य बने मस्को त्यहाँ हमला गर्न बाध्य हुने सार्वजनिक घोषणा गरेका हुनाले पनि यनुकेविच युक्रेनको रक्षाकाप्रति ज्यादा सम्वेदनशील बनेका थिए । तर दुर्भाग्यवश उनले आफ्नो मुलुकको सूरक्षाका निम्ति लिएको नीति नेटो मुलुकले स्वीकार गर्न सकेन । त्यसपछि सिङ्गो पश्चिमी संसारको योजना ‘लगानी’मा राष्ट्रपति यनुकेविच विरूद्ध महाभियोग लगाइयो र अलेक्जेण्डर तुर्किनोभ तथा पेट्रो पोरोसेन्को जस्ता ब्यक्तिको हातमा युक्रेनी सत्ता पुऱ्याइयो । उनीहरूले युक्रेन तटस्थ नरहने, नेटोको सदस्य बन्ने निर्णयमा मुलुकलाई पुऱ्याएपनि सदस्य नै बन्ने हिम्मत गरेका थिएनन् । त्यसपछि जर्ज सोरस फाउण्डेसनको ओपन सोसाइटीलगायत विभिन्न नामका डीपस्टेटको लगानी र गतिविधि युक्रेनमा ह्वात्तै बढ्यो । पुराना र परिपक्व नेताहरूले नेटोको सदस्य बन्न अलमल गर्न थालेको ठहर गर्दै त्यहाँ पुराना दल र नेतृत्व विरुद्ध प्रचारबाजी तीव्र पारियो, अब युवाको हातमा सत्ता नपरेसम्म देश बन्दैन भन्ने भाष्य निर्माण गरियो ।
एउटा अपरिपक्व, अति महत्वाकाङ्क्षी र बाह्यशक्तिद्वारा स्थापित र परिचालित ब्यक्तिलाई देशको सत्ता जिम्मा लगाउँदा कस्तो हुनेरहेछ भन्ने तथ्यबोध हुन युक्रेनले धेरै ठूलो क्षति ब्यहोर्नुपऱ्यो ! युद्धका क्रममा करिब चालीस लाख निर्दोष युक्रेनी जनताले आफ्नै देशमा शरणार्थी बन्नुपरेको छ भने करिब दस लाखले ज्यान गुमाएको अनुमान गरिएको छ । पूरा युक्रेनको कम्तिमा बीस प्रतिशत भूभाग रसियाको नियन्त्रणमा पुगेको छ, जुन फिर्ता हुने सम्भावना अति न्यून मात्र देखिन्छ ।
यसक्रममा तीव्र महत्वाकाङ्क्षी जवान (जो परिचित पनि होस्) खोज्दै जाँदा भोलोदोमिर जिलेन्स्की नामक हास्यकलाकार केटो भेटियो र पश्चिमाहरूले तिनैलाई श्रृङ्गारपटार गरेर ‘यही हो युक्रेनको भाग्यविधाता, यिनैले बनाउँछन् युक्रेन’ भन्ने स्थिति बनाइदिए । यसनिम्ति जर्ज सोरसले मात्र नौ अर्ब डलर खर्च गरेको भन्ने तथ्य सार्वजनिक भइसकेको छ । युक्रेनी जनतालाई साइबर सेना र अन्य माध्यममार्फत भ्रमित गरेर पश्चिमाहरू जिलेन्स्कीलाई राष्ट्रपति बनाउन र युक्रेनलाई नेटोको सदस्य बन्ने ठाउँमा पुऱ्याउन सफल भए । जो-जसले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न निर्णायक भूमिका निर्वाह गरेका थिए तिनको योजना र इच्छानुरुप काम गर्दै जाँदा जिलेन्स्कीले आफू आफ्नै मुलुकको हितविरूद्ध क्रियाशील रहेको पत्तै पाएनन् । जे गरेपनि सोसल मिडिया र पश्चिमी मिडियाले जिलेन्स्कीलाई ‘नियोजित वाहवाही’ गरिरहेका हुन्थे । त्यसक्रममा जिलेन्स्कीले आफू विश्वकै नेता भएको जस्तो र पुटिनसँग भिड्नसक्ने बहादुर आफूमात्र भएको ठान्न थालेका थिए । तिनकै अति महत्वाकाङ्क्षा र अपरिपक्व सोच-ब्यवहारले युक्रेन आजको सङ्कटपूर्ण अवस्थामा आइपुग्यो ।
जिलेन्स्कीले आफूमाथि लगानी गर्नेहरूको उक्साहटमा आएर तिनको इच्छानुरुप निर्णय लिँदै जाँदा अन्ततः युक्रेन युद्धको चपेटमा फस्न पुग्यो, जुन पूर्वनिश्चित थियो । नेटोको सदस्य बन्ने ठाउँमा नपुगेको भए युक्रेनले युद्ध ब्यहोर्नुनपर्ने हुनसक्थ्यो । युवा नेतृत्वले आफ्नो जोश दर्शाउँदा सिङ्गै युक्रेनले इतिहासकै ठूलो सङ्कट र चुनौतीको सामना गर्नु परिरहेको छ । यसको अर्थ युवा नेतृत्व सधैं, सबै ठाउँ र अवस्थामा अनुपयुक्त हुन्छ भन्ने चाहिँ होइन । तर युवा हुनुमात्र असल र योग्य हुनुको मापदण्ड होइन र हुँदैन पनि । आफूमाथि विदेशीले यति धेरै लगानी किन गरिरहेछ, किन आफूलाई आफ्नो वास्तविक आकार भन्दा बढाएर फुलाइरहेछन् र किन उकासिरहेका छन् भनेर बुझ्न नसक्ने मानिसले देशको नेता बन्न खोज्नु हुँदैन । जिलेन्स्की त्यस्तै झिल्के र अपरिपक्व पात्र थिए, उनले न आफ्नो आकार थाहा पाए न विदेशीको प्रायोजन आफूमाथि किन भैरहेको छ भन्ने बुझ्न आवश्यक ठाने । त्यति थाहा पाउन पनि अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएर आउनुपऱ्योे !
एउटा अपरिपक्व, अति महत्वाकाङ्क्षी र बाह्यशक्तिद्वारा स्थापित र परिचालित ब्यक्तिलाई देशको सत्ता जिम्मा लगाउँदा कस्तो हुनेरहेछ भन्ने तथ्यबोध हुन युक्रेनले धेरै ठूलो क्षति ब्यहोर्नुपऱ्यो ! युद्धका क्रममा करिब चालीस लाख निर्दोष युक्रेनी जनताले आफ्नै देशमा शरणार्थी बन्नुपरेको छ भने करिब सत्तरी लाख युक्रेनीले विदेशमा शरणार्थीको जीवन बिताउनु परेको छ । युद्धमा करिब दस लाखले ज्यान गुमाएको अनुमान गरिएको छ । पूरा युक्रेनको कम्तिमा बीस प्रतिशत भूभाग रसियाको नियन्त्रणमा पुगेको छ, जुन फिर्ता हुने सम्भावना अति न्यून मात्र देखिन्छ । खर्बौं डलर बराबरको भौतिक संरचना तथा अन्य क्षति भएको छ । अब युक्रेन पुरानो हैसियतमा पुग्न पनि उसले धेरै लामो समय मेहनतपूर्ण प्रतीक्षा गर्नुपर्ने हुन्छ । कुल ३१ लाख २२ हजार ७१३ मिलियन युक्रेनी मुद्रा बराबर राजस्व र ८ लाख ३४ हजार ९५१ मिलियन बराबर खर्च गरेको युक्रेनले सेनामा मात्र ६४ हजार ७५३ मिलियन अमेरिकी डलर खर्च गरेको एउटा तथ्याङ्कले देखाएको छ । यसमा अमेरिका एक्लैले साढे सात बिलियन डलर सहयोग गरेको, सवा दुई बिलियन पाउण्ड भन्दा बढी बेलायतले र नेटो तथा त्यसका साझेदार मुलुक समेतले गरि कुल एकशय विलियन डलर सहयोग गरेको विभिन्न तथ्याङ्कहरूले देखाएको छ ।
जो-जसले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न निर्णायक भूमिका निर्वाह गरेका थिए तिनको योजना र इच्छानुरुप काम गर्दै जाँदा जिलेन्स्कीले आफू आफ्नै मुलुकको हितविरूद्ध क्रियाशील रहेको पत्तै पाएनन् । जे गरेपनि सोसल मिडिया र पश्चिमी मिडियाले जिलेन्स्कीलाई ‘नियोजित वाहवाही’ गरिरहेका हुन्थे । त्यसक्रममा जिलेन्स्कीले आफू विश्वकै नेता भएको जस्तो र पुटिनसँग भिड्नसक्ने बहादुर आफूमात्र भएको ठान्न थालेका थिए ।
अब युक्रेनसँग आफ्नो लगानी फिर्ता लिने क्रमको सुरुवात अमेरिकाबाट भएको छ । अमेरिकाले युक्रेनको खनिजश्रोतमाथि आँखा लगाएको छ र त्यसको प्राप्तिमा बाधा उत्पन्न गरिए कुनैपनि कदम चाल्न बाध्य हुने मनस्थितिमा अमेरिका देखिन्छ । युक्रेनको श्रोतमा आफ्नो हिस्सा नरहने देखिएपछि युद्धका लगानीकर्ता फ्रान्स र जर्मनी लगायतका मुलुकले जिलेन्स्कीलाई टेकाउन प्रयास गरे, गर्दैछन् ! यसक्रममा जिलेन्स्कीले अमेरिकाबाट अर्को अपमान ब्यहोर्नुपऱ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्वादका क्रममा जिलेन्स्कीले जुन अपमान ब्यहोर्नुपऱ्यो, त्यस्तो अपमान सम्भवतः उनले शत्रु ठानेको राष्ट्रका राष्ट्रपति पुटिनबाट पनि ब्यहोर्नु परेको थिएन । भारी सभामा द्रौपदीको अपमान हुँदा बरू उनको रक्षाका निम्ति कृष्ण र पाण्डव तयार भए, तर जिलेन्स्कीको अपमानविरूद्ध उनलाई साथ दिने कुनै कृष्ण र पाण्डव देखापर्ने स्थिति छैन ! राष्ट्रपति ट्रम्पले जिलेन्स्कीलाई गरेको ब्यवहारले अर्काको उक्साहटमा लागेर आफ्नै देशविरूद्ध सक्रिय हुनेहरूले कस्तो परिणाम भोग्नुपर्छ भन्ने सन्देश दिएको छ ।
राजनीतिकर्मीहरू जहिले पनि आफ्नै मुलुकको हितमा केन्द्रीत हुनुपर्छ भन्ने चेतना पनि ट्रम्प-जिलेन्स्की सम्वाद प्रकरणले दिएको छ । यस प्रकारको उपयोगी सन्देश संसारलाई दिनुभएकोले राष्ट्रपति ट्रम्प हामी सबैको धन्यवादका हकदार बन्नुभएको छ । ट्रम्पले नेपालमा धर्मनिरपेक्षता र सङ्घीयता लाद्न कैयन मिलियन डलर सहयोग हुने गरेको रहस्य पनि खोलिदिनु भएको छ । नेपालका नेताहरूले ‘महान् जनयुद्ध’को महान उपलब्धि भन्दै प्रचार गर्ने गरेको सङ्घीयता र धर्मनिरपेक्षता डलरको लगानीबाट भित्र्याइएको एजेण्डा प्रमाणीत गरिदिएर राष्ट्रपति ट्रम्पले सबै नेपालीलाई गुन लगाइदिनुभएको छ ।
त्यसबाहेक संसारभरिका तेस्रोलिङ्गीहरूको राजधानी नेपाललाई बनाउन प्रयास भैरहँदा ट्रम्पले लिनुभएको नीतिले त्यसमा अवरोध पैदा गरिदिएको छ । ज्ञातब्य छ, ट्रम्प संसारमा महिला र पुरुष मात्र भएको विश्वास गर्नुहुन्छ र तेस्रोलिङ्गीका अनुचित एवम् अप्राकृतिक ब्यवहारलाई निरुत्साहित गर्ने नीति उहाँले लिनुभएको छ । ट्रम्पले नेपालसहित अन्य मुलुकको आन्तरिक राजनीति बिथोल्न भएका लगानीलाई ठगी संज्ञा दिएर लिनेहरूलाई नै लज्जित तुल्याइदिनुभएको छ । विदेशको लगानीमा स्वदेशविरूद्ध क्रियाशील रहनेहरूको वास्तविक अनुहार उदाङ्ग बनाइदिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन गुन हामी नेपालीलाई लगाउनुभयो त्यसनिम्ति सबै नेपालीले उहाँका प्रति कृतज्ञता जाहेर गर्नु वान्छनीय हुनेछ । उहाँलाई कोटिकोटी धन्यवाद !
जय मातृभूमि !
प्रतिक्रिया